काठमाडौं : खानेपानी मन्त्री मणि थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भनेको विषयलाई लिएर माफी मागेका छन्।
शनिवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले नेपाल सरकार भन्ने ठाउँमा श्री ५ को सरकार भनेका थिए। उनले श्री ५ को सरकार भनेको भिडियो शनिवार राति देखी नै सामाजिक सञ्जालमा भाइरल भएको छ।
सम्बोधनकै क्रममा उनले त्यतिखेर नै फेरी नेपाल सरकार भनेर सच्चाएका थिए। सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेपछि मन्त्री थापाले आइतबार सार्वजनिक रूपमा नै माफी मागेका छन्। उनले फेसबुकमा स्ट्याटस पोस्ट गर्दै लेखेका छन्,' मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भुल बस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।'
प्रतिनिधिसभा विघटन भएपछि नेकपाभित्रको एउटा समूह विघटनको विरोध गर्दै सडक आन्दोलनमा गयो। अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल अहिले आन्दोलनरत छन्। त्यही क्रममा प्रचण्ड- नेपाल समूहका मन्त्रीले राजीनामा दिए। खानेपानी मन्त्री विना मगरले पनि राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले मणि थापालाई मन्त्री बनाएका हुन्।
