PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

अपराध चिर्न पोलिग्राफ कति सहयोगी? झुटो बोल्ने कति जनालाई समात्यो यसले?



सविन ढकाल

अपराध चिर्न पोलिग्राफ कति सहयोगी? झुटो बोल्ने कति जनालाई समात्यो यसले?

काठमाडौं : 'कुकुर ल्याएको थिएन ? कुकुरले पनि पत्ता लगाएनछ त? '

पछिल्लो समय देशभित्र भएका हत्याका घटनामा सर्वसाधारणले गर्ने साझा प्रश्न हो यो। उनीहरुले यसरी प्राथमिकतामा नै राखेर प्रहरीको कुकुरलाई अनुसन्धानमा देख्न चाहानुको एउटै कारण हो - प्रहरीको तालिम प्राप्त कुकुरको सफल अनुसन्धान।

देशभित्र भएका केही चर्चामा आएका हत्या प्रकरणमा कुकुरले गरेको संकेतकै आधारमा प्रहरीको अनुसन्धानलाई डोहोर्‍याएको छ। धेरैलाई अपराधीसम्म पुर्‍याउन सफल पनि भएको छ। कुकुरको प्रयोग घटना भएको समय, घटनास्थल सुरक्षित हुनुपर्ने लगायत अन्य कुराले निर्भर गर्छ।

तर, कुकुरपछि पछिल्लो समय प्रहरीको अनुसन्धानमा सहयोग गर्दै आएको अर्को 'कृत्रिम प्रहरी अफिसर' झै बनेको छ पोलिग्राफ।

नेपाल प्रहरीका अनुसार २०७० माघ २३ गतेबाट नेपालमा पोलिग्राफ परीक्षण गर्न सुरु गरिएको हो। पछिल्लो समय नेपाल प्रहरीमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पोलिग्राफ गर्दै आएको छ। प्रहरीको अन्य अनुसन्धानको सर्कमस्ट्यान्सेसले कुनै व्यक्तिलाई अभियुक्त देखाउँछ। तर अभियुक्त भनेर प्रमाणित गर्ने सबुत भने नहुन सक्छ। त्यतिखेर के गर्ने? त्यतिखेरको समयमा प्रहरीले अभियुक्त पहिचान गर्न अपनाउने उपाय हो - पोलिग्राफ।

साधारण भाषामा भन्ने हो भने झुट बोलेको हो वा होइन पत्ता लगाउने मेसिन नै पोलिग्राफ हो।

प्रहरीको विभागीय कारवाही, भष्टाचार, घुस र रिसवत लिएको, चोरी, कर्तव्य ज्यान, सवारी ज्यान, साइबर अपराध लगायतका विषयमा अभियुक्तहरुको पोलिग्राफ हुनेको गरेको छ। पछिल्लो समयमा नेपाल प्रहरीमा पोलिग्राफ गराउनेको सङ्ख्या बढेको छ।

'अपराध बढेसँगै पोलिग्राफ गराउनेहरु पनि बढेका छन्। मानिसमा पोलिग्राफप्रतिको विश्वास बढ्दो छ। अनुसन्धानलाई थप अगाडि बढाउनका लागि पोलिग्राफ गरिन्छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने।

पोलिग्राफ टेस्ट अभियुक्तको मन्जुरीविना भने गर्न पाइँदैन। विगत ७ वर्षको अवधिमा १ सय ६२ जन मानिसले पोलिग्राफ दिन अस्वीकार गरेका छन्। यसरी अस्वीकार गर्नेमा प्रहरी कर्मचारीदेखि पूर्व सांसदसमेत रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

पोलिग्राफ निर्देशिका २०७० मा आन्तरिक तथा कारबाहीको अनुसन्धानमा कुनै पनि प्रहरी कर्मचारीलाई विभागीय कारवाही र स्वयम् आफैँले पोलिग्राफ परीक्षण गराइपाउँ भनी निवेदन दिएको आधारमा पोलिग्राफ परीक्षण लिन सकिने प्रावधान छ। घुस प्रकरणमा धेरैजसो प्रहरी कर्मचारीलाई पोलिग्राफ गरिएको छ।

वर्षेनी बढ्दो पोलिग्राफ

चालु आर्थिक वर्षको पाँच महिनामा मात्र ५ सय ८८ जनाको पोलिग्राफ भइसकेको छ। जसमा २३ जना महिला समेत रहेका छन्। देशभर आर्थिक वर्ष २०७०/७१ मा प्रहरीले २ सय २५ जनाको पोलिग्राफ परीक्षण गरेको थियो। १८९ जना पुरुष र ३६ जना महिला थिए त्यसमा। जसमा झुट बोलेको सङ्ख्या ८०, झुट नबोलेको सङ्ख्या १३४, राय दिन नसकिने सङ्ख्या ११ जना रहेको प्रहरीले जानकारी दिएको छ।

आर्थिक वर्ष २०७१/७२ मा ४ सय ६७ पुग्यो यो सङ्ख्या ३९८ जना पुरुष र ७० जना महिलाको परीक्षण गरिएको, झुट बोल्नेको सङ्ख्या १८८, झुट नबोल्नेको सङ्ख्या २४४, राय दिन नसकिने सङ्ख्या ३६ रहेको छ।

२०७२/७३ मा ३ सय ९१ जनामाथि यसको परीक्षण भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। ३३२ जना पुरुष र ५९ जना महिला रहेकोमा, झुट बोलेको सङ्ख्या २ सय ९ जना र झुट नबोलेको सङ्ख्या १ सय ५० रहेको छ। राय दिन नसकिने सङ्ख्या ३० छ। दुई जनाले परीक्षणको लागि सहमति दिएनन त्यस वर्ष।

२०७३\७४ मा पनि यो सङ्ख्या झनै बढेर ५ सय ४३ पुग्यो। ४६५ जना पुरुष र ७८ जना महिला रहेकोमा, झुट बोल्नेको सङ्ख्या २ सय ९९, झुट नबोलेको सङ्ख्या १ सय ९७ रहेको छ। त्यस वर्ष तीन जनाले टेस्टको लागि असहमति जनाएका थिए।

२०७६/७७ मा ८ सय ५९ जनाको पोलिग्राफ टेष्ट गरिएको छ। जसमा ८३ जनाले टेष्ट गर्न अनुमति दिएनन्। परीक्षण गरिएकामध्ये ४ सय ८८ जनाले झुटो बोलेका थिए।

'पोलिग्राफले धेरै अनसन्धानलाई सहज बनाएको छ। कतिले झुटो समेत बोल्ने गरेका छन्,' एसएसपी कुँवरले भने।

पोलिग्राफमा धेरैले झुटो बोले

प्रहरीले दिएको तथ्याङ्क हेर्ने हो भने पोलिग्राफ परीक्षण गर्दा धेरैले झुट बोलेको देखिन्छ। अहिलेसम्म ४ हजार २ सय २७ जना मानिसलाई पोलिग्राफ गरिएको छ। जसमा १ सय ४८ जनाको केसमा राय दिन नमिल्ने रिजल्ट आएको छ। १ सय ६२ जनाले त अस्वीकार गरेका छन्। पोलिग्राफ गरिएका मध्ये धेरै रिजल्टमा बयान दिनेले झुट बोलेको देखिएको छ। १ हजार ७२ जनाको केसमा पोलिग्राफ मेसिनले झुट बोलेको संकेत गरेको हो। ९ सय ४९ जनाले साचो बोलेका छन्। त्यस्तै पोलिग्रासँगै १ सय ३० जनाले अपराध गरेको स्वीकार समेत गरेका छन्।

पोलिग्राफले साचो देखाए पनि कतिपय घटनामा अन्य प्रमाणले नपुग्दा अभियुक्त बच्ने पनि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell