PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कमरेड ! हाम्रो बाटो फरक पर्‍यो



पहिलोपोस्ट

कमरेड ! हाम्रो बाटो फरक पर्‍यो

  • सुभाषचन्द्र देवकोटा -

शक्तिको मद चढेपछि
जनताको छातीमा छुरा चलायौ
देशको माटो बिर्सियौ
त्यसैले कमरेड
हाम्रो बाटो फरक पर्‍यो

एयरपोर्टबाट अवैध सुन र पैसा 
घरमा भित्रिन थालेपछि
हैसियत सप्रेको ढोङ  रच्यौ
आफन्तहरूलाई छोडेर पराईसँग घाँटी जोड्यौ
त्यसैले कमरेड
हाम्रो बाटो फरक पर्‍यो

विदेशी एजेन्टहरू
बेरोकतोक कोठा कोठामा छिर्न थालेपछि
शहीदहरूको सपना कुल्चियौ
आफूलाई  अजम्बरी घोषणा गर्‍यौ
त्यसैले कमरेड
हाम्रो बाटो फरक पर्‍यो

कमिसनका दलालहरूसँग हिचमिच् बढेपछि
आफै उभिएको जगमा
करौँती चलायौ
आफ्नै विरासतमाआगो लगायौ
त्यसैले कमरेड
हाम्रो बाटो फरक पर्‍यो

तर कमरेड,
आफैँ उभिएको जग भत्काएर को चुलिएको छ?
शहीदहरूको विरासतमा  
छुरी चलाएर
कसको नयाँ विरासत ठडिएको छ?
इतिहास साक्षी यी तथ्य जन्दाजान्दै
तिमीले, आफ्नै घर भत्कायौ
शहीदको सपनामा आगो लगायौ
त्यसैले कमरेड
हाम्रो बाटो फरक पर्‍यो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell