PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आन्दोलनको रापमा हुर्हुर्ती बल्यो कुम्भनारायणको ट्याक्सी, साँढेको जुधाईमा मिचिए एक श्रमजीवी



सविन ढकाल

आन्दोलनको रापमा हुर्हुर्ती बल्यो कुम्भनारायणको ट्याक्सी, साँढेको जुधाईमा मिचिए एक श्रमजीवी

काठमाडौं : बिहीवार बिहान ४ बजेतिर ४१ वर्षीय कुम्भनारायण श्रेष्ठ ट्याक्सी लिएर ग्राहकको खोजीमा निस्किए। बबरमहलमा कोठा भाडा लिएर परिवारसहित बस्दै आएका श्रेष्ठको दैनिकी नै थियो बिहनै उठेर ट्याक्सीमा यात्रु ओसार्नु। १५ वर्षदेखि लगातार उनी यही पेशामा।

तर, सधैं झै बिहीवार भने उनका लागि सामान्य दिन बन्न सकेन। बबरमहलबाट निस्किएपछि नै उनले ग्राहक फेला पारे। बबरमहलदेखि सोह्रखुट्टेसम्म जाने यात्रु भेटिएपछि उनको बोहनी हुने भयो। त्यही ट्याक्सीका पहिलो ग्रहाकले नै उनलाई सुनाएका थिए - आज नेपाल बन्द छ किन चलाउनु भएको?

हिजो एकाएक घोषणा भए पनि बन्दबारे उनलाई कुनै जानकारी थिएन। त्यसैले पहिले झैं बन्द समान्य होला भन्ने ठाने।

'पहिलो ग्राहकले आज बन्द भनेर सुनाएका थिए। नत्र मलाई आज बन्द हो भन्ने थाहा नै थिएन। कोठाबाट नै थाहा पाएको भए निस्किने नै थिइन होला,' श्रेष्ठले पहिलोपोस्टसँग भने।

बिस्तारै उज्यालो हुँदै थियो। दोस्रो ट्रिप पनि मिल्यो। उनका लागि राम्रै ग्राहकहरु मिलिरहेका थिए। त्यसपछि उनी गोंगबुको सरकारी धारा नजिकै पुगेपछि दुई जनाले हात दिए। उनले पहिलेका यात्रुलाई झैं ट्याक्सी रोकेर बसाए। तर, उनीहरु पहिलेका झैं कुनै गन्तब्यमा पुग्न श्रेष्ठको ट्याक्सीको सहारा लिने यात्रु रहेनछन्। चाबहिल जाने भन्दै हात दिएका उनीहरुले त्यही नै ट्याक्सी रोके र आगो लगाए।

एकाएक ट्याक्सीभित्रबाट आगो बल्न थालेपछि श्रेष्ठ ट्याक्सी छोडेर भाग्न वाध्य हुनुपर्‍यो। 'म मिटर मिलाउँदै थिए, आफ्नै धुनमा। तर, पछाडिबाट आगो बलेपछि ट्याक्सीबाट निस्किएँ,' श्रेष्ठले सुनाए।

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड - माधव नेपाल समूहको निसानामा चालक श्रेष्ठ परेका थिए। ट्याक्सी जलेदेखि उनको मन पनि जलेको छ। उनलाई राजनीतिको न ज्ञान, न त चासो नै। साहुको ट्याक्सी चलाएर गुजारा गर्दै आएका उनको रोजिरोटी एकाएक खोसिएको छ।

प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी आन्दोलनकारीले जलाएका हुन्। उनको ट्याक्सी पनि होइन। 'साहुको ट्याक्सी हो। मैले १५ दिन जतिमात्र भएको थियो चलाउन थालेको,' मलिन स्वरमा श्रेष्ठले सुनाए।

उनको ट्याक्सी जलेसँगै रोजिरोटी खोसिएको छ। गाडीलाई प्रहरीले उठाएर लगेको छ। त्यो बन्छ कि बन्दैन थाहा छैन। ग्यारेजबाट निस्किएला कि ननिस्केला भन्ने चिन्ता पनि उत्तिकै। उनलाई थाहा छैन उनको रोजीरोटी खोसिनेगरी भएको आगलागीबाट मुलुकले कस्तो राजनीतिक निकास पाउँछ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell