PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

जसलाई 'दानव' हुनुले चिनायो…



लक्ष्मी बलायर

जसलाई  'दानव' हुनुले चिनायो…
फाइल फोटो

बुबा नारायण श्रेष्ठ पहिल्यैदेखि चाहन्थे - छोराले धेरै पढोस्। आफूले जस्तै सरकारी जागिर खाओस्। सरकारी जागिरले जिन्दगी सुखी बनाउँछ भन्ने विश्वास थियो। सरकारी सेवामा हुनुलाई भाग्यमानी मानिन्थ्यो।

तर, मदनदास श्रेष्ठको रुची भिन्न थियो। पढाइभन्दा बढी सिर्जनशील काममा ध्यान दिन्थे उनी।  

मामाघरमा दसैं, तिहार, गाइजात्रामा हुने गरेका नाटकले मदनदासलाई निकै आकर्षित गरेको थियो। त्यहाँ मञ्चन हुने नाटक हेर्दाहेर्दै उनको रुचि नाटकमै बस्यो। उनलाई पनि त्यही नाटकको पात्र हुन मन लाग्थ्यो। कहिले काहीं अभिनय गर्ने मामाहरूलाई लुकीलुकी हेर्थे र सिको पनि गर्थे।

बुबा टक्सार विभागमा कार्यरत् थिए। त्यसैबेला मदनदास पहिलो पटक दोलखाबाट बुबासँगै काठमाडौं आए।

पैदल आउनुपर्ने बाध्यता थियो। दोलखादेखि काठमाडौंसम्म। सात दिनको दूरी तय गर्न २ महिना अगाडि तयारी गर्नुपर्थ्यो।

२०२४ सालमा बुबासँग काठमाडौँ आएका उनको भेट वसन्त श्रेष्ठ, राधेश्याम प्रधान, जितेन्द्र महत अभिलाषी र नरेन्द्र श्रेष्ठसँग भयो। कलाका विभिन्न क्षेत्रमा उनीहरू संलग्न थिए।

साथीहरूको लहैलहैमा उनी कला केन्द्र धाउन थाले। कला केन्द्रका अध्यक्ष थिए कृष्णप्रसाद रिमाल। उनको निर्देशनमा नाटक 'गहना' बन्न लागेको थियो। जसमा अभिनयका लागि मदनदास पनि छानिए।

नाटकमा अभिनय गर्न भ्याइ नसकेका मदनमा यसबारे औपचारिक ज्ञान हुने कुरै भएन। बरु रिमालले नै कला केन्द्रमा नाटक सिक्ने(रिहार्सल) गर्ने व्यवस्था मिलाइदिए।

तर बुबालाई यो पटक्कै मन परेको थिएन। ‘त्यो बेलाको समयले नाटक बुझिसकेको थिएन, नाटकलाई नौटंकीको संज्ञा दिइन्थ्यो’, मदनदास विगत सम्झँदै भन्छन्, ‘बुबाले मलाई नाटक छोडोस् भनेर निकै मेहेनत गर्नुभयो।’

पढाइ नै दाउमा राखेर यो क्षेत्रमा लागिपरेका मदनदासको नाटकप्रतिको मोह परिवारले किन खोस्न सक्थ्यो र?

‘यतिसम्म कि कुनै दिन राति ढिला घर आउँदा बुवाले ढोका नै खोल्नु हुँदैनथ्यो’, उनी तीतो विगत सुनाउँछन्, ‘भोक भोकै कैयौं रात कहिले साथी त कहिले मन्दिरमा बिताउँथें।’

परिवारको साथ नपाए पनि उनले हरेस भने खाएनन्। करिब ६/७ महिना सिकेपछि रिमालको निर्देशनमा बनेको नाटक ‘गहना’(विस २०२५)मा उनले पहिलोपटक अभिनय गर्ने मौका पाए। त्यस दिन कहिल्यै बिर्सदैनन् मदनदास।

+++

१५ असार २००५ मा दोलखाको बिहाक्षे टोलमा जन्मेका हुन् मदनदास। बुवा नारायण र आमा रुद्रमायाका माइला छोरा हुन् उनी।

सानैदेखि सिर्जनात्मक काम गर्न रुचाउँथे। बाल्यकालमा आफूलाई चाहिने प्रायः खेलौना उनी आफैं बनाउँथे।

२०२६ सालमा दोलखाको भीम उच्च माविबाट एसएलसी सकेपछि फेरि काठमाडौं फर्किए।

साथी जितेन्द्र महत अभिलाषीसँगै महेन्द्ररत्न कलेजमा मानविकी संकायमा भर्ना पनि भए। तर नाटकको नशा लागिसकेको थियो उनमा पढाइप्रतिको लगाव टुट्दै गयो।

२०२७ सालमा भने उनलाई 'ढुंगा खोज्दा देउता भेटे'झैं भयो। प्रज्ञा प्रतिष्ठानको नाटक विभागमा कलाकार चाहिएको भन्ने सूचना पाए। तुरुन्त आवेदन दिए, छानिए पनि।

त्यसपछि त उनी ‘क’ श्रेणीको कलाकारको रूपमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको नाटक विभागमा जागिरे नै भए। मासिक दुई सय २५ रुपैयाँ तलब थाप्नेगरी।

प्रतिष्ठानको जागिरे। रहरहरू बिस्तारै पूरा हुँदै थिए। आर्थिक अवस्था पनि सबल बन्दै थियो। तर उनलाई प्रतिष्ठानभित्र कर्मचारी अनि त्यहाँको वातावरण मन पर्न छाड्यो। अनि जागिर खाएको दुई वर्षमै राजीनामा दिए। ‘म सोझो मान्छे, प्रतिष्ठानभित्र त निकै जालझेल हुँदो रहेछ। मलाई त्यहाँको वातावरण नै चित्त बुझेन बुझेन’, उनी भन्छन्, ‘मेरा लागि स्वाभिमानभन्दा ठूलो केही छैन।’

आज पनि उनी त्यो जागिर छोडेकोमा कत्ति पनि पछुतो मान्दैनन्।

भविष्यको चिन्ताले धनगढी पुर्‍यायो

जगिर छाडेपछि उनलाई केही समय कठिन भयो। काम खोज्न थाले। लगभग ६ महिना भौंतारिएपछि एकदिन उनको भेट कृष्णचन्द्रसिंह प्रधानसँग भयो।

प्रधान त्यतिवेला साझा प्रकाशनका महाप्रबन्धक थिए। मदनदासको विगत सुनेपछि प्रधानले साझा प्रकाशन धनगढीमा कर्मचारी चाहिएको बताए। जागिरको खोजीमा हिँडिरहेका मदनदासले प्रधानको कुरा भुइँमा खस्न नपाउँदै ‘हुन्छ’ भनिहाले।

साझा प्रकाशनको शाखा प्रमुखको रूपमा धनगढी पुगेका उनले ठाउँ त फेरे तर मन फेर्न सकेनन्। उनको ध्यान जतिवेला पनि नाटकमै हुन्थ्यो।

धनगढीमा राष्ट्रिय दिवस, चाडपर्व इत्यादिमा नाटक देखाइन्थ्यो। तर कलाकार भने लखनऊबाट बोलाउने गरिन्थ्यो। कार्यक्रम नेपाली, नाटक नेपालमा तर कलाकार भारतीय। मदनदासलाई भने यो त्यत्ति चित्त बुझेन। भन्छन्, ‘अनौठो लाग्यो, मैले आफ्नो देशमा आफ्नै कलाकार राखेर कार्यक्रम गरौं न भनेर प्रस्ताव गरें।’

उनको प्रस्ताव सबैले माने। काठमाडौंको रत्न रेकर्डिङ संस्थाबाट गीत क्यासेट, लोक संस्कृतिका बाजागाजा मगाए मदनदासले। कार्यक्रम प्रस्तुत पनि भयो। यसैवेला उनको मनमा एउटा नाटक पनि गरौं न भन्ने सोच आयो। विजय मल्लले लेखेको ‘पत्थरको कथा’ नाटक धनगढीमा मञ्चन गर्ने निधो गरियो।

पात्र खोजियो। भन्छन्,‘कृषि विकास बैंकमा काम गर्ने दीपक भट्राईको नाटकप्रति झुकाव रहेछ। उनैलाई नायकको रुपमा लिने कुरा भयो। तर महिला पात्र भेट्टाउन निकै मुस्किल पर्‍यो।’

पछि बल्लतल्ल एउटी बहिनीलाई फकाएर नायिका बनाइएको उनी सुनाउँछन्। ‘जोशी टाकिज सिनेमा हलमा सिनेमा देखाउने काम बन्दा गराएर नाटक मञ्चन गरेका थियौं। जुन निकै रुचाइएको थियो’, मदनदास विगत सम्झँदै प्रफुल्ल हुन्छन्।

त्यो नाटकले मदनदासको जीवनमा एउटा सुखद् मोडको सुरुवात गरिदियो। जसको असर साझा प्रकाशनमा पनि देखियो। फलस्वस्वरूप थुप्रै नाटकका किताबहरू बिक्री भएका उनी बताउँछन्। साथै उनी सुदूरपश्चिमभरि कलाकारको नाममा चिनिए।

साझा प्रकाशनमा काम गर्न सुदूरपश्चिम गएपनि उनलाई अभिनयको नशाले छोडेन। करिब २ वर्षको धनगढी बसाइपछि उनी काठमाडौं फर्किए।

कृषि सूचना महाशाखा हुँदै रेडियो नेपाल

काठमाडौं फर्केपछि उनको भेट कृषि सूचना महाशाखाका प्रमुख किरणमणि दीक्षितसँग भयो। मदनको कार्यक्रम सुनेर निकै प्रभावित भएका दीक्षितले एकैछिनको कुराकानीमै स्थायी जागिरको प्रस्ताव राखे।

उनको प्रस्ताव स्विकार्दै मदनदास कृषि सूचना महाशाखामा जागिरे भए। मदनदासलाई उनकै क्षमता र रुचिअनुसार कृषि कार्यक्रम तयार पारेर रेडियो नेपालबाट प्रसारण गर्ने जिम्मा दिए। मदनले तयार पारेको कृषि कार्यक्रम निकै लोकप्रिय पनि भयो। उनकै सोचमा सिर्जना गरिएका दुई पात्र ‘हरिशरणम् आमा’ र ‘जेटिए बाबु’ चर्चित बने। जुन अहिलेसम्म रेडियो नेपालमा बजिरहन्छ।

उनले त्यस समय रेडियो नेपालमा चलाएका सांगीतिक कार्यक्रम सुनगाभा, प्रश्नोत्तर, रसरंग निकै हिट भए।

बिहान रेडियो नेपालको जागिर र साँझ राष्ट्रिय नाँच घरमा नाटक गर्नु नै उनको दैनिकी बन्यो। यही बीचमा उनले रेडियो प्रविधिबारे तालिम लिने अवसर पनि पाए।

केही समयपछि रेडियो नेपालमा नयाँ नियम लागू भयो। रेडियो नेपालमा आबद्ध जोकोहीले पनि फुलटाइम काम गर्न पाउने।

त्यसपछि त उनी कृषि सूचना विभागबाट २०३५ सालमा रेडियो नेपालकै पूर्णकालीन कर्मचारी भए।

उनले नाटक शाखामा रहेर सयौँ नाटकमा अभिनय र निर्देशन गरे। रेडियो नेपालबाट अवकाश पाउँदा उनी नाटक शाखाका प्रमुख थिए।

रेडियोको नाटकले दिएको सफलता

प्रज्ञा प्रतिष्ठानमै जागिर गरिहेकाउनी नाटक मञ्चन गरेर बसिरहेका थिए। श्यामदास वैष्णव श्रीकृष्ण जन्माष्टमीका लागि गरिने नाटकका लागि सुहाउँदो स्वर खोजिरहेका थिए। जसको प्रस्ताव मदनदाससामु आइपुग्यो। प्रस्ताव कंशको भूमिका अर्थात् स्वर दिनुपर्ने थियो। उनले माने।

उनले भन्छन्, ‘कंश भन्ने बित्तिकै मलाई अस्वाभाविक र भिन्न गर्नुपर्छ भन्ने सोच आयो। दानव भनेपछि त्यसको बोलाइ, लवाइखवाइ, चरित्र फरक हुन्छ भनेर कल्पना गरेर बोल्न थालें। सुरुमा त निकै गाह्रो भएको थियो, तर पछि भने बानी नै पर्यो।’

रंगमञ्चमा अभिनय गरेका उनलाई सुरुमा रेडियोमा बोल्दा छुट्टै अनुभव भयो। भन्छन्,‘रेडियोमा बन्द कोठाभित्र माइकसँग कुरा गर्दा अचम्म लाग्यो।’

त्यही नाटकमा मदनदासको भयानक हाँसो उनको नयाँ पहिचान बन्यो। त्यो हाँसोले उनलाई सबैतिर चिनायो। श्रीकृष्ण जन्माष्टमी, रामनवमीदेखि स्वस्थानीका कथासम्म उनी दानव बनेको हाँसोको चर्चा चल्न थाल्यो। जति पनि कार्यक्रममा राक्षसी हाँसोको आवाज राखिन्थ्यो, त्यही प्रयोग गरिन्थ्यो।

‘अनुहारका कारण रिजेक्ट गरियो’

शाही नेपाल चलचित्र संस्थानमार्फत ‘मनको बाँध’ बन्ने पक्का भएपछि गोरखापत्रमार्फत कलाकार खोजियो।

उनले आवेदन दिए। छानिए पनि। ‘मैले रंगमञ्चमा र रेडियोमा मात्र काम गरेको थिए। अब त सिनेमा नि खेल्न पाउने भएँ भन्दै निकै खुसी भएँ,’ उनी भन्छन्, ‘मलाई क्यामेरा टेस्ट गर्न बोलाइएको थियो। लाजिम्पाटको स्टुडियोमा स्क्रिन टेस्ट गर्दा केही बोलेर अभिनय गनुपर्ने थियो। मैले क्यामेरा अगाडि अभिनय गरें। त्यतिखेर इन्डियाबाट निर्देशक बोलाइएको रहेछ। यो भाइलाई किन बोलाएको यसको अनुहार ठीक छैन भनेर मलाई रिजेक्ट गरियो।’

त्यसबेला आफूलाई निकै नराम्रो लागेको मदनदास बताउँछन्। त्यो नरमाइलो विगत सम्झँदै उनी भन्छन्, ‘त्यो पल मेरो जिन्दगीकै नमिठो पल हो। यति ठूलो मान्छेले अनुहार नै ठीक छैन भनेपछि त्यसपछि मैले फिल्मतिर प्रयास नै गरिनँ।’

मह जोडीले फिल्ममा ताने

२०४३ सालमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उनलाई फिल्म खेल्न अफर गरे। प्रदीप रिमालको निर्देशनमा ‘के घर के डेरा’ बन्न लागेको थियो। उनी भन्छन्, ‘मलाई फिल्ममा काम गर्न मन नै थिएन, उहाँहरुले भनेपछि भने मानें।

सुरुमा अनुहारकै कारण फिल्म खेल्न नपाएका उनले त्यो फिल्मपछि भने वाहवाही पाए। सबैले उनको अभिनयको तारिफ गरे। उनी सुनाउँछन्, ‘ती रिजेक्ट गर्ने मान्छेले पहिले नै ठीकै छ, अलि मेहेनत गर भन्देको भए म फिल्म क्षेत्रमा धेरै स्थापित भइसक्थें होला।’

उनले पछि ‘परिवार’, ‘कन्यादान’, ‘पच्चीस वसन्त’, ‘तिलहरी’, ‘युगदेखि युगसम्म’,‘झझल्को’, ‘तीन घुम्ती’ जस्ता थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्। 

नेपाल टेलिभिजनको स्थापनासँगै उनले टेलिभिजनमा प्रश्नोत्तर कार्यक्रम पनि चलाए। टेलिभिजनमा रहँदा उनले थुप्रै वृत्तचित्र निर्माण गर्नेदेखि टेलिचलचित्र र धारावाहिक टेलिचलचित्र समेत बनाए।

जगिरसँगै मौलाएको प्रेम

२०२७ सालमा मदनदास पज्ञा प्रतिष्ठानको जागिरे थिए। रेणु श्रेष्ठ भने नृत्य विभागमा काम गर्थिन्। मदन र रेणुबीचको सम्बन्ध झ्याँगिन थाल्यो। तर जागिरको दुई वर्षपछि मदनदास प्रज्ञाको जागिर छाडेर धनगढी गए। त्योवेला अहिलेजस्तो टेलिफोन थिएन, भेटघाट खासै हुन पाएन। तर, दुईबीचको सम्बन्ध छुटेन। अन्ततः ०३५ मा धनगढीबाट फर्केर मदनले रेणुसँग विवाह गरे।

बाँकी जीवन समाजसेवामै

रेडियो नेपालबाट २०६७ सालमा उनले अवकाश लिए। उनी राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको केन्द्रीय अध्यक्ष छन्। जुन नेपालभरिका ज्येष्ठ नागरिकको छाता संगठन हो।

जीवन नाटकमै बित्छ भन्ने मदनदासलाई लागेको थिएन। भन्छन्, ‘मैले गरेका काम र पेसाप्रति सन्तृष्ट छु। आम दर्शकले मलाई चिन्छन्, माया गर्छन् यही नै ठूलो कुरा हो। मैले कमाएको ख्यातिलाई अलिकति सामाजिक काममा खर्च गर्नुपर्‍यो भनेर म समाजसेवामा लागें।’

अभिनयमा मात्र होइन, सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् मदनदास। बाटो निर्माणदेखि दोलखाका विभिन्न सामाजिक काममा उनी लागिपरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell