PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राखेपको कार्यक्रममा ओलीले बिर्से आफ्नै शर्त : उपाध्यक्षलाई उपेक्षा, आमसभाका लागि खेलाडीलाई निम्तो



प्रकाश भण्डारी

राखेपको कार्यक्रममा ओलीले बिर्से आफ्नै शर्त : उपाध्यक्षलाई उपेक्षा, आमसभाका लागि खेलाडीलाई निम्तो

काठमाडौं: प्रतिनिधिसभा विघटनपछि दिनदिनै भइरहेको कार्यक्रममा आफू विरोधीलाई कटाक्ष गर्नु प्रधानमन्त्री केपी ओलीको दैनिकी भइरहेको छ। सहभागीको ताली र हुटिङले मख्ख पर्दै आफू इतरका नेतालाई ओली निशाना लाउँछन्। तर, मंगलबार प्रज्ञा प्रतिष्ठानमा ओलीको सम्बोधन फरक देखियो। उनको भाषणमा आक्रोश कम ठट्टा बढी थियो।

राष्ट्रिय खेलकुद् परिषद्ले आयोजना गरेको खेलुकुदसँग प्रधानमन्त्री अन्तर्क्रियामा बरु उनी खेलाडी र कर्मचारीको बखानमा लागे। उनले खेलकुद्सम्बन्धी पाठ पढाउन समेत भ्याए। मञ्चबाटै खेलकुदमन्त्री दावा तामाङलाई निर्देशन दिएको, कर्मचारीले बढुवा नभएको भन्ने गुनासो पोखेको सुन्न भने रमाइलो भयो। ओलीले गरेको ठट्टाले हल गुञ्जायमान हुन्थ्यो।

शर्त बिर्से ओलीले

कार्यक्रम सञ्चालनको जिम्मा पाएका राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले ओलीको भाषण सकिएलगतै दाबी गरेका थिए-प्रधानमन्त्रीले राजनीतिक भाषण गर्दिनँ भन्ने शर्त राख्नुभएको थियो।

राजनीतिको चर्को भाषण गर्न मन पराउने ओलीले आफ्नो शर्त भने बिर्से। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई व्यङ्ग्य गरे। 'विकासको भन्दा लडाईँको इतिहास पढ्छौँ। बढी हार जितको पढिन्छ। आज अशान्ति किन मच्चाउँछ? जित र हारको लागि। केही चुनाव हुनुहुँदैन भनेर कराइरहेका छ। फिर्ता गराउन पाए जित हुन्थ्यो भनेर कराइरहेको छन्। देश जे सुकै होस् उनीहरुलाई मतलब भएन,' ओलीले सुनाए।

खेलाडीको कदर आफूले मात्रै गरेको दाबी

अन्तक्रिया नाम दिइएको कार्यक्रममा आयोजकले सुरुमा ओलीलाई खेलकुदबारे बोल्न लगाए। खेल क्षेत्रको बखानपछि ओली केही प्रश्नको पनि जवाफ दिन तयार भए। उनले आफूले नै खेलाडीको कदर गर्न सुरु गरेको दाबी समेत प्रस्तुत गरे। ओलीलाई खेलाडी र कर्मचारीले आफ्ना गुनासो सुनाएका थिए। खेलाडी र कर्मचारीको कतिपय गुनासोबारे भने उनले अनविज्ञता प्रकट गरे।

'२०/२५ वर्षसम्म बढुवा भएन? ठाउँ नै छैन कि? कसरी नभएको? अध्यक्षबाट उपाध्यक्ष त बनाउन मिलेन?,' बढुवा भएन भन्ने प्रश्नमा ओलीको जवाफ थियो।

उनले खेलाडीलाई उचाल्न भ्याए। खेललाई युद्ध र राजनीतिसँग तुलना गरेका ओलीले किन हारेको भन्ने खेलाडीलाई प्रश्न गरे।

'नेपाल कहिल्यै उपनिवेश बनेन। यत्रा डल्ला फ्याँक्दा किन हार्ने? किक्रेटमा किन हार्नु परेको छ? तोप गोलासँग नहार्ने, लडाईँ कहिल्यै नहार्ने परम्परा भए पनि खेलकुदमा हार्‍यो। एउटा कुस्ती हार्‍यौं,' उनले भने।

यसरी देखियो राजनीतिको रङ

नेकपा विभाजनपछि त्यसको असर गाउँ-गाउँसम्म छ। भातृ संगठन र कार्यकर्तामा पानी बाराबारको अवस्था छ। एकले अर्कालाई बहिस्कार गर्ने र आफ्नो समूहको नेतालाई बोलाएर गालीगलौज गराउनु नेकपाका विभिन्न संगठनको विशेषता नै भइसकेको छ। हाल काठमाडौं र काठमाडौं बाहिर भएका धेरैजसा सभाहरुमा यस्तै दृश्य देखिन्छ।

मंगलबारको खेलकुदसँग प्रधानमन्त्रीको अन्तक्रिया पनि यसबाट अछुत रहन सकेन। नेकपा विभाजनको प्रस्ट संकेत कार्यक्रममा पनि देखियो।

ओली निकट मानिने सदस्यसचिव रमेशकुमार सिलवाल खुसी देखिँदै ओलीसँग कानेखुसी र संवादमा लाग्दा उपाध्यक्ष शिव कोइराला भने मौन रहे। प्रचण्ड-नेपाल निकट मानिने कोइराला कार्यक्रम अवधिभर मौन रहे।

आशनग्रहण गरेर मञ्चमा बसेको भए पनि उनले कोही कसैसँग संवाद भने गरेनन्। न उनले मन्तव्यकै लागि अवसर पाए।

आमसभाको निम्तो

ओली समूहले काठमाडौंमा तय गरेको माघ २३ गतेको शक्ति प्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएको छ। ओलीले प्रचण्ड नेपाललाई आमसभा कस्तो हुन्छ? त्यसको ट्रेलर नै देखाउने बताएका थिए। प्रचण्ड-नेपालको भन्दा आमसभा भव्य सभ्य बनाउने दाबी गरिरहेका छन् उनी।नारायणहिटी अगाडि आमसभा गर्ने तय भएको कार्यक्रमको तयारी सुरु भइसकेको छ। ओली समूहका नेता आनन्द पोखरेलका अनुसार धेरै मानिस अटाउन नारायणहिटी अगाडिको सडक छानिएको हो। 

त्यही सभाको लागि ओली हाल निम्तो बाँड्दै हिँडेका छन्। मंगलबार प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा पनि उनले २३ गते हुने कार्यक्रमका लागि निम्तो दिन भ्याए। तर घुमाउरो पारामा।

ओली आफैँले  मञ्चबाट निम्तो भने दिएका थिएनन्। तर, ओलीले कार्यक्रम सञ्चालक सिलवालाई २३ गते आमसभामा आउन अपिल गर्न लगाए।

'प्रधानमन्त्रीज्यूले तपाईँका छुटेका प्रश्नको उत्तर २३ गतेको सभामा दिन्छु भन्नुभएको छ,' ओलीको निम्तोलाई सिलवालले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell