PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सुदूर पश्चिममा पुगेर माधव नेपालको उद्घोष : ओली युगको अन्त्य भयो, अस्ताउँदा सूर्य



पहिलोपोस्ट

सुदूर पश्चिममा पुगेर माधव नेपालको उद्घोष : ओली युगको अन्त्य भयो, अस्ताउँदा सूर्य

काठमाडौं : सुदूर पश्चिमको धनगढीमा पुगेर नेकपाका नेता माधवकुमार नेपालले मुलुकमा केपी ओली युग अन्त्यको घोषणा गरेका छन्। धनगढी खुलामञ्चमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै नेता नेपालले भने, 'केपी ओली युगको अन्त्य हुँदैछ। उनी अस्ताउँदा सूर्य हुन्। हामी उदाउँदो सूर्य हौं। नेपाल कम्युनिस्ट पार्टी चम्किएर आउँदैछ।' 

धनगढीको सभामा उपस्थितको संख्या उल्लेख्य देखेपछि नेताहरु उत्साही सुनिएका थिए। 

'केपी ओलीसँग १ सय जना पनि केन्द्रीय सदस्य छैनन्। त्यो डुप्लिकेट पार्टी हो। त्यहाँ भविष्य छैन,' नेता नेपालले भने, 'सूर्य चिन्ह त्यही हुन्छ जहाँ ३ सय केन्द्रीय सदस्य हुन्छन्। ओलीले चुनाव गराउनलान् र लोकतन्त्र जोगाउलान् भन्ने भ्रममा नपरे हुन्छ। यदि तपाई लोकतन्त्रप्रति निष्ठावान हुनुहुन्छ भने ओलीबाट आशा नगर्नुस्।'

ओलीले कम्युनिस्ट निमिट्यान्न पार्न लागि परेका आरोप लगाउँदै नेता नेपालले प्रश्न गरे- 'केपी ओली ओरिजिनल एमाले हो कि माधव नेपाल र झलनाथ खनाल? पार्टीमा सधैं समस्यामात्र खडा गर्ने कसरी ओरिजिनल? 

ओलीलाई गफाडी नम्बर १ भएको आरोप लगाउँदै नेता नेपालले भने, 'उनी झुक्याउन अत्यन्तै सिपालु हुन्। मानिस एक चोटी दुई चोटी झुकिन्छ, सधै झुकिन्न। केही मानिसालई सधैंका लागि मुर्ख बनाउन सकिएला सबैलाई लामो समय सकिन्न।'

जनतासँग जोडिएका सरोकारका विषय उठाउँदा ओली कहिल्यै सुन्न तयार नभएको आरोप पनि नेता नेपालले लगाए। 'हामीले प्रश्न उठाउँथ्यौं - ओली सुन्न तयार हुँदैनन्। भ्रष्टाचार भयो भनेर प्रश्न उठायौं सुन्न चाहेनन्। कोरोनाले समस्या भयो भन्यौं, सुन्न चाहेनन्,' नेता नेपालले भने।
लकडाउनमा सुदूर पश्चिममा अलपत्र परेका नेपाललीलाई मुलुक भित्रन नदिएको प्रसंग उठाउँदै नेता नेपालले ओलीको कडा आलोचना गरे।

'महाकाली पारी नेपाली अलपत्र परे भन्दा आउन दिन्नन्। महाकाली तरेर आउनेलाई मान होइन, अपमान हुन्छ। नेपालीको लाम लागेको छ सीमामा। तिनलाई आउन दिँदैनन्। त्यतिकै बिजोगमा अपमानका साथ नेपाली बस्न परेको थियो। यी सबै केपी ओली नेतृत्वको सरकारले गर्‍यो,' उनले भने।

ओलीमा सुन्ने क्षमता नै नभएको आरोप नेपालको थियो। 'हामीले कोरोनाको विषयमा कुरा गरौं, जनताको विषयमा कुरा गरौं भन्दा बैठक बस्न चाहेनन्,' नेपालले भने, 'त्यसमा असहमति जनयौं, सुन्न चाहेनन्। अनि भन्दै हिँडे - काम गर्न दिँदैनन्।'  

पार्टीमा जनताका कुरा उठाउँदा पार्टी फुटाउन खोजेको आरोप पनि उनले लगाए। संसदमा कुरा उठाउन खोज्दा संसद नै भंग गरिदिएको नेपालको आरोप थियो। भने, 'केपी  ‌ओली विगार्नेमात्र मान्छे हुन्। 

कहिल्यै सकारात्मक भएनन् ओली। उनलाई खाली प्रशंसा चाहिने। अरुको मानमर्दनमात्र गर्न चाहने।' 

उनले केपी ओलीको पतन निश्चित भएको बताउँदै उनका फुर्ती हावामा उडेको सुनाए। निर्वाचन आयोगले केपी ओलीले विस्तार गरेको केन्द्रीय सदस्यलाई नकारेको प्रसंग उठाउँदै उनले म्यादी प्रहरीको संज्ञा दिए। 'निर्वाचन आयोगले एउटा निर्णय सुनाएपछि  - म्यादी प्रहरी जस्ता रहेछन् केन्द्रीय सदस्यहरु। विचराहरुको टाय टाय फिस भएको छ। बिजोग। अहिले त लाज लाग्दो होला - म केपी ओली गुटको केन्द्रीय सदस्य  छु भन्दा।' 

कञ्चनपुरमा भउको निर्माला पन्तको बलात्कार र हत्याको विषयलाई पनि उनले धनगढीमा जोडका साथ उठाए। 'हामीले पार्टीमा कुरा उठायौं। बलात्कारमा सहभागीलाई दण्डित गर भन्यौं। केपी ओली नेतृत्वको सरकारले कुरा सुन्न चाहेन,' नेता नेपालले भने, 'केपी ओली सरकारको पहिलो गाँसमा नै ढुंगा पस्यो र झिंगा पस्यो। आजसम्म पनि निर्मलालाई न्याय दिन सकेन यो सरकारले। यो मानिसले कामको जिम्मेवारी पूरा गर्न सक्दैन, भ्रष्टाचार ढाकछोप गर्छ। सुशासनलाई अवलम्बन गर्न सक्दैन। जनतालाई राहत दिन सक्दैन त्यस्तो सरकारलाई हामीले कसरी बोकिरहन सक्नु?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell