PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कर्णाली प्रदेशसभाको वार्षिकोत्सव : ४० सांसदमध्ये १४ जनामात्र सहभागी, ओली समूहको सभामुखमात्रै!



पी बी खड्का

कर्णाली प्रदेशसभाको वार्षिकोत्सव : ४० सांसदमध्ये १४ जनामात्र सहभागी, ओली समूहको सभामुखमात्रै!
फोटो : प्रदेशसभा सचिवालय

सुर्खेत : कर्णाली प्रदेशसभाले तेस्रो वार्षिकोत्सक समारोह तामझामका साथ आयोजना गर्‍यो। २०७४ माघ २१ गते पहिलो प्रदेशसभा बैठक बसेको प्रदेशसभा सचिवालयले उक्त वार्षिकोत्सक समारोह आयोजना गरेको थियो।

विगतको वर्षमा झैं यस वर्ष सांसदहरुको उपस्थिति भएन। सांसदहरुकै वार्षिकोत्सकमा किन भएनन् त सहभागी? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित बनेपछि राजनीतिक अस्थिरता पैदा हुदाँ केन्द्रको असर तल्लो तहमा आइपुगेको हो।

बहुमत सदस्य संख्या रहेको प्रदेशसभामा नेकपाका प्रधानमन्त्री केपी ओली खेमाका अधिकांश सांसद देखिएनन् भने, दाहाल नेपाल खेमाका केही सांसद र कांग्रेसका केही सांसद मात्रै सहभागी बने। सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री विमला केसी, नन्दसिंह बुढा, सांसद सीता कुमारी नेपाली, पदमा खड्का, कृष्णा शाह, पदम रोकाय, दानसिंह परियार, हिमबहादुर शाही, यज्ञ विसी, अमृता शाही सहभागी थिए। ओली खेमाका सभामुख बाहेक अन्य सांसद उपस्थित थिएनन्।

यद्यपि, सभामुख शाहीले भने कोरोना महामारीका कारण कम सहभागितामै कार्यक्रम गरेको दावी गर्छन्।

‘नेकपा विभाजनको कारणले भन्दा पनि अहिले कोरोना महामारीले गर्दा कम सहभागिता कार्यक्रम गरेका हौँ’ उनले भने।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४० सांसद मध्ये नेकपाका ३३, प्रमुख प्रतिपक्ष कांग्रेस ६ र राप्रपाका एक सांसद छन्। पार्टी विभाजनपछि नेकपाका ३३ सांसद विभाजित छन्। हाल ओली खेमामा १२ र दाहाल नेपाल खेमामा २१ जना सांसद छन्। जसले गर्दा वार्षिकोत्सवक समारोहमा १४ जना अर्थात आधा भन्दा कम सांसद सहभागी बने।

हालसम्म ३६ कानून निर्माण

प्रदेशसभाले हालसम्म ३६ वटा कानून निर्माण गरेको छ। प्रदेश सरकारले आवश्यकताका आधारमा कानून निर्माणका लागि विधेयक पेश गर्नेक्रममा हालसम्म प्रदेशसभामा ५१ वटा विधेयक दर्ता भएका छन्। संसद सचिवालयका अनुसार ३६ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कानूनका रुपमा कार्यान्वयनमा छन्। सात वटा विधेयक भने टेबुल हुन बाँकी छ भने सात वटै विधेयक विचाराधीन अवस्थामा छन्। छ वटा विधेयक छलफलका लागि विषयगत समितिमा गएको छ।

कर्णाली प्रदेशसभामा चार वटा विषयगत समिति रहेका छन्। अर्थ तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell