भारतको सरकारले सिनेमाघरमा शतप्रतिशत दर्शकसहित संचालन गर्न अनुमति दिएपछि सुस्ताएको बलिउड जुर्मुराउने मुडमा छ। त्यसको असर अब ठूला लगानीका फिल्म रिलिजको होडबाजी सुरु हुँदैछ। बलिउडका ट्रेड विश्लेषकहरु यस्तो होडबाजीले फिल्म उद्योगको आर्थिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नेमा चिन्तित छन्।
आउँदो इदमा जोन अब्राहमको फिल्म सत्यमेवे जयते २ सलमान खानको राधेसँग भिड्दै छ। त्यसको असर दर्शकहरु बाढिँदा देखिने नै छ।
पेन्डेमिकको कारण सडकमा आइपुगेको बलिउड फिल्म उद्योग शत् प्रतिशत अकुपेन्सीमा संचालन हुन पाउने भएसँगै फिल्महरु रिलिजको लाइनमा छन्। त्यसैले कसरी कम क्ल्यास गर्न सकिन्छ भन्नेमा फिल्मकर्मीहरु माथापच्ची गर्न थालेका छन्।
जसरी जोन र सलमानको फिल्म जुध्दैछन्, त्यस्तै हालत छ एसएस राजमौलीको आरआरआर र अजय देवगानको मैदान। साहिद कपुरको जर्सी र आलिया भट्टको गंगुबाइ काठिवाडी पनि एकै समयमा रिलिजका लागि भिडिरहेका छन्।
शाहरुख खानको पठान र आमिर खानको लाल सिंह चड्डा पनि क्ल्यास भए भने अचम्म मान्न पर्दैन।
यति चाहिँ पक्का हो, आर्थिक अवस्था खराब हुन नदिने हो भने बलिउडमा रिलिज डेट व्यवस्थापन अहिले राम्रै चुनौती बनिरहेको छ।
