धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको आमहड्तालका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ। बन्द कर्ताले विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै बन्द गराउन थालेपछि गन्तव्यसम्म पुग्न हिँडेका यात्रुहरू अलपत्र परेका छन्।
बन्दकर्ताहरूले कैलालीका बजारमा विद्युतीय रिक्सा समेत चल्न दिएका छैनन्। दुई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल छिटपुट रूपमा चलेका छन्। अत्यावश्यक सेवाका र केही सार्वजनिक सवारी साधनमात्रै संचालनमा भइरहेको छ।
हड्तालका कारण धनगढी बजार बिहानैदेखि बन्द छ। धनगढी बजारमा टायर बालेर प्रदर्शन गरिएपछि बन्दकर्ता र प्रहरीबीच घम्साघम्सी समेत परेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले हडतालका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताएका छन्।