PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

वैशाखको चुनावका लागि पर्सा निर्वाचन कार्यालय तयारी अवस्थामा, थपिए १२ हजार मतदाता



राधेश्याम पटेल

वैशाखको चुनावका लागि पर्सा निर्वाचन कार्यालय तयारी अवस्थामा, थपिए १२ हजार मतदाता

वीरगंज : सरकारले वैशाख १७ र २७ गते चुनाव घोषणा गरिसकेको छ। उक्त चुनावका लागि तयार रहेको निर्वाचन कार्यालय पर्साले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख निर्वाचन अधिकृत रन्जीता झाले निर्वाचन आयोगको निर्देशन अनुसार निर्वाचन गराउने तयारी अवस्थामा रहेको बताइन्।

‘हामीले आयोगको निर्देशन बमोजिम सबै कामलाई अगाडि बढाएका छौं, मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक बसिसकेका छौ,’ उनले भनिन्, ‘माघ १५ देखि २२ गतेसम्म हरेक पालिकामा मतदाता प्रकाशन, अध्यवधिक गराउने काम भइरहेको छ।’

पर्सामा २०७४ सालको प्रतिनिधि सभाको चुनावमा २ लाख ८९ हजार ५४ जना मतदाता थिए। हाल १२ हजार ४ सय १९ जना थपिएर कुल मतदाता ३ लाख १ हजार ४ सय ७३ पुगेको उनले बताइन्। पर्सामा मतदानस्थल साबिककै सरह १६७ तोकिएको छ भने मतदान केन्द्र १० वटा थपिने निर्णय भएको  छ। अबको चुनावमा पर्साको चार वटा क्षेत्रमा गरी १० केन्द्र थपेपछि १६१ वटा मतदान केन्द्र हुनेछन्। यता, जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको शान्ति सुव्यवस्था र चुनाव ताका अपनाउने पर्ने तयारीको बारेमा पनि काम थालेको छ। चुनाव भएको खण्डमा कति म्यादी प्रहरी वा सुरक्षाकर्मी चाहिन्छ भन्ने विषयमा पनि 'वर्क आउट' भइरहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell