PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

इन्डो – नेपाल अस्पतालमाथि कारबाही गर्न पर्सा प्रशासनको आलटाल



राधेश्याम पटेल

इन्डो – नेपाल अस्पतालमाथि कारबाही गर्न पर्सा प्रशासनको आलटाल

वीरगंज : वीरगंज रजतजयन्ती चोकस्थित इन्डो–नेपाल अस्पताल तथा आई केयर सेन्टर प्रालिलाई जिल्ला प्रशासन कार्यालय, पर्साले कारबाही गर्न आलटाल गरेको छ। जिल्ला प्रशासनले गत मंसिर १९ मा अस्पतालमा छापा मारी मापदण्ड पूरा नगरेको ठहर गरेको थियो।

अनुगमनको क्रममा अस्पतालले निर्धारण गर्नुपर्ने शुल्क नतोकेको, काउन्सिलमा दर्ता नरहेका व्यक्तिबाट ल्याब सञ्चालन भएको, क्षमताभन्दा बढी बिरामी उपचार गरेको, जनशक्तिको अभाव रहेको, यान्त्रिक बिलिङ नगरिएको, फार्मेसीको अध्ययन नगरेका व्यक्तिबाट औषधि पसल सञ्चालन गरेको, स्वास्थ्य मापदण्डअनुरूप भवन निर्माण नभएको, पार्किङस्थलको व्यवस्था नगरिएको, १० प्रतिशत बिरामीको नि:शुल्क उपचार गर्नुपर्नेमा सो नगरिएको, कर्मचारीहरूको नियुक्ति र सामाजिक सुरक्षा कोष कट्टा नगरिएको जस्ता मापदण्ड पूरा नगरेको ठहर गरेर दोषी देखाएको थियो।

तर अहिलेसम्म उक्त अस्पताललाई कुनै कारबाही गरिएको छैन। बरु मापदण्ड पूरा गर्न तीन महिनाको अल्टिमेटम दिएको छ। मापदण्ड पूरा नगरिएको अवस्थामा जिल्ला प्रशासनले आवश्यक कारबाही गर्नु पर्नेमा राजनीतिक दबाव र अर्थ मोहमा उन्मुक्ति दिइएको स्रोतले दाबी गर्‍यो।

प्रशासनले छापा मारेसँगै आर्थिक र राजनीतिक दबाव शुरू भएको बताइएको छ। दुई महिना लामो अनुसन्धानमा प्रशासनले अस्पतालले पूरा गर्नुपर्ने मापदण्ड पूरा नगरेको ठहर गरे पनि दण्डित नगरेर छाडेको छ।

दण्डित हुनुपर्नेमा म्याद तोकेर मुद्दा रफादफा गर्न खोजेको स्थानीयको आरोप छ। अस्पताल सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० को दफा १३ उपदफा ६ बमोजिम इन्डो–नेपाल तथा आई केयर सेन्टर सञ्चालन नभएको स्वयम् प्रशासनले ठहर गरेको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पहिलोचोटि तीन महीनाको समय सीमा प्रदान गरिएको बताए। उनले सो अवधिमा मापदण्ड पूरा नगरिए नियमअनुसार कारबाही गरिने आश्वासन दिए। यसअघि अस्पतालले मापदण्ड पूरा नगरेको भन्दै कारबाही गर्ने चेतावनी प्रजिअ तामाङले दिँदै आएका थिए। तर दुई महिना अवधिमा प्रजिअले बोली फेरेकाले पनि घटनामा आर्थिक तथा राजनीतिक चलखेल भएको हुन सक्ने आरोप स्थानीयको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell