कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ। गृष्मा ब्रोडकास्टिङको आयोजनामा रंगशालामा आर्थिक संकलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ।
शनिवार काठमाडौंमा आयोजित प्रेस मिटमा स्टार क्रिकेट २०२१ को बारेमा जानकारी दिइएको थियो। प्रेस मिटमा उपस्थित कलाकार र खेलाडीहरूले क्रिकेटसमेत खेलेका थिए।
नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेब्रिटी सहभागी हुने टुर्नामेन्टमा दुई समूह बाँडिएको छ। दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् भने मैदानमा धुर्मुस सुन्तलीबीच प्रतिस्पर्धा हुनेछ।
एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन्।
टुर्नामेन्ट माघ २४ गते चितवनको निर्माणाधीन रंगशालामा हुनेछ। टुर्नामेन्टबाट उठेको सम्पूर्ण रकम रंगशालाको निर्माणमा प्रदान गरिने आयोजकले बताएका छन्।
