PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुलपानीको क्रिकेट मैदान नबनेकोमा ओली नै ट्वाँ! विभुषण नपाएको सुन्दा पनि छक्क



मुकुन्द घिमिरे

मुलपानीको क्रिकेट मैदान नबनेकोमा ओली नै ट्वाँ! विभुषण नपाएको सुन्दा पनि छक्क

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिन निक्कै सक्रिय हुन थालेका छन्। भाषणवाजीमा उनका दिनहरु बित्न थालेको छ। त्यहीक्रममा उनी आज खेलाडीहरुबिच पुगे। मंगलबाट निर्धारित समयभन्दा झण्डै अढाइ घन्टा ढिला गरेर ओली 'खेलाडी सँग प्रधानमन्त्री' कार्यक्रमका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगे।

उनी पुगेसँग राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले नेपालको खेलकुदको अवस्थाबारे ब्रिफिङ गरे।

'प्रधानमन्त्रीको सहयोगबाट साग सम्भव भयो। खेलकुदमा लगानी गर्ने हो भने परिणाम निस्कन्छ,' राजनीतिक रुपमा पनि ओली निकट रहेका सिलवालले भने, '१२ औं सागमा ३ स्वर्णबाट १३ औंमा ५१ मा पुग्यौं। खेलको वातावरण बनाउँदै थियौं, कोभिड आइदियो।

सिलवालले पुरस्कार राशी बढाएको देखि पूर्वाधारमा भएका विस्तार सम्मका फेरिहस्त लगाउँदै 'बजेटमा' कोरोना लागेको गुनासो सुनाए।

त्यसपछि बोल्न थालेका प्रधानमन्त्री ओलीले नेपालको भुबनोटदेखि लिएर नेपालीको क्षमताका बारे प्रवचन नै दिए।

'मैले पहिला नै भनेको थिएँ भुबनोटका कारण सबै किसिमका खेल खेल्न सक्छौं। हाइ अल्टिट्युटको मानिसहरु लाई लेक लाग्दैन,' उनले भने, 'अर्थात् त्यस्ता ठाउँमा दौडिएका फोक्सो उकालीमा कुदेर सुगठित मसल, त्यसमा धड्किन बानी परेको मुटु, यो प्राकृतिक देन हो जुनसँग विश्वलाई प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ।'

उनले उदाहरणका रुपमा केटूमा सफल आरोहण गरेर फर्किएको नेपाली टोलीको सफलतालाई प्रस्तुत गरे।

'तीब्र हावाको बेग र माइनस ६० डिग्री तापक्रममा विन्टर क्याइम्बिङ गरे। यो साहसले मात्र हुँदैन, क्षमता नि चहिन्छ,' उनले थपे, 'त्यसले देखाउँछ नेपालीको पोटेन्सियल। यो पोटेन्सियललाई कसरी चिन्ने र उपलब्धि सम्म कसरी पुग्ने? प्रश्न त्यो हो।'

ओलीले खेलकुदलाई जीवनशैलीका रुपमा विकास गर्नुपर्ने भन्दै ब्राजिल अर्जेन्टिनमा फुटबलको उदाहरण दिए।

उनले ब्यङ्ग्यात्मक शैलीमा क्षमता भएका खेलाडीहरु छनोटमा फेयर नहुँदा समस्या हुने गरेको बताए।

'मलाई पोल जम्पमा पठाउनुभयो भने गल्ती हुन्छ। छनोटमा गल्ती हुनु हुन्न। ट्यालेन्ट छनोट हुनुपर्छ। लगानी ठीक ठाउँमा गर्नुपर्छ। अनि राम्रो उत्पादन आउँछ,' कार्यक्रममा उपस्थितिलाई हसाउँदै ओलीले भने।

सबै हाँसेपछि ओलीले त्यसअघि सिलवालले उठाएको खेलकुद उत्पादक कि अनुत्पादक भन्ने विषयमा मजाक शैलीमा उदाहरण दिन थाले।

'खेलकुदले धान फलाउँदैन। आलु पनि फलाउँदैन। ज्याकेट नि सिलाउँदैन भनेर अनुत्पादक भन्नुहुन्न र उत्पादक भनेर मकैका ठूला घोगा फलाउँदैन,' उनले यस्तो भनेपछि हलमा भएका मानिस गलल हाँसे। ‌ओली जोसिँदै गए, 'केटुमा पारेको उपलब्धी ठूलो हो। ५१ स्वर्णले प्रतिब्यक्ति आय या जीडीपी बढाउँदैन तर आफ्नो हिसाबको उपलब्धि दिन्छ। यो अनुत्पादक होइन।'

त्यसपछि ओली लागे इतिहासतिर।

'तोपसँग नहार्ने, अंग्रेज आउँदा नहार्ने नेपालीसामु खेल भनेको भकुण्डै हान्ने त हो नि! किन हार्ने? १२ औं सागमा ३ स्वर्णमात्र किन जित्यौं? अभ्यास पुगेन,' उनले भने, 'राष्ट्रिय युद्ध जितेर देश स्वाधिन राख्ने अनि एउटा कराते हार्ने? भरत्तोलन हार्ने? अरु केही होइन, अभ्यासमा नयाँ प्रविधिको आश्यकता छ।'

त्यतिकैमा ओलीले घोषणा पनि गरिहाले - त्यो पुर्‍याउन गच्छेको हिसाबले सरकार तयार छ।

त्यसपछि सुरु भयो सवालजवाफ। ओली आउनु अघि नै त्यहाँ उपस्थित सबैलाई पेपर दिएर प्रश्न लेख्न भनिएको थियो। त्यसमध्येका अधिकांश प्रश्नबारे ओली बेखबर देखिए।

सुरुमा उनीसामु प्रश्न थियो। सातै प्रदेशमा रंगशाला बनाउने कुरा थियो किन पूरा भएन भनेर। त्यसको डिटेलमा त ओली गएनन् तर झापामा आफूलाई काम गर्न नदिएको गुनासो भने गरे। यसैबाट उनले राजनीति पनि थाहा नपाए जसरी घुसाए।

'केही ठाउँमा अनुचित राजनीति छ। झापामै दशौं वर्ष भयो सबै कुरा भएर पनि मलाई जस जान्छ भनेर रंगशाला निर्माणमा अवरोध गर्न लागेका छन्। बढी फाइदा त त्यहाँकै युवालाई हुन्थ्यो,' ओलीले थपे, 'तर केहीमा पोलिटिकल लिडरले बिरोध गर्ने। अनुचित कुराहरु माग गर्ने देखियो।'

आक्रामक बन्दै ओलीले थपे, '२७ गते चुनाब हुन्छ। चुनाब पछिको बजेटमा यी कुरा ध्यान राख्छौं। अर्को वर्ष त्यस्तो हुन्न। अनि ५ वर्ष यस्ता कुरामा अल्मलिनु पर्दैन। घोषण गरेको काम गर्नलाई नै हो।'

त्यसपछि खेलाडीको गुनासो आयो यो यो पटक राज्यबाट पाउनुपर्ने विभुषण पाइएन भनेर। अरुतिर सर्वज्ञ देखिने ओली यसमा भने अनभिज्ञ देखिए। सचिव र मन्त्रीतिर फर्किएर तुरुन्तै सोधे? : बिभूषण कसैले पाएन? कसैले पाएन?

यसपटक विभागबाट सिफारिस गरिएका बाहेक चार स्वर्ण हात पारेका खेलाडीसमेत विभुषित नभएकोबारे ओली बेखबर देखिए।

त्यसपछि प्रधानमन्त्री ओलीको हातमा एउटा प्रश्न आइपुग्यो जसले ओलीलाई चकित बनायो। त्यो प्रश्न थियो : मुलपानी क्रिकेट मैदान कहिले बन्छ।

'मुलपानी क्रिकेट मैदान अझै बनिसकेको छैन? धेरै भइसक्यो,' अलमलमा परेका ओलीले तुरुन्तै जवाफ दिए: 'त्यो अब बन्छ।'

त्यसपछि गुनासो आयो राखेपका कर्मचारीको। उनीहरुको गुनासो थियो, बढुवा नभएको दुई दशक भनेर।

'२०/२५ वर्षसम्म बढुवा भएन? ठाउँ नै छैन कि? कसरी नभएको? अध्यक्षबाट उपाध्यक्ष त बनाउन मिलेन?,' ओलीले ठट्यौली पारमा भने। हलमा होहल्लै भयो। र, भिडबाट ठाउँ भएर पनि बढुवा नभएको कुरा आयो।

ओलीले यो प्रसंगलाई बिट मार्न खेलकुद मन्त्री दावा लामातिर निर्देशन दिँदै भने, 'मन्त्रीज्यु मन्त्रालयको तर्फबाट रिपोर्ट पेश गर्नुहोस्।'

अन्त्यमा, आफूसँग आएका कागज राख्दै ओलीले माइकमा बोलिरहेका सिलवालमार्फत् जवाफ दिए : बाँकी सबैकुरा २३ गते सम्बोधन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell