काठमाडौं: भलिबल खेलाडी ईमबहादुर राना र प्रतिभा माली मनोरञ्जन रमण शर्मा अवार्ड २०७७ बाट सम्मानित भएका छन्।
आइतवार नेपाल भलिबल संघले नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजना गरेको कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्मानित खेलाडीहरुलाई सम्मान गरे।
राष्ट्रिय महिला भलिबल टिमकी सदस्य प्रतिभालाई उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता र गत बर्ष नेपालमा आयोजनामा भएको १३ औं दक्षिण एशियाली खेलकुदमा (साग) रजत पदक प्राप्त गर्दा गरेको महत्वपूर्ण प्रदर्शनको मुल्याङ्कन गर्दै सम्मान गरिएको कदर पत्रमा जनाइएको छ। सागमा नेपाली टोली बिजयी नजिक हुँदा थोरै समय सम्हालिन नसक्दा स्वर्ण बाट बञ्चित भएको थियो।
यस्तै नेपाली पुरुष भलिबल टिमका कप्तान ईम बहादुरलाई २०१७ मा माल्दिभ्समा आयोजना भएको तेश्रो एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल प्रतियोगिता लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा गरेको राम्रो प्रदर्शनको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको कदर पत्रमा जनाइएको छ।
सम्मानित खेलाडी द्वयले जनही नगद ३५ हजार रुपैयाँ सहित कदर पत्र र ट्रफी प्राप्त गरे। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले स्थापना गरेका १० लाखको अक्षय कोषबाट प्राप्त हुने रकमबाट भलिबलका महिला र पुरुष दुई खेलाडीलाई प्रत्येक बर्ष नेपाल भलिबल संघले सम्मान गर्दै आएको छ।
