PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भाग्दा भाग्दै ओली प्रतिनिधिसभाबाट पनि भाग्नुभयो : भीम रावल



पहिलोपोस्ट

भाग्दा भाग्दै ओली प्रतिनिधिसभाबाट पनि भाग्नुभयो : भीम रावल

धनगढी : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूर पश्चिममा आयोजित सभामा बोल्दै नेता भीम रावलले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्।

सत्तरी करोड, ओम्नी प्रकरण, यति, वाइड बडी सबैतिर भ्रष्टाचार। भ्रष्टाचार गर्नेलाई उहाँले संरक्षण गर्नुभयो। यी सबै भ्रष्टाचारको अगुवा केपी ओली नै हो,' रावलले भने, 'सत्तरी करोडको भ्रष्टाचारको कुरा आएपछि उहाँले भन्नुभयो सबै नेता एकातिर सत्तरी करोडवाला एकातिर। किनकि ७० करोड गरुङ्गो थियो।'

प्रधानमन्त्री ओलीले विस्तार गरेको १५ सय १ जनाको केन्द्रीय कमिटीलाई निर्वाचन आयोगले अस्वीकार गरेको बताउँदै रावलले केन्द्रीय कमिटीलाई सडकछाप बनाएको दावी गरे। उनले ओलीले नेकपा विसर्जनको बाटोमा हिँडेको दावी गरे। 'केपी ‌ओलीले नेकपालाई विसर्जन गर्नका लागि देशका लागि विश्वासघात गर्नुभयो,' रावलले भने।

नेता रावलले प्रधानमन्त्री ओलीले विदेशीका लागि नागरिकता दिलाउन खोज्दा आफूहरुले रोकेको दावी गरे। संयुक्त सैनिक अभ्यास गराउन खोज्दा रोकेको पनि सुनाए। त्यसैलाई लिएर असहयोग गरेको ओलीले आरोप लगाउँदै आएको दावी गरे।

'अहिले विदेशी कम्पनी हुलेर नेपाली किसानविरुद्ध षड्यन्त्र गर्नुभएको छ। उहाँले गणतन्त्रमाथि प्रहार गर्नुभयो। अब किसान जनतालाई पेशाबिहीन बनाउँदै हुनुहुन्छ,' रावलले भने। 

ओलीलाई भगुवा भन्दै कटू आलोचनामा उत्रिएका रावलले पार्टी बैठकदेखि प्रतिनिधिसभाबाट समेत भागेको आक्षेप लगाए। 

'मदन भण्डारी फाउन्डेसनमा पुगेर - भारतसँग मिलेर आफ्नै पार्टीका नेताले हटाउन खोजेका भन्नुभयो।हामीले स्थायी समिति बैठकमा प्रश्न गर्‍यौं - भन्नुस् कसले हटाउन खोज्यो? त्यसलाई कारवाही गर्छौं। त्यसपछि उहाँ भागेको भाग्यै गर्नुभयो,' रावलले भने, 'झापाबाट भागेर मोरङ, त्यहाँबाट भागेर बिहार पुग्नुभयो। त्यहाँबाट पनि भाग्नुभयो। त्यहाँबाट भागेर नैनतालमा उखु गोडेर बस्नुभयो। हुँदाहुँदा संसदबाटै भाग्नुभयो। 
जेलनेल भोगे पनि भागेर उखु गोड्न कतै नगएको उनले बताए।

'यस्तो भागिरहेनेलाई एक नम्बरको भगुवा भनिन्छ। हामीले जेल नेल भोग्यौ तर नैनतलामा उखु गोड्न गएनौं,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell