PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

संरक्षित वन क्षेत्र काँक्रेविहारकै वन्यजन्तु असुरक्षित, 'कम्पाउण्ड वाल' निर्माणमा सरकारी निकायकै ढिलाई



पी बी खड्का

संरक्षित वन क्षेत्र काँक्रेविहारकै वन्यजन्तु असुरक्षित, 'कम्पाउण्ड वाल' निर्माणमा सरकारी निकायकै ढिलाई

सुर्खेत : गएको माघ ४ गते सुर्खेतको बुलबुले तालमा घाइते अवस्थामा जरायो फेला पर्‍यो। स्थानीयका बालीनाली खान आएका बेला उनीहरुले ढुंगामुढा गरेर लखेटेपछि काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालको बीच भागमा फसेको सूचना पाएर डिभिजन वन कार्यालयको टोलीले जीवितै उद्धार त गर्‍यो, तर उपचारका क्रममा मृत्यु भयो।

यसरी नै पछिल्लो समय संरक्षित वन क्षेत्र कांक्रेविहारका वन्यजन्तु मारिने, घाइते हुने र चोरी निकासी हुनेक्रम बढेको छ।

काँक्रेबिहार आसपासको जंगलका वन्यजन्तु असुरक्षित बनेका छन्। काँक्रेबिहार जंगलको क्षमताभन्दा बढी वन्यजन्तु वृद्धि हुँदा पर्खाल तथा तारवारको उचित व्यवस्था नहुँदा असुरक्षित बनेका हुन्।

काँक्रेविहार वन क्षेत्रमा बासस्थान भएका दुर्लभ वन्यजन्तु जरायो, बँदेल, खरायो, मृग, स्यालजस्ता जनावर र मयुर, कालिज लगाएतका चराचुरुङ्गी छन्। संरक्षणका लागि सशस्त्र वन रक्षकको पोष्ट खडा गरिएको छ भने टोल टोलमा संरक्षण समिति बनाइएको छ। तर वन क्षेत्रको उचित घेराबार नहुँदा र संरक्षणको जिम्मेवारी पाएका निकाय चनाखो नहुँदा वन्यजन्तु र चराचुरुङ्गीको चोरी शिकार बढिरहेको छ।

‘काँक्रेविहारको मुल गेटमा जंगलको सुरक्षाका लागि वनरक्षकको सुरक्षा पोष्ट खडा गरिएको छ। वनरक्षकहरुको काम जंगल र वन्यजन्तु रेखदेख गर्नुभन्दा पनि हिरासतमा राखिएका व्यक्तिको रेखदेख मात्रै भएको छ,’ स्थानीय केशव कोइरालाले भने। सुरक्षा पोष्टमा वन कसुरमा संलग्न व्यक्तिहरुलाई राख्ने हिरासत कक्षमा सीमित भएको उनले बताए।

‘वन कार्यालय र डिएफओको ध्यान कांक्रेविहार जंगल संरक्षणमा ध्यानै पुगेको छैन,’ उनी भन्छन्,‘ स्थानीयवासीले पटक पटक ध्यानाकर्षण गरिएपनि चासो दिइएको छैन। जसले गर्दा जंगल र जंगलभित्र रहेका वन्यजन्तु दिन दिनै मासिँदै छन्।’

वन्यजन्तु संरक्षणका लागि उनी खानविन र घेरावारको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ। ‘चरीचरनको अभाव हुदाँ र जंगलको वरीपरी चारैतिर आवाधिक बस्ती भयो जसले गर्दा चरीचरनका लागि बस्ती र बालीमा जाने र मान्छेको आक्रमणमा परी मृत्यु हुने गरेको छ,’ कोईरालाले भने, ‘वन्यजन्तुको लागि खानेपानी, चरीचरन, सुरक्षाका लागि जनशक्ति व्यवस्थापन गर्नुपर्ने देखिन्छ।’

एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहारको वन क्षेत्रलाई २०५९ सालमा पहिलो संरक्षित वन क्षेत्र घोषणा गरिएको थियो। संरक्षित वन काँक्रेविहारलाई बहुवर्षे योजनाअनुसार गुरुयोजना बनाएर कम्पाउण्ड वाल लगाउने योजना छ।

सोही कम्पाउण्ड वालका लागि करिब २१ करोड बजेट विनियोजन गरिएको छ। आर्थिक वर्ष ०७६/०७७ मा टेन्डर गरिए पनि कोरोना भाइरस संक्रमणको कारणले काम अघि बढ्न नसकेको कार्यालयले जनाएको छ भने, अर्कातिर सरकारकै ढिलासुस्तीले काम अघि बढ्न नसकेको हो।

‘प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले क्रमागत अर्थात बहुवर्षे आयोजना अन्र्तगत कांक्रेविहारको कम्पाउण्ड वाल निर्माणको स्रोत सुनिश्चितताको पत्र नपठाएकाले टेण्डर स्वीकृतीको प्रक्रियामा ढिलाई भएको छ,’ डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी टेकबहादुर रावलले भने, ‘पटक पटक ताकेता पत्र पठाउँदा पनि स्रोत सुनिश्चितताको पत्र आउन ढिलाई हुदाँ काम अघि बढाउन नसकिएको हो।’

गुरुयोजना अनुसार चार फिटसम्म इट्टाको र इट्टाको पर्खाल माथि ग्रिलको पर्खाल हुने छ। करिव १५ फिट अग्लो हुने छ। एउटा मुख्य गेट र अन्य दुई वटा इमर्जेन्सी गेट निर्माण गरिने छ।

काँक्रेविहार वन क्षेत्रको चारैतिर बस्ती विकास हुँदा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको त छ नै, त्यसमाथि वन रक्षकको दरबन्दीअनुसार जनशक्ति नहुँदा पनि समस्या देखिएको छ।

वन डिभिजन कार्यालयका अनुसार हाल कार्यालयमा २३ जना वनरक्षकको दरबन्दी भएपनि ११ जना रहेका छन्।यसरी आवश्यकता भन्दा न्युन जनशक्ति हुदाँ गस्ती गर्नै नसकिएको कार्यालयको भनाईछ । ‘दरबन्दी अनुसारको जनशक्ति नै छैन,’ सूचना अधिकारी रावल भन्छन्, ‘दुई चार जना वन रक्षक, जिल्लामा बस्ने कि? काँक्रेविहारको चेकपोष्टमा बस्ने? जंगलको निगरानी गर्ने? निकै समस्या छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell