PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बुवाको देहान्तपछि पनि अविचलित भागरथीको अधुरै रह्यो सरकारी जागिर खाने सपना



एम बम

बुवाको देहान्तपछि पनि अविचलित भागरथीको अधुरै रह्यो सरकारी जागिर खाने सपना

कैलाली : गत पुस ७ गते बुवाको देहावसान भएपछि घर मूलीको जिम्मेवारी १७ वर्षीया भागरथी भट्टको काँधमा आइपुग्यो। १७ वर्षकै उमेरमा उनको परिपक्वता र लगनशीलता देखेर गाउँ नै अचम्मित थियो। दीर्घ रोगले ग्रसित बुवाको मृत्युपछि पनि विचलित नभएर आमा र दाइको समेत सहारा बनेकी भागरथीको सपनामाथि गत २१ गते बुधवार तुषारापात भयो। विद्यालयबाट घर फर्किने हतारोमा रहेकी भागरथी कहिल्यै नफर्किने भइन्।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी गाउँको सनातन धर्म माध्यमिक विद्यालयमा व्यवस्थापन सङ्काय अन्तर्गत १२ कक्षामा लेखा विषय लिएर अध्ययनरत थिइन्। उनका काका पर्ने छिमेकका शिवराज भट्टका अनुसार भागरथीका बुवाको मृत्युपछि परिवारको सहारा नै उनी थिइन्।

‘दाजु (भागरथीका बुबा)को मृत्यु पछि शोकमा डुबेकी भाउजू (भागरथीकी आमा) र भतिजा केशवराज भट्ट (भागरथीका दाइ)को एक्ली सहारा थिइन् उनी’, उनले भने, ‘पढाइका लागि चडेपानीबाट लेखा विषय पढ्न जाने उनी मात्रै एक्ली विद्यार्थी थिइन्। एक्लै आउजाउ गर्नुपर्ने लामो तथा जङ्गलको बाटो भएका कारण उनको हत्या गरियो।’

उनका अनुसार भागरथीले गाउँबाट विद्यालय जान दिनदिनै एक घण्टा जाने बेला र सवा घण्टा आउनेले बेला पैदल हिड्नुपर्थ्यो। जाने समयमा बिहान अरू विद्यार्थी पनि हुने तर फर्किँदा उनको विषय फरक भएकाले अरूभन्दा पौने घण्टा अघि नै घर फर्किन्थिन् भागरथी।

‘घर परिवारमा सबैभन्दा जिम्मेवार, जस्तो सुकै समस्याबाट बिचलिन नहुने उनको स्वभाव थियो’, उनले भने, ‘पढाइमा राम्रो गर्दै गएकी भागरथीको सरकारी जागिर खाने धोको अधुरै रह्यो।’

गत बुधवार गाउँपालिकाको केन्द्रसमेत रहेको विद्यालय नजिकैको खोचलेक बजारमा २ बजे देखिएकी उनी त्यसपछि दोस्रो दिन मृत फेला परिन्। गाउँका भाइहरूलाई सँगै जाऊ भनेकी उनी जाने कोही नपाएपछि एक्लै घर आउन हिँडेकी थिइन्।

दोस्रो दिन विद्यालयबाट अनुमानित साढे दुई किलोमिटर र घरबाट डेढ किलोमिटरको बीचमा वीभत्स हत्या गरिएको अवस्थामा उनको शव फेला परेको भट्टले बताए।

‘सडकबाट २० मिटर तल जुत्ता र ३५ मिटर तल शव फेला परेको थियो। घुँडासम्म कपडा खोलिएको, मुख, घाँटी लगायतका ठाउँमा दाँतले काटेको, मुख च्यापेको जस्तो देखिएकोले बलात्कारपछि हत्या भएको हुन सक्ने हाम्रो आँकलन हो। प्रशासनले निष्पक्षताका साथ यथाशक्य अनुसन्धान गरिदेओस् भन्ने हाम्रो माग छ’, उनले पहिलोपोस्टसँग भने।

उनले भने, ‘बाटो भन्दा तलको झार लछारपछार भएको तथा खुट्टाका दुई औँलासमेत चोइटिएको हुनाले ठूलै संरक्षण भएको अथवा हिम्मत भएको व्यक्तिको सिकार बनेकी हुनुपर्छ उनी। अथवा घटनास्थल हेर्दा एकभन्दा बढी व्यक्तिको पनि संलग्नता थियो होला कि भन्ने हाम्रो बुझाइ छ।’

उनको योनीबाट समेत रगत बगेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

‘क्राइम सिन हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो देखिएको छ’, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘पोस्टमार्टम रिपोर्टअघि नै यो कारणले मृत्यु भएको हो भन्न सकिने अवस्था छैन। तर, हामीले गम्भीर रूपमा अनुसन्धान गरिरहेका छौँ। घटनास्थल लगायत त्यहाँ आसपासमा सोधपुछ गर्ने कायैमा एसएसपी लगायत सीआइबीका डीएसपी सहितको टोलीले काम गरिरहेको छ।’

शनिवार किशोरीको पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ। तर उनको शव  भने नबुझेको भागरथीका काका शिवराजले जानकारी दिए। उनको भेजाइनल स्वाबसमेत सङ्कलन भइसकेको छ। बुधवार हराएकी भागरथीको एक हात छातीमा रहेको र उत्तानो परेको अवस्थामा बिहीवार शव फेला परेको थियो। तालिम प्राप्त कुकुरसहित घटनाको अनुसन्धान गरिरहेको प्रहरीले उनको मृत्युको कारण अझै यकिन गर्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell