PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सत्ता पक्षको शक्ति प्रदर्शनमा जब बाजा बजाउनेहरु भोकै रहे...



लक्ष्मी बलायर

सत्ता पक्षको शक्ति प्रदर्शनमा जब बाजा बजाउनेहरु भोकै रहे...

काठमाडौंः शुक्रवार दरवारमार्गको दृश्य फरक थियो। ब्यापारव्यवसाय हुने 'भीआइपी' दरवारमार्ग क्षेत्रमा केपी शर्मा ओली समूहको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिप्रदर्शन थियो। जसका लागि विभिन्न जिल्लाबाट मानिसहरु झिकाइएका थिए। कार्यक्रममा विभिन्न जिल्लाका संघठन, समुदाय, भातृसंगठन, सांस्कृतिक समूहलगायतबाट कार्यकर्ता आएका थिए। र्‍याली निर्धारित समयबाट केही घन्टा ढिला गरी सुरु भयो।

शक्तिप्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्दै गर्दा र्‍यालिमा बाजाबजाउनका लागि बोलाइएको समूह पर्यटनमार्ग छेउमा टुसुक्क बसेका थिए। थकित देखिएका उनीहरु निराश पनि देखिन्थे।

हुन पनि आमसभा सुरु भएकै ३ घण्टा बितिसकेको थियो। एउटा चटपटे पसल नजिकै उनीहरु बसेका थिए। उनीहरुमध्ये केहीले चटपटे खाएर आफ्नो भोक मेटाउँदै थिए। त्यही समूहका मुख्य ब्यक्ति मानबहादुर परियार घरी मोबाइल कानमा लग्दै त घरी डायल गर्दै यतिउति भौतारिइ रहेका थिए। हामीले उनीहरुसँग कुरा गर्‍यौं।

खास कुरा भने फरक रहेछ। ३ बज्दा सम्म उनीहरुले खाना खाएका रहेनछन्। र मानबहादुर आफूलाई त्यहाँ लाउने ब्यक्तिलाई सम्पर्क गर्न कोशिष गरिरहेका रहेछन्। तर उनको न फोन लागेको थियो, न त उनीहरुलाई खोज्दै कोही त्यहाँ आएको थियो।

+++

रामेछाप घर भएका ३८ वर्षे राम कार्की कोटेश्वरमा डेरा लिएर बस्छन्। कपडा सिलाउने मुख्य काम भए पनि उनी विभिन्न कार्यक्रममा पञ्चेबाजा बजाउन पनि पुगिहाल्छन्। त्यसैक्रममा आमसभामा आएका उनी भोकै रहनु परेको गुनासो गर्दै थिए।

'दाइले भोलि आमसभामा जानुपर्छ भनेपछि हामी टिमसहित आएका हौँ। तर अहिले सम्म केही खानेकुरा खा'को छैन। निकै भोक लागिसक्यो।' निराश देखिएका उनी भन्दै थिए।

उनीहरुको समूहको नेतृत्व गरेका मानबहादुरले उनले चिनेका 'देवी दाई' ले बोलाएपछि र्‍यालीमा आएको बताए। कार्यक्रममा त आए, तर उनै 'देवी दाई' को फोन लागिरहेको थिएन।

लोकसंस्कृति तथा पञ्चेबाजा संरक्षण मंच नेपालको केन्द्रीय अध्यक्षसमेत रहेका मानबहादुर भन्छन्,'हामी पार्टीगत हिसाबले भन्दा पनि ज्यालामा आएका हौँ। तर अहिले बोलाउने मान्छेको नै फोन लागिरहेको छैन।'

उनीहरुलाई सबै ठूलो चिन्ता थियो खानाको। ३ बजिसक्दा पनि उनको टिमले खाना पाएको थिएन। केहीले चट्पटे आफ्नै खर्चमा खाइरहेका थिए, बाँकी खानाको प्रतिक्षामा थिए।

'२०/२५ हजार ज्याला दिने कुरा भएको थियो। ज्याला त के टिमले खानाखाजा समेत खान पाएको छैन।' आक्रोसमिश्रित स्वरमा मानबहादुरले भने।

मानबहादुर पुराना परम्परा संस्कृती हराउँदै गइरहेको बेला आफ्नो संस्कृती बचाउन पर्ने आवश्यकता पनि रहेकाले कार्यक्रममा आएको दाबी गरे।

+++

आमसभामा अर्को समूह पनि भेटियो दरबारमार्गको बीचमा। न्याउली बाजा बजाउने उक्त टिम दक्षिणकाली नगरपालिकाबाट आएको थियो। र, यो टिमको नेतृत्वकर्ता थिए: दिलिप लामा।

लामाले आफूहरु बिहे ब्रतवन्धमा ज्याला लिएर जाने उनीहरु र्यालीमा भने बिना ज्याला नै आएको बताए। वडाध्यक्षले जानु पर्‍यो भनेपछि पार्टीलाई सहयोग गर्नुपर्‍यो भनेर उनीहरु आएका रहेछन्।

'वडाध्यक्षले नै भनेपछि पार्टीलाई पनि सहयोग गर्नुपर्यो भनेर सर्मथनमा आएका हौँ,' लामाले भने, 'खाजाखानाको व्यवस्था त हामी आफैंले गरेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell