काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चौदण्डीमाथि आर्मीले ९-० को फराकिलो जित निकालेको हो।
आर्मीको जितमा रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन्। उनले खेलको १९, ५२, ६० र ६३ औं मिनेटमा गोल गरिन्। त्यस्तै शर्मिला थापाले २० र ४० औं मिनेटमा गोल गरिन्। त्यसबाहेक भुजंगा राईले ७८ औं र अञ्जली वाइबाले ८८ औं मिनेटमा गोल गर्दा चौदण्डीकी इमित लेप्चाले अतिरिक्त समयमा आत्मघाती गोल गरिन्।

लगातार सातौ हार ब्यहोरेको चौदण्डी तालिकाको पुछारमा छ। त्यस्तै आर्मी ७ खेलबाट १६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ।
