PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भलिबल खेलाडीका क्रिकेटर छोरा : पीएम कपमा चम्किएका १७ वर्षेको राष्ट्रिय टिमको 'क्लोज क्याम्प' यात्रा



मुकुन्द घिमिरे

भलिबल खेलाडीका क्रिकेटर छोरा :  पीएम कपमा चम्किएका १७ वर्षेको राष्ट्रिय टिमको 'क्लोज क्याम्प' यात्रा

काठमाडौं : अघिल्लो हप्तामात्र लामो समयपछि नेपालमा पुरुष क्रिकेट गतिविधि सुरु भयो। कीर्तिपुर र मुलपानी गरी दुई स्थानमा सम्पन्न प्रधानमन्त्री कपसँगै कोरोना महामारीका कारण रोकिएको नेपाली पुरुष क्रिकेट चलयमान भयो। व्यवस्थापन र तयारीको पक्षहरु आफ्नो ठाउँमा होलान् तर केही सकारात्मक पक्षहरु पनि देखिए यही प्रतियोगितामा।

प्रधानमन्त्री कपमा बाहिरिएपछि वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्ल युवा खेलाडीको सहभागिता र प्रदर्शनलाई सकारात्मक रुपमा अर्थ्याए। युवा खेलाडीको प्रदर्शनले नयाँ सन्देश दिने बताए उनले।

'प्रतियोगिता भर योङ साइडले राम्रो गरेको छ। अब आउने दिनमा प्रदेश पनि अघि आउन सक्छन् र प्रदेशले पनि विभागीय टोलीलाई दबावमा राखेर जित्न सक्छ भन्ने चाहीँ मेसेज दिएको छ,' मल्लले भनेका थिए, 'जति सक्छ त्यति गेम नै हो। खेलाडीहरुलाई एक्सपोजर नै चाहिने हो। वर्षमा एउटामात्र प्रतियोगिता खेलेर अरु बेला घरमा बस्ने हो भने सुधार पक्कै पनि हुँदैन। अझ स्कुल लेभल र कलेज लेभलमा पनि क्रिकेट हुनुपर्छ र धेरैभन्दा धेरै क्रिकेट हुनुपर्छ भन्ने नै हो।'

उनले भनेजस्तै यो प्रतियोगिताबाट राष्ट्रिय टिममा आउन सक्ने केही खेलाडीहरु प्रधानमन्त्री कपबाट मिल्यो।

'पोजेटिभ भनेको युवा खेलाडीहरु नै हो। हामीले पुलहरु बढाउने नयाँ खेलाडी नेसनल टिम ब्रेकिङ गर्न खोजिरहेको छौं। त्यसको लागि अवसर पनि हो,' कप्तान मल्ल भन्छन्, 'कति जनाले कमब्याक गरे। कतिजनाले राम्रो गरिरहेका छन्। हाम्रोमा ५० ओभरका खेल नभइरहेको अवस्थामा युवाहरुले ५० ओभरको फर्म्याटमा आएर राम्रो प्रदर्शन गर्न सक्नु ठूलो कुरा हो।'

मल्लले भनेजस्तै गण्डकी प्रदेशका १५ वर्षीया अर्जुन कुमाल, प्रतियोगितामा इमर्जिङ प्लेयर बनेका प्रदेश २ का विवेक यादव, पुनरागमनको बलियो सम्भावना देखाएका भुवन कार्की, पृथु बास्कोटाजस्ता खेलाडीहरु पीएम कपले देखायो नै। अझ सिरिज खेल्न कतार जाने खेलाडीहरुको सूची क्यानले बनाउँदा सिनियर खेलाडीहरुलाई विश्राम दिएर नयाँ खेलाडीको सूची क्यानले बनाएको थियो जसमा प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका खेलाडीहरु समेटिएका छन्।

भलै कतार भ्रमण तत्काललाई टरेको छ। त्यस्तै ओमन सिरिजका लागि शुक्रबार क्लोज क्याम्पमा ३२ जना खेलाडीहरु बोलाइँदा यीनै युवा खेलाडीहरु पर्न सफल भएका छन्।  

+++

विवेक यादव। प्रदेश २ बाट अघिल्लो हप्ता सम्पन्न पीएम कपमा सर्वाधिक रन बनाउने खेलाडी। उनले प्रतियोगितामा ४ खेल खेल्दै १६७ रन बनाए। जसमा उनको सर्वाधिक रन ६६ रह्‍यो।

बिहीवार क्यानले ओमन सिरिजका लागि ३२ खेलाडीहरुको नाम सार्वजनिक गर्‍यो। जसमा यादवको नाम पनि समावेश छ। अर्थात १७ वर्षे सप्तरीका यी खेलाडीले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा २४ गतेबाट आफूलाई प्रमाणित गर्ने अवसर पाउनेछन्।

प्रधानमन्त्री कप नसकिँदै क्यानले युवा टोली बनाएर कतारसँग खेल्ने तयारी गरेको थियो। प्रतियोगितामा राम्रो प्रदर्शन गरेका यादवको नाम पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा परेको थियो। तर, पछि आयोजकबाट कतारमा कोरोनाका केसहरु बढेका कारण प्रतियोगिता स्थगित भएको सूचना आयो। जसका कारण क्यानले बन्द प्रशिक्षण नै गराएन।  तर अब उनी ओमानमा हुने लिग टुको सिरिजका लागि बोलाइएको बन्द प्रशिक्षणमा सहभागी हुने पक्का भएको छ।

'मेरो लागि पीएम कप सबैभन्दा ठूलो स्टेज थियो। यहाँ राम्रो प्रदर्शन गर्न सके अगाडि राम्रो बाटो खुल्छन्। फ्रेन्चाइज लिगदेखि क्याम्पसम्म जाने अवसर हुनसक्छ,' यादव भन्छन्, 'यहाँबाट धेरै अनुभव लिन पाएँ। जहाँ मौका मिल्छ त्यहाँ गर्ने हो।'

यादव बन्द प्रशिक्षणमा सहभागी हुन पाउनुलाई महिनेतको उपहारका रुपमा प्रस्टाउँछन्।

'धेरै सरप्राइज भएँ। पीएम कपमा राम्रो भएको त थियो तर त्यहाँ नाम आउँछ भन्ने थाहा थिएन,' राष्ट्रिय टिमको क्याम्पमा आफ्नो नाम परेको थाहा पाएपछि मख्ख परेका यादव भन्दै थिए, 'म आँफैलाई विश्वास लागिरहेको थिएन। सिनियर टिममा पुग्ने सपना छ। सिनियर दाइहरुसँग सिक्न पाउने हुन्छ। एउटा एक्साइटमेन्ट त भइ हाल्छ। म मेरो बेस्ट दिन्छु।'

+++

यादवले क्रिकेट खेल्न थालेको धेरै भयो। उनको घर सप्तरी। पहिला उनले पूर्वाञ्चलबाट खेलेका थिए। अहिले भने प्रदेशबाट। उनले राष्ट्रिय टोलीमा उमेर समूहबाट पनि प्रतिनिधित्व गरिसकेका छन्।

'मैले ७ कक्षामा हुँदा क्रिकेट प्रतियोगिताहरुमा सहाभागिता जनाउन थालेको हो। त्यति बेला यू १९ जिल्ला खेल भएको थियो,' यादवले सुनाए उनको विगत, ' पूर्वाञ्चलमा हुँदा यू १९ सेलेक्सनका लागि झापा गएको थिएँ। तर त्यतिबेला अवसर मिलेन।'

८ कक्षामा हुँदा सातौं राष्ट्रिय खेलकुदमा ‍पुर्वाञ्चलबाट खेलेका उनले ९ मा हुँदा ‍विद्यालयबाट ‍राष्ट्रिय प्रतियोगिता स्कुल लिग ‍खेलेको थिएँ।

१० कक्षामा पढ्दा थाइल्याण्डमा सम्पन्न यू १६ क्याम्पमा पनि परेको उनी बताउँछन्। त्यतिबेला उनी रिजर्ब खेलाडीका रुपमा टिममा रहेका थिए। गत वर्ष भने उनी यू १९ को खेल्न भारत गएका थिए।

क्रिकेट यात्रामा ल्याउन भने उनलाई राजविराजका अनिल यादवले प्रोत्साहन गरेका रहेछन्। भने, 'मलाई क्रिकेटमा ल्याउने भनेको चाहीँ राजविराजको अनिल यादव भन्ने दाइ हुनुहुन्छ। सामान्य गाउँघरमा त खेलिन्थ्‍यो तर उहाँले पहिलो पटक मलाई एकेडेमी लैजानु भएको हो। त्यतिबेला म नियमित नजाँदा घरमा आएर जानुपर्छ, सिक्नुपर्छ भनेर प्रेरित गर्नुहुन्थ्यो।'

विश्व क्रिकेटमा एबी डिभिलियर्स र नेपालमा पारस खड्काको खेल मनपराउने यादव क्यान पनि आइसकेका कारण नेपाली क्रिकेटमा भविष्य राम्रो हुनेमा आशावादी छन्।

जहाँ छु, बाबाको कारण छु

उनले आफ्नो करियरबारे सबै कुरा सुनाएपछि बुवालाई सम्झिएर भावुक भए। राष्ट्रिय टोलीको क्याम्पसम्म आइपुग्दा उनले आफ्ना बुवाले दिएको हौसला सम्झिए। ओमन सिरिजमा बोलाइएको ३२ खेलाडीमा आफ्नो नाम आउँदा तुरुन्तै बुवालाई नै फोन गरे।

‘बधाइ दिनुभयो। जसरी पीएममा खेलेका थियौ त्यसरी नै खेल। सिनियर क्याम्प हो भनेर डराउने या अर्कोतर्फ बलियो खेलाडी छ भनेर डराउनु हुन्न। आफ्नो स्पिरिट नछाड्नु भनेर भन्नु भयो,’ यादवले भने।

उनको बुवा नाम वीरेन्द्र। बैंकमा जागिरे। अनि भलिबल खेलाडी पनि। खेलाडीका रुपमा उनले राष्ट्रिय प्रतियोगितामा सहभागिता पनि जनाएका थिए। तर राष्ट्रिय टिममा पर्न भने शरीरको उचाइँले साथ दिएन। ‍

राष्ट्रिय टिममा पर्ने सपना पूरा त भएन उनको तर छोरालाई भने राष्ट्रिय टिममा हेर्न हरसम्भव प्रयास गरिरहे।

‘म खेल्न सकिनँ, छोरा खेलोस् भन्नुहुन्छ,’ विवेक भन्छन्, ‘तिमी खेल हामी साथमा छौं भन्नु हुन्छ। सपनाहरु नतोड भनेर भन्नु हुन्छ। गेम बिग्रिँदा पनि बुवाले सँधै साथ दिनुभयो। अझ प्रफमेन्स बढाउनु हुन्थ्यो। अझ गर भनेर हुनुहुन्छ। बाटो देखाउनु हुन्छ।’  

बुवाको साथ त छ तर समाजमा खेल्न छाडेर पढाइमा मात्र लाग भन्नेहरुको कमी छैन। खेलेर केही हुँदैन भनेर केही आफन्तले कर पनि गरे। तर उनले न खेल्न छाडे न बुवाले देखाएको सपनालाई पछ्याउन नै छाडे।

‘खेलेर हुँदैन भनेर धेरैले भन्थे। म त्यो बाबालाई सुनाएँ,’ उनी भन्छन्, ‘बाबाले अरुको कुरा नसुन। एकदिन अघि पुगिन्छ भन्नु हुन्थ्यो। मलाइ केही अभाव भयो भने पहिले देखिनै गरिहाल्नु हुन्थ्यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell