काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी दरबार बाहिर जनप्रदर्शनलाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज घोषित कार्यक्रममा तीन लाख मानिस उतार्ने दावी गर्दै आएको छ। जसको कारण आज दिनभर दरबारमार्ग क्षेत्र भएर गुड्ने सार्वजनिक तथा निजी सवारी साधन प्रभावित हुने भएका छन्।
बिहानैदेखि नारायणहिटी सडकमा सवारी आगमनमा रोक लगाइएको छ। त्यस्तै जयनेपाल हलबाट नै सवारी साधनलाई कमलादी तर्फ फर्काइएको छ। त्यस्तै केशरमहलबाट पनि सवारीलाई नारायणहिटी छिर्न दिइएको छैन। प्रधानमन्त्रीको कार्यक्रमका लागि तयारी गर्ने भन्दै तीनधारा, केशमहल, नागपोखरीदेखि नारायणहिटीसम्म आउने बाटो ट्राफिकले डाइभर्ट गरेको छ। सभाकै लागि भनेर बुधवार राति नै दरबारमार्ग सडकमा रहेको डिभाइडर हटाइएका थिए।
बिहानै देखि कार्यक्रमस्थल सजाउन भ्याइनभ्याइ छ। कार्यक्रममको लागि भन्दै बिहानै दरबामार्गको सडक पेटी पानी हालेर धोइएको छ। सडकका दुई साइटमा प्रधानमन्त्री ओलीको फोटो राखिएको छ। त्यस्तै, पोल पोलमा प्रधानमन्त्रीको फोटो झुन्डियाइएको छ। कार्यक्रता तथा नेताहरु झन्डा, पार्टीको चिन्ह अंकित क्याप लिएर बाड्नलाई बसेका छन्।
त्यस्तै आज दिनभर दरबारमार्ग क्षेत्रका व्यापारिक केन्द्रमा समेत कार्यक्रममले असर पर्ने छ। पसलहरु बन्द हुनेछन्।
