PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

मेलम्चीमा 'गगन क्रेज' : सेल्फी लिने कार्यकर्ता सम्हाल्न सुरक्षाकर्मीलाई मुश्किल, हजार बढी कार्यकर्ता काँग्रेस प्रवेश



मेलम्चीमा 'गगन क्रेज' : सेल्फी लिने कार्यकर्ता सम्हाल्न सुरक्षाकर्मीलाई मुश्किल, हजार बढी कार्यकर्ता काँग्रेस प्रवेश

  • फूलमान तामाङ-

मेलम्ची : शनिवार दिउँसो अरु बेलाभन्दा बाक्लो भिड देखिन्थ्यो मेलम्ची बजारमा। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलित काँग्रेसले यहाँ वृहद् विरोध सभा आयोजना गर्दै थियो।

युवा नेता गगन थापा विशेष अतिथिका रुपमा आउने भनिएपछि युवा पुस्तामा बेग्लै रौनक देखिन्थ्यो। उनीहरु गगन कतिबेला आइपुग्लान् भन्नेतिर लालयित देखिन्थे। दिउँसो ११ बजेका लागि तय गरिएको थियो कार्यक्रम। सिन्धुपाल्चोक नेपाली कांग्रेस क्षेत्र २ ले मेलम्ची आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमा प्रमुख अतिथि थिए काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल। मेलम्चीमा भिड बाक्लिए पनि दुई अतिथि नआइपुगुन्जेल कार्यक्रम शुरु हुने छाँट देखिएन।

बल्ल १२ बजे कार्यक्रम स्थल नजिक आइपुगे दुई नेता। त्यसपछि मेलम्ची हेलम्बु बसपार्क नजिकै रहेको क्षेत्रीय पार्टी कार्यलयमा पसे दुबै। त्यही बेलादेखि गगनको अघिपछि सेल्फी खिच्न नेता कार्यकर्ता घचेटमघचेटमा लागे।

करिब ३५० मिटर पर रहेको कार्यक्रमस्थलमा दुई नेतालाई लैजान मुश्किल पर्‍यो। त्यसपछि सुरक्षाकर्मी र स्वयंसेवकले वरिष्ठ नेता पौडेल र थापालाई आमा ह्योल्मो बसपार्कमा रहेको कार्यक्रमस्थलमा लैजान स्कर्टिङ नै गर्न पर्‍यो। बाजागाजासहित दुई नेतालाई स्वागत गरिएको थियो।

स्टेज पुग्दा पनि सुरक्षाकर्मी र स्वयंसेवकलाई स्टेज कार्यकर्ता सम्हाल्न निक्कै हम्मे परेको थियो। गगनसँग फोटो खिच्ने र सेल्फी खिच्नेको लर्कोले कार्यक्रमको सेड्युलसमेत प्रभावित बन्यो।

कार्यक्रममा नेकपा तथा राप्रपा त्यागी करिब ११ सय जना काँग्रेस प्रवेश गरे। उनीहरुलाई बाजागाजासहित कार्यक्रममा स्वागत गरिएको थियो। मेलम्ची नगरपालिका, इन्द्रावती, हेलम्बु र पाँचपोखरी गाउँपालिकाका नेता कार्यकर्ता यसरी काँग्रेसमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्न र खादा लगाउनसमेत साढे दुई घण्टा समय आयोजकले खर्च गर्नुपर्‍यो। यसले गर्दा समय थप प्रभावित बनेको थियो। पार्टी प्रवेश गरेका सबैलाई काँग्रेसले अवसर दिने वाचा गगनले गरेका थिए। उनले भने, 'आज काँग्रेसमा जति पनि प्रवेश गर्नुभयो। सबैलाई स्वागत छ। तपाईहरुलाई मैले काँग्रेस प्रवेश गरेर गल्ती गरेछु भन्ने दिन आउने दिने छैन।'

जब गगनले कार्यक्रमलाई सम्बोधन गर्न थालेको थियो। धेरैजसो नेता कार्यकर्ता उनको भाषणको भिडियो रेकर्ड गर्न मोबाइल तेर्स्याउन थालेका थिए।

यता वरिष्ठ नेता पौडेल बोल्दा भने कार्यकर्ताले त्यति चासो दिएको देखिएन। पौडेलले काँग्रेसको मन्तव्य र गन्तव्य एउटै हुनुपर्ने धारणा राखे। पौडेलले काँग्रेस संसद पुनर्स्थापनाको माग राख्दै देउवाप्रति कटाक्ष गरे र ढुलमुले नीति नअपनाउन आग्रह गरे।

क्षेत्रीय सभापति आइतमान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई मेलम्ची नगरपालिकाका कांग्रेस सभापति मधुसूदन सिग्देलले स्वागत गरेका थिए। कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य विष्णुविक्रम थापा, जिल्ला सभापति विकास लामा, प्रदेश सभा सदस्य निमा लामा, प्रदेश सभा सदस्यका उम्मेदवार विकास लामा, जिल्ला पार्टी सचिव बिलबहादुर तामाङलगायतले मन्तव्य राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell