PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रामचन्द्र झाको अवस्था गम्भीर, थप उपचारका लागि उनीसहित ४ जनालाई काठमाडौं लगिँदै



सुमित मिश्र

रामचन्द्र झाको अवस्था गम्भीर, थप उपचारका लागि उनीसहित ४ जनालाई काठमाडौं लगिँदै

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा परी घाइते भएका नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाको अवस्था गम्भीर भएको छ। 

प्रहरीको लाठी प्रहारबाट घाइते भएका पूर्वमन्त्री झा र पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव सहित ४ जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको नेकपा संघर्ष समिति धनुषाका संयोजक सुधीर साहले जानकारी दिए। उनले पूर्वमन्त्री यादव, स्थायी समिति सदस्य रामचन्द्र झा, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि प्लेनबाट काठमाडौं लैजान लागेको जानकारी दिए। उनका अनुसार घाइतेहरुलाई त्रिवि शिक्षण अस्पतालमा लगिने छ।

झडपमा परी पूर्वमन्त्री झा, पूर्वमन्त्री यादव, मेयर बरबरिया सहित १५ जना घाइते भएका छन्।

कस्तो छ झाको अवस्था? 
पूर्वमन्त्री झालाई झडपकका क्रममा प्रहरीले लाठी हानेको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको छ। चोट लागेपछि घाइते भएका झालाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको स्वासप्रस्वासमा समस्या देखियो। उनको अवस्था 'क्रिटिकल' भएको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर प्रमोद यादवले जानकारी दिए। 

‘उहाँको मुटुको चाल ठीक छैन। सास लिन समेत कठिनाइ भइरहेको छ। यहाँ मुटु विशेषज्ञ डाक्टर नरहेकाले काठमाडौं रिफर गरिएको छ,’ डाक्टर यादवले भने। 

पढ्नुस् : प्रहरीको प्रहारबाट घाइते भएका रामचन्द्र झाको अवस्था यस्तो, प्रहरी पनि आन्दोलनकारीको सिकार

पूर्वमन्त्री यादवलाइ प्रहरीले बुटले हानेको थियो। उनको गुप्ताङ्गमा गम्भीर चोट लागेको छ। उनी पनि बिचमा बेहोस भएको डाक्टर यादवले जानकारी दिए। हाल उनको अवस्था ठीक रहे पनि उठ्न र बस्न भने कठिन भइरहेको छ। 

यता घाइते भएका शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको टाउकोमा चोट गहिरो छ। 

अरु घाइते को हुन्?
झडपमा परी घाइते हुनेहरुमा विदेह नगरपालिका वडा नम्बर–४ बस्ने ३६ वर्षीय मावि ठाडीका विद्यालय व्यवस्थापन समिति सदस्य शिवकुमार गोइत, शहीदनगर नगरपालिका वडा नम्बर–५ बस्ने ४३ वर्षीय सुरेश कापर, सबैला नगरपालिका वडा नम्बर–२ बस्ने नेकपाका जिल्ला कमिटी सदस्य ५२ वर्षीय कारीराम यादव, हंसपुर नगरपालिका वडा नम्बर–४ बस्ने ३० वर्षीय प्रदीप साह, शहीदनगर नगरपालिका वडा नम्बर–८ बस्ने संघर्ष समितिका संयोजक ३० वर्षीय रुपेश विराजी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ बस्ने नेकपाका नगर कमिटी अध्यक्ष ५० वर्षीय उमेश कुमार साह, विदेह नगरपालिका वडा नम्बर–१ बस्ने संघर्ष समितिका संयोजक २९ वर्षीय रञ्जित पाण्डे, शहीदनगर नगरपालिका वडा नम्बर–६ बस्ने युवा संघका जिल्ला सदस्य २८ वर्षीय अपराजय मण्डल, शहीदनगर नगरपालिका वडा नम्बर–६ बस्ने ३० वर्षीय सुभाष मण्डल र शहीदनगर नगरपालिका वडा नम्बर–८ बस्ने ५० वर्षीय विरजु विराजी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell