धनगढी : आन्दोलनमा उत्रिएको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल समूहको सभामा मानिसको उपस्थिति देखेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगर र बुटवलको सभाभन्दा पनि ठूलो भएको बताएका छन्।
'सुदूर पश्चिम झुक्दै झुक्दैन भन्ने संदेश जनताको यो उपस्थितिले दिएको छ,' प्रचण्डले धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै भने, 'केपी ओलीको केन्द्रीय कमिटीमा एक तिहाइ छैन, स्थायी कमिटीमा एक तिहाइ छैन। तपाईले आज सडकमा पनि एक तिहाईभन्दा कम हो भनेर देखाइदिनुभयो।'
सुदूर पश्चिमका जनताले केपी ओलीलाई बाउन्ने हो भन्ने संदेश दिएको पनि बताए। 'तपाईँहरुको यो उपस्थितिले ओलीलाई फुच्चे, बाउन्ने बनाइदिनुभएको छ,' प्रचण्डले भने।
मुलुकमा गणतन्त्र, संघीयता ल्याएपछि जनताले खोजेको स्थिरता दिन पार्टी एकता गरेको बताउँदै ओलीले त्यसमाथि प्रहार गरेको आरोप लगाए।
'आफूले आफैँलाई खलनायक स्थापित गर्नुभएको छ केपी ओलीले,' उनले भने, 'यसो भनिरहँदा मलाई दु:ख लागिरहेको छ।' आफूहरु धनगढीमा कमेडी सो गर्न र उखान टुक्का हाल्न नआएको भन्दै प्रचण्डले मुलुकको स्थिरता जोगाउन आएको बताए।
