PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

भागरथीको हत्या : घटनास्थलले संकेत गर्छ बलात्कारपछि मारिइन् उनी, प्रहरीमाथि चर्को दवाव



सविन ढकाल

भागरथीको हत्या : घटनास्थलले संकेत गर्छ बलात्कारपछि मारिइन् उनी, प्रहरीमाथि चर्को दवाव

काठमाडौं : बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा मृत अवस्थामा फेला परेकी १७ वर्षीय भागरथी भट्टको अनुसन्धान प्रहरीको लागि चुनौतपूर्ण बन्दै गएको छ।

घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरीलाई चौतर्फी दवावका परिरहेको छ। घटनाको अध्ययनका लागि सुदूर पश्चिम प्रहरी कार्यालयले एसएसपी जनकराज पाण्डेको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिसकेको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय बैतडीबाट पनि डीएसपीको नेतृत्वमा अनुसन्धान भइरहेको छ। केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी पञ्चकुमार बाखु पनि घटनास्थल पुगेका छन्। डीएसपी बाखु पछिल्लो समय ब्युरोबाट निर्मला पन्तको अनुसन्धानमा खटाइएका प्रहरीसमेत हुन्।

२०७५ साउन १० गते कञ्चनपुरमा भएको १३ वर्षीय निर्मला पन्तको हत्यापछि बलात्कार घटनाले प्रहरीलाई धेरै कुराको सवक सिकाएको छ। त्यसैले, यस्ता प्रकृतिका घटनालाई प्रहरी पछिल्लो समय निकै संवेदनशील रुपमा हेर्दै आएको छ। घटनाको जानकारी लिन आज सुदूरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि घटनास्थलतर्फ जाँदै छन्।

गत बुधवार दिउँसो घरबाट करिब ५ किलोमिटरको दुरीमा रहेको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी स्थित सनातन धर्म माध्यमिक विद्यालयमा फर्किने क्रममा भागरथी बेपत्ता भएकी थिइन्। भोलिपल्ट नजिकैको जङ्गलमा उनको शव फेला परेको थियो। शव घर र विद्यालयको करिब बिच भागमा रहेको जङ्गलमा भेटिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारपछि हत्या भएको देखाएको छ। तर, पोस्टमार्टम रिपोर्ट सार्वजनिक नगरिएकाले यसै भन्नसक्ने अवस्था छैन। शनिवार किशोरीको पोस्टमार्टम गरिएको छ। प्रहरीले घटनाको मुचुल्का गर्दा शवमा चोट तथा नीलडाम देखिएको थियो भने योनीबाट रगत बगेको भेटिएको थियो।

'योनीबाट रगत बगेको थियो। टाउकामा चोट र घाटीमा नील डाम थियो,' घटनास्थल पुगेका प्रहरी निरीक्षक जनकबहादुर धामीले भने।

घटनाको अनुसन्धान गर्न धनगढीबाट प्रहरीको तालिम प्राप्त कुकुर समेत झिकाएको थियो। तर, पानी परेकाले कुकुरले खासै सङ्केत भने दिन सकेन। घटनास्थल नजिकैबाट प्रहरीले भागरथीले प्रयोग गर्दै आएको मोबाइल फोनसेट फेला परेको थियो। मोबाइल फोनमा केही कलहरू आएको देखिएको छ। प्रहरीको टेक्निकल टिमले मोबाइलको अनुसन्धान गरिरहेको छ। घटनास्थलमा बीटीएसको आधारमा पनि अनुसन्धान गर्छ। तर, गाउँ भएकाले बीटीएसबाट नै अनुसन्धान गर्न सजिलो भने हुँदैन। मृतकको फोनमा आएका कल र म्यासेजलाई केलाउँदा केही खुल्न सक्ने भएकाले टेक्निकल टिम लागिपरेको हो।

'मोबाइल फेला परेको छ। त्यसले केही अनुसन्धानलाई ट्र्याक गर्छ कि भनेर हेरिरहेका छौँ,' अनुसन्धानमा खटिएका एसएसपी जनकराज पाण्डेले भने।

अहिलेसम्म प्राप्त जानकारीअनुसार उनी करिब २ बजेतिर विद्यालयबाट घरतिर लागेकी थिइन्। तर, साँझसम्म घर नपुगेपछि उनको खोजी सुरु भएको थियो। उनी फर्किने बाटो जङ्गल र एकान्त छ। बिहीवार साँझ बाटोभन्दा करिब ७० मिटर तल रहेको खोचमा उनको शव फेला परेको हो। सँगै उनको झोला समेत भेटिएको छ। जहाँ शव भेटियो, त्यहाँ घिसारिएका संकेतहरु पनि मिलेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अनुसन्धानको क्रममा घटनास्थल प्राइमरी नै हो या होइन भन्ने यकिन गर्न सकेको छैन। शव भेटिएको ठाउँभन्दा केही पर झाडी माडिएको देखिन्छ। त्यसैले हत्या त्यही ठाउँमा भयो या हत्या भएपछि शव ल्याएर त्यहाँ फ्याँकिएको हो भन्न सकिने अवस्था छैन। बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक आँकलनले देखाए पनि त्यो सामूहिक थियो या थिएन भन्ने खुल्ने आधार अझै पहिचान हुन सकेको छैन।

उनले बोक्ने झोला मृतकको पिठ्युँमा नै रहेकाले मृत्यु भइसकेपछि ल्याएर फ्याँकेको हुनसक्ने पनि देखिन्छ। शरीरको तल्लो भागमा लुगा आधी खुला छ भने उनले लगाएको सर्टको टाँक खोलिएको छ। शरीरमा दाँतको डोब समेत रहेकाले बलात्कार भएको पुष्टि हुने अनुसन्धानमा खटिएकाहरुको तर्क छ।

प्रहरीले अनुसन्धानका क्रममा ८ जनाभन्दा बढीलाई सोधपुछ गरेर कागज गराएर छाडेको छ। उनीसँगै पढ्ने साथीभाइ, शिक्षकहरूसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ।

कञ्चनपुरमा १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुईवर्ष पूरा भइसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन। भागरथीको घटना निर्मलाको झैं हुने को कि भनेर मृतकका आफन्तले शव बुझ्न मानेका छैनन्।

'प्रहरीले अनुसन्धान त गरिरहेको छ तर सरकार बेखबर जस्तो अनुभूति भइरहेको छ,' मृतकका काका शिवराज भट्टले भने, 'प्रमाण लोप होला कि भन्ने डरले पनि शव नबुझेका हौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell