- पूजा पन्थी-
बुटवल : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस निकट संस्थाहरुले शनिवार देशभर प्रदर्शन गरेका छन्। कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टी निकट १८ संस्थाले सबै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।
जस अनुसार रुपन्देहीमा बुटवलको राजमार्ग चौराहामा प्रदर्शन भएको छ। कांग्रेस निकट संस्थाका नेता कार्याकर्ताले राजमार्ग चौराहदेखि मिलनचोकसम्म सडकको एकापट्टीको लेनमा मुखमा कालो माक्स लगाएर प्ले कार्ड र ब्यानरसहित प्रदर्शन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस विरोध प्रदर्शन उत्रिरहेको हो।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ।
नेपाली कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो। कांग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ।