काठमाडौंः सशस्त्र प्रहरी बल नेपालको अस्पताल र मानव सेवा आश्रमका बिच स्वास्थ्य उपचार सम्बन्धी सहमति भएको छ।
आइतबार सशस्त्र प्रहरी बल¸नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहका बिच सशस्त्र प्रहरी महानिरीक्षक एवं नेपाल ए.पी.एफ. अस्पतालका संरक्षक शैलेन्द्र खनालज्यू र मानव सेवा आश्रमका संरक्षक एवं समाजसेवी डा. गोविन्द टण्डनको उपस्थितिमा सहमति भएको हो।
समुपस्थितमा नेपा अस्पतालका तर्फबाट प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रूपक महर्जन र मानव सेवा आश्रमका तर्फबाट आश्रमका अध्यक्ष रामजी अधिकारीले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार सशस्त्र प्रहरीको अस्पतालबाट उपलब्ध हुने इमरजेन्सी¸ बहिरङ्ग¸ जनरल तथा विशेषज्ञ ओपिडी¸ अन्तरङ्ग सेवा अन्तर्गतका वार्ड सबै¸ आइसियु¸एचसियु¸ एचडियु¸ अस्पतालमा उपलब्ध हुने माइनर तथा मेजर अप्रेसन सेवा¸सम्बन्धी सम्पूर्ण सेवाहरू समेत नि:शुल्क रूपमा उपलब्ध हुनेछ।
यसै गरी आइसियु तथा डाईलासिस सेवाका लागि प्रयोग हुने अस्पताल उपलब्ध औषधिहरू¸ मुटु रोग¸ मिर्गौला रोग¸ मधुमेह आदि भई आजीवन औषधि सेवन गर्नुपर्ने बिरामीहरूको लागि आवश्यक अस्पतालमा उपलब्ध औषधि समेत नि:शुल्क उपलब्ध हुनेछ।
यसै गरी अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीहरूलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिन्डर उपलब्ध भएमा नि:शुल्क रिफिलिङ्ग गरिनेछ। यसै गरी मानव सेवा आश्रमको सिफारिस बमोजिम काठमाडौं उपत्यकाभित्र नि:शुल्क एम्बुलेन्स र शवबाहन सेवा उपलब्ध हुने¸ अस्पतालबाट खरिद गरिएका औषधिहरू मानव सेवा आश्रमबाट सिफारिस बिरामीहरूलाई नि:शुल्क प्रदान गरिने समेत सम्झौता पत्रमा उल्लेख छ।
यसै गरी अस्पतालमा हाल कायम भएको ११० शैया बेड मध्ये मानव सेवा आश्रमका बेसहारा¸असक्त¸ असहाय एवम् अभिभावकविहिनहरुलाई तीन शैया बेड उपलब्ध गराइनेछ। कार्यक्रममा बोल्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सुरक्षा र सेवाका कुराहरू पनि सँगै जाने बताए।
