काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नदिएपछि जनतामा जाने निर्णय गरेको बताएका छन्। उनले अस्थिरतालाई रोज्ने कि स्थिरतालाई रोज्ने भन्दै प्रश्न गरे।
नारायणहिटी अगाडिबाट उनले निर्वाचनको माग गर्दै नारा लगाए।
'निर्वाचन चाहियो... चाहियो चाहियो..,' उनले मञ्चबाट नारा लगाए। नेकपाको आफूपक्षीय आमसभामा बोल्दै उनले भने, 'अब सुने होलान्। निर्वाचन चाहियो।'
उनले देशलाई संकटमा पर्न नदिनका लागि निर्वाचन चाहिएको बताए।
सक्कली नेकपा, नक्कली नेकपा
प्रधानमन्त्री केपी शर्मा ओलीले सक्कली नेकपा आफ्नै भएको दाबी गरेका छन्। नेकपाको आफूपक्षीय आमसभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्ड-माधव नेपाल समूहले गरेकोआन्दोलनलाई जनतालाई दु:ख दिने आन्दोलनको संज्ञा दिए।
'शाकाहारी आन्दोलन हुन्न भनेको के हो? चिकन चिल्ली खान्छु भनेको हो? नरभंक्षी आन्दोलन गर्छु भनेको हो? अब नरभंक्षी आन्दोलन हुँदैन। नेपाल शान्तिपूर्ण तरिकाले अगाडि बढ्छ,' उनले भने। सभामा आउन नदिनका लागि नेपाल बन्द गरेको आरोपसमेत लगाए। 'बाटो बन्द गरेर खाल्डा खनेर रोक्ने काम गरे। बम राखेर विप्लव लेख्ने काम गरे,' प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले भने।
सर्वहारा भन्नेले किसानको तरकारी फालेको र श्रमजीवीको ट्याक्सी जलाएको आरोप पनि लगाए।
'उनीहरुले जलाउँछन्। हामी क्षतिपूर्ति दिन्छौँ। इन्सुरेन्स गरेको होला, हामी क्षतिपूर्ति दिन लगाउँछौँ,' उनले अगाडि भने, 'भएन भने जनतालाई माया गर्ने सरकार छ। क्षतिपूर्ति दिन्छ।'
