काठमाडौं : प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आजबाट विपक्षीमा बहस सुरु भएको छ।
आइतवार निवेदकको तर्फको बहस सकिएको थियो। विघटनविरूद्ध १३ वटा निवेदन परेका थिए। सरकारवादी तर्फबाट आज महान्यायधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका छन्। सरकारी वकिलका तर्फबाट ११ जनाले बहस गर्ने छन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भने ७७ जना वकालतनामा छ।
प्रधान्यायाधिश चोलेन्द्र शम्मशेरले वकिलहरुलाई निवेदकभन्दा कम समय वकालत गर्न भनेका छन्।
आइतबार अधिवक्ताहरू गोपालदत्त पाण्डे, अमिता गौतम, कृतिनाथ पौडेल, खडानन्द कँडेल, लोकेन्द्र बहादुर ओली, खिमानन्द अधिकारी, पूर्णप्रकाश बस्नेत, केशरजंग केसी, कलमबहादुर खत्री, यदुनाथ खनाल, मनिराम उपाध्याय र तुलसी सिम्खडाले बहस गरेका थिए। शिम्खडा १३ औं निवेदक हुन्।
यस मुद्दामा ३ सय भन्दा बढी वकालतनामा परेका छन्। निवेदक पक्षबाट ६० भन्दा बढी अधिवक्ताहरूले बहस गरेका छन्। माघ ४ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको थियो।
