धनगढी : पुष्पकमल दाहाल प्रचण्डले कागजी जालझेलले प्रतिनिधिसभा विघटन भएको भन्दै भारतको लखनउमा घटेको एउटा घटना सुनाए।
'म एक पटक लखनउ पुगेको थिएँ। त्यहाँ ३/४ सय जना मानिसहरुको जुलुस रहेछ। किन रहेछ भनेर हेरेको उनीहरुले हातमा 'हम अभी जिन्दा हैं' लेखेको प्ले कार्ड रहेछ। यसो बुझेको त तिनीहरुका आफन्तले जालझेल गरेर तिनीहरु मरिसकेका छन् भन्दै सेटिङ गरेका रहेछन्। कागजमा उनीहरुको मृत्यु भइसकेको रहेछ,' प्रचण्डले कथाको शैलीमा सुनाए, 'उनीहरु प्रशासनमा बुझ्न जाँदा त तपाईँहरुको मृत्यु भइसकेको छ भनेछन्। अहिले ओलीले त्यस्तै सेटिङ गरेर प्रतिनिधिसभा मृत्यु भएको भनेका छन्। तर हामी यहाँ ज्यूँदै छौं।'
प्रचण्डले ओलीको जतिसुकै सेटिङ भए पनि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने बताए।
'दुई तिहाई सांसदले केपी ओलीको यो राष्ट्रघातको विरुद्ध उनीमाथि कारवाही गर्ने अधिकार राख्छ,' प्रचण्डले भने। उनले नेकपा पार्टी फुटेको नभइ केपी ओली चोइटिएको दावी गरे।
'ओलीले संविधानमात्र कुल्चिएको होइन। नेपाली जनताको सार्वभौम अधिकारमाथि कुल्चिएका छन्। कुनै पनि हालतमा यसलाई सफल हुन दिइने छैन,' प्रचण्डले भने।
आफूलाई सधैं नातागोतासँग जोडेर प्रश्न उठ्ने गरेको बताउँदै प्रचण्डले छोराछोरीलाई आफूजस्तै जनयुद्धमा लगेको सुनाए।
'नातागोताबारे मलाई सोधियो। यहाँ पनि सोधियो. हिजो पनि सोधियो। किनकि ओलीले जहाँ गए पनि मेरा छोराछोरीबाट कुरा थाल्नुहुन्छ,' उनले भने, 'मेरो छोरो हृदयघात भएर मृत्यु हुँदा म केपी शर्मा ओलीको चुनावी सभामा भाषण गर्न गएको थिएँ। म उनको चुनावी सभामा जाँदा छोराको हृदयघात भयो। अब उसैमाथि प्रश्न गर्ने त्यति निर्घिणी र रुखो मानिस मैले देखेको छैन।'
उनले क्रान्तिका बेलामा आफ्नो छोराछोरीलाई क्रान्तिमा लगेको बताउँदै विदेशमा पढ्न नपठाएको सुनाए। 'विदेशमा छोराछोरी पढ्न पठाएर म चाहिँ आन्दोलन गर्नु?,' प्रचण्डले भने।
उनले वामदेव पनि आफूसँगै आन्दोलनमा आउने पनि घोषणा गरे। 'हिजो वामदेवजीसँग फोनमा कुरा भयो। उहाँलाई तपाई पनि सभामा आउने होइन भनेर सोधेँ,' प्रचण्डले भने, 'उहाँले अब आउँछु भन्नुभएको छ। उहाँ आउनुहुन्छ।'
