PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

अदालतको अनुचित निर्णय जनताले स्वीकार गर्दैनन् : बालकृष्ण खाँण



पहिलोपोस्ट

अदालतको अनुचित निर्णय जनताले स्वीकार गर्दैनन् : बालकृष्ण खाँण

  • पूजा पन्थी-

बुटवल : नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमवार देशभर प्रदर्शन गरेको छ। तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सोमवार कांग्रेसका सबै भातृ संगठनले प्रदर्शन गर्ने तालिका अनुसार रुपन्देहीमा पनि विरोध प्रदर्शन गरिएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सार्वोच्च अदालतले संविधान सम्मत रुपमा न्याय गर्नु पर्ने बताएका छन्।

कांग्रेसका भातृ संगठनहरुले सोमवार रुपन्देहीको भलवारीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खाँणले संविधानमा व्यवस्था गरे भन्दा बाहिर गएर निर्णय गरिए त्यसलाई नेपाली जनताले कदापी स्वीकार नगर्ने बताए। अदालतले गरेका कतिपय निर्णयलाई विगतमा जनताले अस्वीकार गरेका दृष्टान्त प्रस्तुत गर्दै नेता खाँणले संविधानलाई चुनौती दिएर गरिने निर्णयलाई जनताले शिर निहुँर्‍याएर लुरुलुरु स्वीकार गर्छन् भन्ने भ्रममा नपर्न आग्रह गरे।

‘अदालतसँग मेरो आग्रह सँगसँगै चुनौती छ, संविधानमा जे प्रावधान छ त्यो भन्दा बाहिर गएर निर्णय गर्नु भयो भने त्यो अनुचित निर्णयलाई जनताले स्वीकार्ने छैनन्। त्यो नेपालको न्यायीक इतिहासका लागि कलङ्कित निर्णय कहलिने छ,’ नेता खाँणले भने।

साधारण नागरिकले समेत ओलीले संविधान मिचेको जानकारी राखेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतलाई प्रधानमन्त्रीको छाँया नबन्न आग्रह गरे। संसद विघटन सम्बन्धी प्रस्ताव पास गर्दा राष्ट्रपतिले टेकेको भनिएको धारामा संसद विघटनको कुनै प्रावधान नभएको दावी उनले दोहोर्‍याए। संविधानका कुनै धारा, दफा, उपदफा नै उल्लेख नगरी प्रम ओलीले सनकको भरमा संसद विघटन गरेको बताए।

संविधान रक्षाका लागि कांग्रेसले आफ्नो जीवन बलिदान दिन तयार रहेको भन्दै उनले कम्युनिस्टहरुले संविधान र लोकतन्त्र नमान्ने दावी गरे। उनले सर्बसत्तावाद लाद्न ओलीले संविधान कुल्चेर प्रतिनिधि सभाको हत्या गरेको आरोप लगाए। प्रतिगमनविरुद्ध कांग्रेस सडकमा निस्केपछि त्यसलाई परास्त नगर्दा सम्म घर नफर्केको भन्दै उनले राणा, राजा जस्तै अब हुत्तिने पालो ओलीको आएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बद्रि पाण्डेले ओलीले आफैँलाई राजा सम्झेर नारायणहिटीको अगाडीबाट जनतालाई हुँकार दिन खोजेको बताए। ७० करोडको घुसका लागि बार्गेनिङ गर्ने गोकुल बास्कोटा, सरकारी जग्गा हडपेका विष्णु पौडेल जस्ता दलाल र भ्रष्टहरुको छत्रछायाँमा हिड्ने ओली इतिहासकै भ्रष्ट र निरंकुश प्रम भनेर कहलिने दावी गरे।

लोकतान्त्रिक गणतन्त्रका विरोधी ओलीले संविधान मासेर गर्छु भनेको चुनाव नाटक मात्रै भएको टिप्पणी गरे।

‘हामी चुनावसँग डराउँदैनौँ निर्वाचनमा जान्छौँ र जित्छौँ पनि तर संविधान विपरित जादैनौँ,’ नेता पाण्डेले भने।

संसद पुनर्स्थापना गरेर संविधान सम्मत ढंगबाटै निर्वाचनमा जाने दावी नेता पाण्डेले गरे।

नेता भरतकुमार शाहले तानाशाहको सबैभन्दा ठूलो दुस्मन जनप्रतिनिधि सभा भएकाले ओलीले पनि लोकतन्त्र भत्काउन संसदमाथि आक्रमण गरेको बताए। अदालतप्रति विश्वास व्यक्त गर्दै उनले अदालतले न्यायीक फैसला दिन नसके सडकबाटै संसद पुनर्स्थापना गरी निर्वाचनमा जाने बताए।

नेपाली कांग्रेसका भातृ संगठनहरुले सोमवार रुपन्देहीको भलवारीमा संसद विघटनविरुद्ध प्रदर्शन तथा विरोध सभा गरे। नेपाल महिला संघ, तरुण दल, नेविसंघ, दलित संघ, भुपू सैनिक संघ, किसान संघ, आदिवासी जनजाती संघ, मुस्लिम संघ, थारु संघ, सेनानी संघ, अपाङ्ग संघ, साँस्कृतिक संघले संयुक्त रुपमा गरेको विरोध सभा अघि मंगलापुरबाट विरोध र्‍याली निकालेका थिए।

माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। आन्दोलनका कार्यक्रम अनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन्। फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell