PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माघ २३ मा ओलीले के सरप्राइज देलान्? प्रचण्ड-नेपाल समूहको आरोप: हिन्दुराष्ट्रको घोषणा !



प्रकाश भण्डारी

माघ २३ मा ओलीले के सरप्राइज देलान्? प्रचण्ड-नेपाल समूहको आरोप: हिन्दुराष्ट्रको घोषणा !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली 'सरप्राइज' दिन अरु नेताभन्दा अगाडि नै छन्। पार्टी र संविधानकै बेवास्ता गरेरै भएपनि उनले 'सरप्राइज' दिइरहे।

बैशाख ८ मा राजनीतिक दल विभाजन र संवैधानिक परिषद बारे अध्यादेश, मंसिर ३० मा संवैधानिक परिषद् अध्यादेश र पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर ओलीले रजनीतिक वृत्तमा हलचल ल्याए। संविधानमा नै उल्लेख नभएको व्यवस्थालाई टेकेर प्रतिनिधिसभा विघटना गरेको भन्दै ओलीइतर समूह अहिले एकताबद्ध भएको छ। ओलीलाई सरकारबाट हटाउन र प्रतिनिधिसभा विघटन बदर गर्न आन्दोलन गरिरहेको छ। उनीहरुले ओलीले प्रतिगामी कदम चालेको आरोप लगाइरहँदा प्रतिनिधिसभा विघटनलाई ओली समूहले साहसिक निर्णयको रुपमा ब्याख्या गरिरहेको छ।

दिनहुँजसो ओली र प्रचण्ड-माधव समूह गुटगट भेला गरिरहेका छन्। माघ ९ गते प्रचण्ड नेपालले राजधानी ठप्प पारेर आन्दोलन गरेको थियो।ओली निकट नेताहरुले भने प्रधानमन्त्रीले माघ २३ गते सरप्राइज दिने दाबी गरिरहेका छन्। २३ गते ओली समूहले प्रतिनिधिसभा विघटनको पक्षमा जनप्रदर्शन गर्ने तयारी गरिरहेको छ। ओलीले कस्तो सरप्राइज हो भन्नेबारे ओली समूहका नेताहरु मौन छन्। प्रचण्ड-नेपाल समूहले भने ओलीले राजावादीसँग सहकार्य गरिरहेको र हिन्दुराष्ट्र घोषणा गर्ने तयारी गरिरहेको आरोप लगाएका छन्।

ओली समूहका नेताले नै यसरी ल्याएका थिए चर्चामा

ओली समूहको वाग्मती प्रदेश कमिटीले माघ १२ मा पत्रकार सम्मेलनको आयोजन गर्‍यो। २३ गतेका लागि तय भएको काठमाडौंको आमसभाबारे जानकारी दिने उद्यश्यले सम्मेलनको आयोजना गरिएको थियो। प्रचण्ड-नेपाल समूहले काठमाडौंमा गर्ने गरेको शक्ति प्रदर्शनलाई काउन्टर दिन सभाको आयोजना गरिएको बताइएको छ। 

तर उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैका विरुद्ध आफ्नो समूहको आमसभा नगर्ने दाबी गरे। गलत प्रवृतिका विरुद्ध आफ्नो समूहको शक्ति प्रदर्शन भएको उनको तर्क थियो। 

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सभा प्रचण्ड-नेपाल समूहको जस्तो भद्रगोल नहुने बताए। उनी त्यतिमा मात्रै सिमित रहेनन्। ओलीले २३ गतेको सभामा अहिलेसम्म गोप्य रहेको विषय सार्वजनिक गर्ने दाबी गरे श्रेष्ठले ।

'प्रधानमन्त्रीले अहिलेसम्म गोप्य रहेको विषय त्यो दिन सार्वजनिक गर्नुहुन्छ। त्यो के हो भनेर सोध्दापनि उहाँले हामी कसैलाई भन्नुभएको छैन। २२ गतेसम्म कसैलाई पनि थाहा हुँदैन। २३ गते प्रधानमन्त्रीले आफै सार्वजनिक गर्नुहुन्छ,' उनले भने।

उक्त सभालाई ओली समूहले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ। 'प्रधानमन्त्री आफैले आमसभा कस्तो हुन्छ देखाउँछु भन्नुभएकोले पनि हामीले एकदमै व्यवस्थित गर्दैछौ। हामी फोहोर फाल्दैनौ। भएको फोहोर पनि हाम्रा स्वयंमसेवकले सफा गर्नेछन्। सभामा नेताहरुले कुनै अराजनीतिक भाषा प्रयोग गर्ने छैनन्। आमसभा सभ्य र भव्य हुनेछ' श्रेष्ठले भने।

'ओलीले हिन्दुराष्ट्र घोषणा गर्न सक्छन्'

नेकपाका दुवै समूह हाल एक अर्का विरुद्ध रणनीतिअनुसारका गतिविधिमा छन्। एउटा समूहले शक्ति प्रदर्शन गर्दा अर्को समूहले पनि त्यस्तै शैलीको शक्ति प्रदर्शन देशभर गरिरेहको छ।

प्रचण्ड-नेपाल समूहले ओलीको प्रदर्शनलाई लिएर कडा शब्दमा आलोचन गरिरहेको छ। प्रचण्ड-नेपालले ओलीको र्‍यालीलाई 'पञ्च र्‍याली'को संज्ञा दिएका छन्।

उनीहरुले ओलीका साथमा हाल राजावादीहरु मात्रै रहेको आरोप लगाइरहेका छन्। प्रचण्ड-नेपाल समूह भित्र ओलीले हिन्दुराष्ट घोषणा गर्नेबारे चर्चा सुरु भएको छ। स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माइतिघरको धर्नालाई सम्बोधन गर्दै ओलीले २३ गते हिन्दुराष्ट्र घोषणा गर्नेबारे शंका व्यक्त गरे। चितवनमा पुगरे राम मन्दिर बनाउने घोषणा गरेको तथा पशुपतिमा संकल्प पूजा गरेको भन्दै पाण्डेले ओलीले अब धर्मनिरपेक्षताबाट टाढिएको टिप्पणी गरेका हुन्।

'ओलीले २३ गते हिन्दुराष्ट्र घोषणा गर्दैछन् भन्ने चर्चा चल्दै छ। उनी यो बाटोमा जान सक्छन्। म सुन्दै छु, ओलीले राजावादीलाई २३ गतेको सभामा उपस्थित हुनु भनेर उर्दी जारी गर्दैछन् रे,' उनले भने।

पाण्डेले किन यस्तो अभिव्यक्ति दिए त?

ओली समूहका गतिविधिका आधारमा आफूले अभिव्यक्ति दिएको पाण्डे बताउँछन्। सबैकुरा अहिले नै भन्ने पक्षमा आफू नरहेको भन्दै उनले भने 'हेर्दै जानुस सबैकुरा म अहिले नै सबै भन्ने पक्षमा छैन्। उनीहरुका गतिविधि हेर्नुस थाहा भइहाल्छ नी।' 

अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले ओलीसँग राजावादी मात्रै भएको र उनी गणतन्त्र नै मास्ने पक्षमा रहेको आरोप लगाए। 'उहाँ न कहिल्यै आन्दोलनको पक्षमा हुनुहुन्थ्यो न गणतन्त्रको। अहिले ९९ प्रतिशत जनताले ओलीको विरोध गरिरहेको छ। उनीसँग त राजावादीहरु मात्रै छन्,' उनले भने।

'आरोप लगाउने पाखण्डी हुन्'

प्रचण्ड-नेपाल समूहले ‌ओलीले राजावादीसँग साँठगाँठ गरेको आरोप लगाउँदा ओली समूहले भने त्यसलाई निराधार भनेको छ।

ओली समूहका नेता आनन्द पोखरेलले संघिय लोकतान्त्रिक गणतन्त्र विरोधीहरुले ओलीविरुद्ध झुटा आरोप लगाएको बताए। उनले अहिलेको सरकार गणतन्त्र विरोधी हुनै नसक्ने दाबी गरे।

'जसले यो आरोप लगाए, ती पाखण्डी हुन्। आरोप निराधार छन्। संघिय लोकतान्त्रिक गणतन्त्र विरोधीले आरोप लगाएका हुन्। गणतान्त्रिक सरकारले कसरी त्यसो गर्न सक्छ?,' उनले प्रश्न गरे।

उनले राजावादीसँग आफ्नो समूहले कुनै सहकार्य नगरेको दाबी समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell