PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

रुद्रबहादुरको जीवनको रुपहरु : कतारको कामदेखि घरमै बन्धक अनि उद्धार…



फूलमाया पुरी

रुद्रबहादुरको जीवनको रुपहरु : कतारको कामदेखि घरमै बन्धक अनि उद्धार…

ललितपुरको सातदोबाटोस्थित निर्वाण मानसिक स्वास्थ्य केन्द्र। दोस्रो तलामा रहेको वार्डको बेड नं २० मा छन् रुद्रबहादुर कार्की। एक महिना भयो,त्यही बेड नै उनको दैनिकी बनेको छ।

एक्लै टोलाइरहेका उनलाई अस्पतालमा आएकाहरुले नजिकै गएर सोध्छन् : दाइ कहिले आउनु भएको?

उनी हाँस्दै भन्छन्, ‘४ दिन भयो।’ आफूलाई अस्पतालसम्म भगवानले ल्याएको बताउँछन्। बेलाबेलामा उपचार गर्ने, ठीक हुने र आमाबुवाको सेवा गर्ने हतारोमा हुन्छन् रुद्रबहादुर।

+++

रुद्रबहादुर उमेरले २१ वर्षका थिए जब धन कमाउने सपना बोकेर परदेशिए। तर उनको त्यो सपना पूरा भएन। विदेशिएको २२ महिना नबित्दै रित्तो हात फर्कनु पर्‍यो।

उनी पैसा होइन मनोरोग बोकेर नेपाल आए। र, फर्किएको बाह्र वर्षसम्म मनोरोगबाट ग्रस्त उनी दुई वर्षदेखि फलामे साङ्लोले बाँधिएर बाँच्न बाध्य भए।

कक्षा ७ सम्म पढे कार्कीले। पढ्दापढ्दै स्कूल छाडे र सवारी सहचालकको रुपमा काम थाले। केही वर्ष चालक बनेर गाडीको स्टेरिङ सम्हाले। सवारी चलाउने ‘लाइसेन्स’ निकालेपछि हो उनी अझै बढी कमाउने आशामा कतार पुगेको।

सर्लाहीको हरिवनमा थिए बुबा उनबहादुर र आमा हिरामायाका। पाँच सन्तान मध्येका कान्छो छोरो टन्न कमाएर फर्कन्छ। बुढेसकालको सहारा बन्छ भनेर पर्खिएको। तर, छोरा त मानसिक सन्तुलन गुमाएर पो फर्किए।

कतारको एक कम्पनीमा स्काफ फोल्डिङको काम पाए रुद्रबहादुर। ‘कम्पनीको म्यानेजरलाई ‘यो कम्पनी तैंले चलाउन जानिनस् अब म चलाउँछु’ भनेछ। त्यसपछि त फर्काइदियो नेपाल,’ उनको कतार बसाइको अन्त्यबारे सुनाउँछन् बुबा उनबहादुर।

साहुले उपचार गराउनुको साटो देश फर्काए जहाँ उनकै भर परेर बसेका आमाबुबाले समयमा उपयुक्त निर्णय लिनै सकेनन्।

छिमेकी र आफन्तले विवाह गरिदिए ठीक हुन्छ भनेर सुझाए। सिन्धुपाल्चोक घर भएकी केटीसँग रुद्रबहादुरको विवाह हुने भयो। बुहारी भित्र्याउने खुसी छायो सबैमा। तोकिएको मितिमा जन्ती निस्कियो सर्लाहीबाट। विवाह सुरु भयो। विधिकर्म चलिरहेको थियो। जब कन्यादानको समय भयो रुद्रबहादुर बसिरहेको ठाउँबाट जुरुक्क उठे र दुलहीका बुबालाई भने ‘तेरी छोरी म बिहे गर्दिनँ।’

सबै छाँगाबाट खसेसरह भए। दुलही पक्षलाई कहाँ स्वीकार्य हुनु त्यो वचन? सबै मिलेर रुद्रका बुबा उनबहादुरलाई घेरे। केहीले हातपात गर्न समेत पछि परेनन्। अन्तत: विवाहमा भएको खर्च व्यहोर्ने सहमतिसहित माफी मागेर फर्किए सबै।

त्यसपछि रुद्रबहादुरको अस्वभाविक व्यवहार बढ्दै गयो। उपचारका लागि अस्पताल धाए। राँचीसम्म पुर्‍याए। तर, रुद्रबहादुरको उपचार कतै सफल भएन।

कहिले छिमेकीको घरको झ्याल फुटाइदिने, कहिले गाउँका केटाकेटीलाई पिट्दै हिँड्ने। आफ्नै शरीरको कपडा च्यातेर फाल्दा गाउँले जिब्रो काढ्थे। सबै घटनाक्रमको मानसिक अनि आर्थिक असुलउपर गर्नुपर्‍यो उनका बुबाले। सबैकुरा अनियन्त्रित भएपछि छोरालाई फलामको बारमा थुनेर राख्न बाध्य भएको थियो परिवार।

अनि भयो उद्धार

सडकमा अलपत्र बस्नेहरूको उद्धार गर्दै हिँडेको थियो मानव सेवा आश्रम। उनीहरूलाई संरक्षण दिन खटिएको टोली सर्लाहीको हरिवन पुगेको थियो केही समयअघि।

दुई तले घरको भुईंतलामा थिए रुद्रबहादुर। उनलाई राख्ने चारैतीरबाट फलामे बारले घेरिएको रहेछ। उनको हातलाई फलामे साङ्लोले बाँधिएको थियो। बाहिरबाट डोरीका लठ्ठाले बेरिएको थियो। रुद्रबहादुरले भाग्नका लागि छ महिनादेखि खनेको सुरुङलाई बुबा उनबहादुरले काठको खाटले छेकेका थिए।

उद्धार टोलीले उनको हातको साँङ्लो फुकायो। फलामे खोरबाट बाहिर निकाल्यो। सबैकुरा मौनरुपमा हेरिरहेका रुद्रबहादुर र उनका दाजुहरूको कसैले कपाल काटिदिए, कसैले नुहाइदिए। गाउँलेहरु जम्मा भए।

‘यी केटाहरु पहिले कस्ता राम्रा थिए। सीप पनि भएकै हुन्। नाच्न र बाँसुरी बजाउन जान्दछन्। खोइ कसरी यस्तो रोगी बने,’ उनीहरुमा भएको खुबीबारे सुनाउन थाले।

वंशाणुगत समस्या

बाह्रवर्षदेखि मनोरोगको समस्यमा झेलिएका रुद्रबहादुर दुई वर्षदेखिको फलामे सांङ्लो र फलामकै बारबाट बाहिरिएका थिए। फलामे जीवनबाट स्वतन्त्र भएका उनी उपचारका लागि अस्पतालमा छन्। आश्रमले स्थानीय तहको समन्वयमा मनोरोग उपचारका लागि रुद्रबहादुरलाई तत्कालै मानसिक अस्पताल पाटन पठाइयो। पाटन अस्पालको आकस्मिक कक्षमा भर्ना गरियो। तर एक रात राखेर बेड खाली नभएको भन्दै उनलाई निर्वाण मानसिक स्वास्थ्य केन्द्र लगिएको थियो।

रुद्रबहादुरमा कडा प्रकारको मानसिक रोग ‘स्क्रिजोफेनिया’ भएको बताउँछिन् निर्वाण स्वास्थ्य सेवा केन्द्रकी मनोसामाजिक परामर्शदाता गीता बन्जारा। मानसिक रुपमा रसायनको कमी, पारिवारिक अवस्था र वंशाणुगत गुणका कारण स्क्रिजोफेनिया हुनसक्ने उनले बताइन्। जुन उनको परिवारको वंशाणुगत समस्या नै हो।

रुद्रका साइला दाइ होमबहादुरलाई पहिले देखि नै मानसिक रोग थियो। दुई मनोरोगी भाइहरुको उपचार गर्दागर्दै जेठा छोरा टंकबहादुर पनि मनोरोगको शिकार बन्न पुगे। उनले कमाएको रकमले भइरहेको थियो भाइहरूको उपचार। तर, स्वयं बिरामी परेपछि श्रीमती र ६ सन्तानको जिम्मेवारी पनि टंककै काँधमा आइपर्‍यो।

पैसा सकिँदै गएको र टंकको तनाव बढ्दै गएको बताउँछिन् उनकी श्रीमती देवीका। त्यसपछि छोराछोरी र घरपरिवारका लागि देवीका स्वयंले मेलापात र बाख्रापालन गरेर कमाउन थालिन्। जसोतसो घर धान्दै आएकी छिन्।

रुद्रका दुई दाजु परामर्शका लागि सर्लाहीस्थित आश्रमको शाखा कार्यालयमा छन्। हाल उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बुवा उनबहादुर बताउँछन्।

हुँदैछ सुधार

एकै परिवारका धेरै सदस्यमा मनोरोगको समस्या हुनु वंशाणुगत समस्या भएको बताउँछन् मनोरोग विशेषज्ञ डाक्टर कृष्ण गौतम।

‘एकै परिवारका धेरैमा मनोसामाजिक समस्या हुनु भनेको कुनै वातावरण वा तनावले भन्दा पनि वंशाणुगत नै मुख्य कारण हो, जुन रुद्रलाई भएको छ’ उनले भने।

अस्पताल ल्याएको पहिलो साता रुद्रलाई शान्त बनाउन उपचारमा खटिएकाहरुलाई निकै हम्मे पर्थ्यो। अभद्र व्यवहार देखाउने रुद्रमा गत साताबाट सुधार आएको डा. गौतमको भनाई छ।

बन्जाराका अनुसार रुद्रले जीवनभर औषधी सेवन गर्नुपर्ने हुन्छ। भविष्यमा उनले पूर्ण रुपमा आफ्नो ख्याल राख्न सक्ने वा नसक्ने भन्ने यकिन अहिले नै हुँदैन। रुद्रले व्यक्तिगत व्यवहारलाई नियन्त्रण गर्न सकेमात्र सबैका लागि राम्रो हुने उनको भनाई छ।

अहिले भने रुद्रको व्यवहारमा क्रमिक रुपमा सुधार भइरहेको बताउँछिन् केन्द्रकी नर्स संगीता याक्तेन।

‘औषधी आफै खान, नुहाउन, लुगा धुन सक्ने भएका छन्। ठेगाना भन्न सक्ने भएका छन्। सम्झना शक्ति बढ्दै गएको छ’ उनले भनिन्।

पुस १४ गतेदेखि उपचाररत निर्माण मानसिक अस्पतालले रुद्रको सम्पूर्ण उपचार खर्च निशुल्क रुपमा गरिरहेको छ। उनलाई केहि समय अस्पतालमा राखी थप सुधार भएपछि मानवसेवा आश्रमको शाखा कार्यालयमा राखिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell