PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आमसभाका फरक तर सक्रिय सहभागी जसलाई थाहा थिएन ओली को हुन्?



सहयोग रञ्जित

आमसभाका फरक तर सक्रिय सहभागी जसलाई थाहा थिएन ओली को हुन्?

काठमाडौं : रौतहटबाट बिहीवार राति बाट बस छुट्यो। भरिभराउ गाडीमा करिब ७ घण्टाको यात्रा गरी काठमाडौं पुग्नु थियो यात्रुहरुलाई। उद्देश्य  - काठमाडौं पुग्नु। दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्नु। त्यही बसमा थिए मोलापुर नगरपालिकाका रामसिंह यादव।

त्यहाँका मेयर रीनाकुमारी साह र उनका पति तथा शहरी विकास मन्त्री प्रभु साहले भनेपछि उनी काठमाडौंको यात्रामा हानिए। 
मन्त्री भएपछि प्रभु साहले आफ्नो जिल्ला विकास गर्ने भन्दै विश्वस्त सुनिए उनी। 'साहले बोलाउनु भयो। हामी आयौं,' किन आएको त काठमाडौं भन्दा उनले यसै भने।

यादवजस्तै सयौं मानिसहरु 'नाइट बसमा' आज काठमाडौं आइपुगेका थिए। यादवका अनुसार रौतहटबाट मात्रै ७० भन्दा बढी बस राति काठमाडौंका लागि हिँडेको थियो। रौतहटसँगै मधेशका अन्य जिल्लाबाट बिहानै काठमाडौं पुगेका उनीहरुलाई उपत्यकाका विभिन्न स्थानमा राखिएको थियो। त्यसपछि र्‍यालीमा सहभागी भए उनीहरु। र्‍यालीको गन्तव्य थियो दरबारमार्ग। उनीहरुजस्तै आएका धेरैलाई कार्यक्रम बारेमा थाहा रहेनछ। न त नेपाली भाषा नै बुझ्ने। बालबालिका र वृद्धवृद्धा पनि थिए उनीसँग।

मञ्चबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन चलिरहँदाको दृष्य रोचक थियो। ओली महेन्द्रको शालिकतिर फर्केर भाषण गरिरहेका थिए। ओलीको ठीक दायाँतिर चर्चित कम्पनी यतीको भर्खरै बनेको बिल्डिङ थियो जहाँको डिस्प्लेमा ओलीको सम्बोधनको चलचित्र चलिरहेको थियो। नेपाल ट्रस्टको जमीनमा बनेको यतीको बिल्डिङ ओलीकै सद्‍भावका कारण उक्त समूहले हात पारेको थियो। यतीलाई जग्गा दिन नीतिगत भ्रष्टाचार गरेको विषयलाई लिएर ओलीको चर्को आलोचना भइरहेको थियो।

त्यही मञ्चबाट ओलीले समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणको चर्को भाषण गरिरहेका थिए। मञ्च तल छरिएर रहेकाहरुले हुटिङ् दिए। कतिले बुझे कतिले बुझेनन्।

यस्तै नबुझ्ने मध्येका हुन्- प्रदेश २ बाट आएका अधिकांश मानिसहरु।  

आफूलाई बिहारी सिंह भन्ने व्यक्ति सप्तरीबाट बिहानै पशुपति पुगेका थिए। त्यहाँबाट सिधै दरबारमार्ग। परिवारसहित आएका उनलाई आज ओलीले बोल्छन् भन्ने जानकारी रहेछ।

'ओलीको भाषण सुन्न आएको,' उनले भने। तर, ओली को हो? भन्ने हेक्का चाहिँ रहेनछ। उनीसँगै बसेका एक व्यक्ति भने 'जसले राम्रो गर्छ त्यसकै' भन्दै सिंहलाई नबोल्न निर्देशन दिँदै थिए। 

मधेशबाट आएकाहरुको आज प्रधानमन्त्रीको आमसभामा ठूलै उपस्थिति थियो। तर, उनीहरुलाई कहाँ के गर्ने भन्ने चाहिँ  थाहा थिएन। उनीहरुसँग कुरा गर्न खोज्दा रोक्न आउनेहरुलाई आयोजकले राम्रैसँग परिचालन गरेका थिए।

'राम्रो हुँदैन...' भन्दै उनीहरुलाई नबोल्न चेतावनी दिँदै थिए - सायद नेपाली भाषा राम्रोसँग नबुझ्नेलाई ल्याउने नेता मध्येका एक। 

मधेशबाट आएका धेरैजसो अन्यौलमा देखिन्थे। मञ्चतिर जाने बस्ने ठाउँ छैन। परिवारसहित आएकाहरुले एकअर्काको हात समाउँदै धक्कामुक्की गर्दै ओहोर दोहोर गर्दै थिए। 

त्यही भिडमा ओहोरदोहोर गर्दै थिइन् वीरगंजबाट आएका लक्ष्मी थरुनी पनि। 

उनलाई आज ओलीको कार्यक्रममा जाने भनेर काठमाडौं ल्याइएको रहेछ। गाउँको प्रत्येक घरबाट मानिसहरु आएको बताउने उनी खुशीयाली मनाउन आएको बताइन्। 

'ओलीको खुशीयालीमा, केपी ओली जिन्दावाद,' उनले भनिन्। 

केपी ओली को हो थाहा छ भन्ने प्रश्नमा उनले भनिन्, 'सूर्य छाप, एमाले।'

 अनि उनी आफ्नो समूहसँगै महेन्द्र शालिक हुँदै फर्किइन्। ओलीकै भाषण नसुनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell