PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चुनावमा गए रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बनिन्छ होला नि! : गगन थापा



पहिलोपोस्ट

चुनावमा गए रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बनिन्छ होला नि! : गगन थापा

काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले चुनाव नेपाली कांग्रेसका लागि ठूलो विषय नभएको बताएका छन्। थापाले संविधान जोगाउनु कांग्रेसका लागि अहिलेको मुख्य विषय भएको प्रस्ट पार्दै यस्तो बताएका हुन्।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ सिन्धुपाल्चोकले मेलम्चीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै कांग्रेसले विधि पद्धति बचाउन लाग्नुपर्ने उनले बताए।

'कांग्रेसका लागि चुनावै सबैथोक हैन। सिंहदरबार जानु, बालुवाटार पस्नु ठूलो कुरा हैन। शीतलनिवास जानुमात्र हैन नि,' थापाले भने।

बीपी कोइरालाको प्रसंग निकाल्दै उनले जनताको शासन कायम राखे एकपटक हार्दैमा कांग्रेस आत्तिनुपर्ने अवस्था नरहेको तर्क गरे।

'नेकपाभित्र आफू-आफू लड्दै गर्दा जितिएला जितिएला भन्ने लागुन राम्रो कुरा हो तर पहिला खेलको मैदान जोगाऔं। मैदान नरहे जित्ने कहाँ। एकपटक हारे फेरि सयपटक जितिन्छ,' उनले भने।

यस्तै अवसर र मौका छोप्ने हो भने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चुनाव रोज्ने उल्लेख गर्दै तत्कालको लाभ पौडेलले नहेरेको उनले दाबी गरे। थापाले भने, 'रामचन्द्र पौडेल तनहुँमा सधैं जित्दै आए पनि यसपटक पक्षमा आएन। यसपटक नेकपा फुटेको बेलामा चुनावमा गए जितिन्छ होला नि। फेरि सांसद बनिन्छ होला नि। प्रधानमन्त्री बनिन्छ होला नि। तत्कालको लाभ हेर्ने हैन कांग्रेसले। विधि पद्दति बाँच्छ कि बाँच्दैन त्यो हेर्ने हो। त्यही कुरालाई अनुशरण गर्दै हामी एक ठाउँमा छौं।'

वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिनुपर्छ भन्ने लाइनमा छन्। उनको नेतृत्वमा पार्टीले सडक आन्दोलनको निर्णय गर्दै आएका छन्। पार्टी सभापति शेरबहादुर देउवा भने सर्वोच्च अदालतमा विचाराधीन विषयमा बोल्न नहुने निर्देशनमा अडिग छन्। यही बेला थापाले पौडेलको अडानमा आफूहरु एक ठाउँमा रहेको बताएका हुन्।

थापाले प्रतिनिधिसभा विघटन संविधान विघटनतर्फको यात्रा भएको बताए। 'संसद् विघटन संविधान विघटनतर्फको यात्रा हो। यसले व्यवस्था लिएर जान्छ। सयम लिएर जान्छ। यो असंवैधानिकमात्र हैन प्रतिगामी कदम हो,' उनले भने, 'अदालतले यसलाई सदर गर्‍यो भने संविधान अमान्य हुन्छ।'

अहिले विघटनको पक्षमा वा चुनावको पक्षमा भनी सोधिने प्रश्नै गलत भएको थापाको भनाई थियो। उनले भने, 'तपाईँ संसद् विघटनको पक्षमा कि चुनावको भन्ने प्रश्नै गलत छ। तपाईँ नेपालको संविधानको पक्षमा हो कि हैन भन्ने आजको प्रश्न हो।'

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी दैनिक जनतालाई हेप्दै आएको थापाको भनाई थियो। 'देशभरीका पार्टी प्यालेसमा प्रधानमन्त्री डुल्नुहुन्छ। हसाउँनुहुन्छ। अहिले तपाईँले दमन रुपाखेती र शिवहरि पौडेलको कार्यक्रम हेर्नुहुन्न। प्रधानमन्त्रीको भाषण खोजीखोजी हेर्नुहुन्छ। अनि हाँस्नुहुन्छ। त्यो प्रधानमन्त्रीले हसाउँनु भएको हैन। हेप्नुभएको हो,' थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell