PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

ओली समूहमा प्रवेश गरेको तीन दिन नबित्दै बाराका नेता माफी माग्दै फर्किए प्रचण्ड - माधवतिरै



राधेश्याम पटेल

ओली समूहमा प्रवेश गरेको तीन दिन नबित्दै बाराका नेता माफी माग्दै फर्किए प्रचण्ड - माधवतिरै

वीरगंज : नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई समूहमा विभाजन भएपछि जिल्ला तहमा कुन समूहमा बस्ने र राजनीति गर्ने भन्ने विषयमा अलमल देखिएको छ। उनीहरु कहिले ओली समूहतिर पुगेका छन् त कहिले प्रचण्ड– माधव समूहमा फर्किने गरेका छन्। नेकपा बाराका जिल्ला सचिव  तथा प्रदेश २ का प्रदेश सांसद सुन्दर विश्वकर्माले पनि ढुलमुले प्रवृत्ति देखाएका छन्।

तीन दिनअघि उनी जिल्ला अध्यक्षको लोभमा ओली समूहको नेकपामा गएको बाराका नेकपाको राजनीतिमा चर्चा चुलिएको थियो। तर दुई दिन नबित्दै उनी फेरी पुरानै खेमामा फर्केको समाजिक सञ्जाल फेसबुकमार्फत आफैले दाबी गरेका छन्। ओली पक्षतिर जिल्ला अध्यक्ष पद पाउने आश्वासनमा लागे तापनि विश्वकर्माले अध्यक्ष पद पाउने अवस्था नदेखिएपछि पुनः प्रचण्ड–माधवतिरै फर्केका हुन्।

त्यसो त उनले आफू ओली समूहमा गएकोमा माफी समेत मागेका छन्। ‘नेकपा दुई समूहमा विभाजित हुँदा दुःख व्यक्त गर्दै दुबै तिर आफ्नै प्रिय कमरेडहरु छन्, कता लागौ भन्ने निर्णय गर्न कठिन भयो, केही समय मन अस्थिर रह्यो, आखिर आज पार्टीको मुलधार माधव–प्रचण्ड समूहमै रही सक्रिय हुने निर्णय गरेको छु, मेरो कारणले आदरणीय नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक कमरेडहरुमा पर्न गएको अन्यौलताप्रति आत्मालोचित हुँदै क्षमा चाहन्छु।’

तीन दिन अगाडि विश्वकर्मा नेकपा प्रदेश नम्बर २ का ईन्चार्ज तथा प्रमुख सत्यनारायण मण्डल, केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल र नेकपा केन्द्रीय सदस्य बद्रीप्रसाद भट्टराईको उपस्थितिमा ओली पक्षतिर समावेश भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell