PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वीरका चिकित्सकहरुले पाएनन् जोखिम भत्ता, सुविधा माग्दै पुन: आन्दोलित



फूलमाया पुरी

वीरका चिकित्सकहरुले पाएनन् जोखिम भत्ता, सुविधा माग्दै पुन: आन्दोलित

काठमाडौं : कोरोना भाइरस संक्रमण देखिएसँगै देशभरका चिकित्सकहरु 'हाई अलर्ट' बसे। संक्रमितहरुको उपचारमा खटिनेदेखि दिनरात अस्पतालमै बिताउन बाध्य भए डाक्टरहरु। कोभिड १९ संक्रमितको उपचारका लागि २४ घण्टै तयार रहे अस्पतालहरु। चिकित्सकहरु पनि दिनरात संक्रमणबीच ड्युटीमा खटिए।

कोरोनाकाललाई सरकारले चिकित्सकहरुलाई जोखिम भत्ता उपलब्ध गराउने घोषणा गर्‍यो। तर महिनौं बितिसक्दा पनि चिकित्सकहरुले पाउनुपर्ने सुविधान पाएका छैनन्। १० महिना बितिसक्दा पनि जोखिम भत्ता नपाएपछि वीर अस्पतालका आवासीय चिकित्सकहरु अहिले आन्दोलित छन्। गत बिहिवारदेखि आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द गर्दै धर्ना बसेको आवासीय चिकित्सक संगठनको संयोजक डा.किरण पाण्डेले जानकारी दिए। करिब दुई सय चिकित्सकहरु हाल आन्दोलित भएको उनले बताए।

मन्त्रालयबाटै कोरोनाकालको महामारीमा फ्रन्टलाईनमा खटिएका चिकित्सकहरुलाई दिइने भनिएको जोखिम भत्ता १० महिना बितिसक्दा पनि नपाएकाले आन्दोलनमा जानुपरेको उनी बताउँछन्। 

सेतो एप्रोन लगाएर धर्नामा बसेका थिए वीर अस्पतालको सर्जरी विभागमा कार्यरत डा दिनेश झा। कोरोनाकालमा भरतपुर अस्पतालमा खटाइएको थियो उनलाई। कोभिड१९ संक्रमितको उपचारमै खटिरहेकै अवस्थामा झाका बुबाको मृत्यु भयो। कारण – कोरोना भाइरस नै।  

बुवाको काजक्रियामा सरिक हुन उनी झापा पुगेका थिए। त्यहाँ उनले कोरोना संक्रमित र उसको परिवारलाई हेर्ने समाजको दृष्टिकोण फरक पाए। केही समय मानसिक रुपमा नै कमजोर बने। यद्यपि, चिकित्‍सा कर्म निभाउने क्रममा बिचलित भएनन्। त्यसैले घरपरिवार नभनी आफ्नो कार्यप्रति निरन्तर खटिएकाले पाउनुपर्ने सुविधा दिन अस्पतालले आनाकानी गर्नु उचित नभएको उनले बताउँछन्।

‘यहाँ कार्यालय सहयोगीदेखि अन्यलाई भत्ता दिइसकेको अवस्थामा हिजोका दिनमा हरेक जोखिम उठाएर उपचारमा खटिने हामीलाई प्रोत्साहित गर्नुपर्नेमा पैसा छैन भन्दै टार्न खोजिएको छ’ उनले भने।

मास्कसम्म पनि सहजै उपलब्ध नगराएको समयमा पनि आफूहरुले काम गरेको भन्दै उनले सरकारले आफूहरुको लागि छुटयाएको रकम पाउनुपर्ने माग राखे।

कोरोना संक्रमितहरुको उपचारमा फ्रनटलाइनमा खटिनेहरुलाई प्रोत्साहन स्वरुप सरकारले दिएको पैसा अस्पताल प्रशासनले रोकेको आन्दोलित एक चिकित्सकले बताए। सरकारले दिएको रकम अन्य शीर्षक र अरु बाहाना देखाउँदै अस्पताल प्रशासनले कटौती गर्ने गरेको चिकित्सकहरुको आरोप छ। आन्दोलन नगरि पाउनुपर्ने अधिकार नै नपाइने स्थिति वीर अस्पतालमा सिर्जना भएको उनीहरुको भनाइ छ।

‘अस्पताल परिसरमा बिरामीलाई मारमा पारेर आन्दोलन गर्नु चिकित्सकहरुको रहर होइन बाध्यता हो। आन्दोलनले बिरामी र उनीहरुका आफन्तमा पर्न गएको असरप्रति क्षमाप्राथी छौं’ एक चिकित्सकले भने।

प्रशासन के भन्छ ?

एकातिर जोखिम भत्ता माग्दै चिकित्सकहरु आन्दोलित छन्। अर्को तर्फ अस्पताल प्रशासन भने चिकित्सकहरुलाई प्रोत्साहन भत्ता दिने तयारीमा रहेको दाबी गरिरहेको छ।

अस्पतालका निर्देश डा.केदार प्रसाद सेन्चुरीले तत्काल उनीहरुको माग अनुसार रकम उपलब्ध गराउन अस्पताल असमर्थ रहेको तर प्रयास भने गरिरहेको बताउँछन्।

सेन्चुरीका अनुसार मन्त्रालयले पठाएको रकमबाटै कोभिड १९का बिरामीको उपचार र उपचारमा खटिएका सबैको व्यवस्थापन गर्नुपर्ने हुन्छ। जसले चिकित्सकहरुलाई भत्ता दिन सकिएको छैन।  अस्पतालसँग पर्याप्त रकम नभएकै कारण भत्ता उपलब्ध गराउन ढिला भएको उनको भनाई छ।

‘हामीले मन्त्रालयलाई पनि भनेकै हो। उताबाट कोभिड१९का लागि छुट्याइएको रकम बजेटबाटै खर्च गर्ने निर्देशन आएको छ’ उनले भने ‘जसकारण अहिले चिकित्सकहरुले भनेझैं अहिले दुई महिनाको पूर्ण जोखिम भत्ता दिन सकिने रकम नै छैन’।

सोमवार अस्पताल प्रशासन र आन्दोलनरत आवासीय चिकित्सक समूहबीच छलफल भएको थियो। अस्पतालले ४५ दिनको मात्र जोखिम भत्ता उपलब्ध गराउने जानकारी दियो। तर, चिकित्सकहरुले ६० दिनकै रकम माग गरेका थिए। १५ दिनको रकममा सहमति हुन नसकेपछि चिकित्सकहरु पुन: आन्दोलित भएको सेन्चुरी बताउँछन्।

उनी चिकित्सकहरु आन्दोलन छोडेर सहमतिमा आउनुको विकल्प नभएको समेत बताउँछन्।

‘मैले यस विषयमा हिजै मन्त्रालयमा जानकारी गराइसकेको छु तर उताबाट कुनै ठोष निर्णय आएको छैन’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell