स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले काडिजमाथि जित निकालेको छ। स्टेडियो रामोन डी कारान्जामा भएको खेलामा घरेलु टोली काडिजलाई ४-२ गोल अन्तरले हराउँदै एट्लेटिको शीर्षस्थानमा अंकदुरी बढाएको हो।
खेलको २८ औं मिनेटमा एट्लेटिकोका लुइस स्वारेजले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर ३५ औं मिनेटमा घरेलु टोलीका अल्भारो नेग्रेडोले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ४४ औं मिनेटमा सउल निग्युजले गोल गर्दै एट्लेटिको लाई अग्रता दिलाए र पहिलो हाफमा एट्लेटिको २-१ ले अघि रह्यो।
दोस्रो हाफमा एट्लेटिकोका लुइस स्वारेजले अर्को गोल थपे। उनले खेलको ५० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। उता काडिजका नेग्रेडोले ७१ औं मिनेटमा फेरि गोल फर्काए पनि ८८ औं मिनेटमा कोकले गोल गर्दा एट्लेटिकोले खेल ४-२ ले आफ्नो पक्षमा पार्यो।
जितसँगै एट्लेटिकोले तालिकामा १० अंकको अग्रता बनाएको छ। शीर्ष स्थानमा रहेको एट्लेटिकोले १९ खेलबाट ५० अंक जोड्दा दोस्रो र तेस्र स्थानमा रहेका बार्सिलोना र रियल मड्रिडले२० खेलबाट ४० अंक बनाएका छन्।
