PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'केपी बा आइ लभ यू' पछि गुञ्जियो अर्को चर्चित नारा 'केपी ओली वी हेट यू'

'केपी बा आइ लभ यू' पछि गुञ्जियो अर्को चर्चित नारा 'केपी ओली वी हेट यू'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको चर्चित नारा हो - केपी ओली आइ लभ यू। नेता महेश बस्नेतको नेतृत्वमा माघ २२ गते निस्केको युवा संघको र्या लीमा केपी ओलीलाई 'आइ लभ यू' भन्दै नारावाजी भयो। २३ गतेको र्‍यालीमा आउनेहरुले पनि यही नारालाई जारी राखे। 

तर, आज सिंहदरबार अगाडि भने ठीक यही नाराको विरुद्धमा आवाज सुनियो। चर्कै थियो नारा - केपी ओली, वी हेट यू। 

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी दुई खेमा विभाजित भएको छ। पक्षमा रहेकाहरु ओलीका हरेक कदमको स्वागतमा जुटिरहेका छन् भने विपक्षमा रहेकाहरु हरेक कदमको विरोधमा। प्रधानमन्त्री नेतृत्वको नेकपाको शक्ति प्रदर्शनमा ओलीको जयजयकार पनि भव्य रुपमा भयो। कार्यक्रमस्थलमा ओलीको फोटो टाँगिएको थियो भने ओलीलाई राजनेता भन्दै सम्बोधन गरिएको थियो।

ओली पक्षीय नेताले उनलाई राजनेताको रुपमा व्याख्या गरिरहँदा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले उनीमाथि प्रयोग गर्ने शब्द हो - प्रतिगमनकारी। ओलीलाई सत्तबाट हटाउन भन्दै प्रचण्ड नेपाल समूहले पनि शक्ति प्रदर्शनलाई अस्त्रका रुपमा प्रयोग गरिरहेको छ। यसैको निरन्तरता स्वरुप माघ २८ गते काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ। 

आइतवार भने गैर सत्ताधारी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सिंहदरबार अगाडि प्रदर्शन गरेको छ। त्यही प्रदर्शनमा हो ओलीलाई 'वि हेट यू' भन्दै नारावाजी भएको। 

ओलीलाई विरोधपत्र बुझाउन भन्दै अनेरास्वियुका सह संयोजक रन्जित तामाङको टोलीअगाडि बढेको थियो। तर, यो टोलीलाई ओलीले किन भेट्थे र?

त्यसैले हनुमानथानमा विरोध सभालाई सम्बोधन गर्दै तामाङले ओली हनुमानहरुबाट घेरिएको बताए।

'हनुमानगिरीबाट घेरिनुभएको छ। साइबर स्यालबाट घेरिनु भएको छ। २० जना छोरा छोरीले तपाईँलाई आइ लभ यू भनेर गद्दारी गरेका छन्। यस म्यानबाट घेरिनुभएको छ,' तामाङले भने, 'तपाईँलाई प्रम बनाउने हामी पनि हो। हिजो हाम्रो भोट चाहियो तर तपाईँलाई आज हामी चाहिएन।' 

ओलीले ज्ञापनपत्र बुझ्नेसम्मको हिम्मत नदेखाएर कायर बनेको तामाङले आरोप लगाए। 'तपाईँ देशमा हुनुहुन्न भने तपाईँका मतियारलाई ज्ञापनपत्र बुझ्न अनुरोध गर्छु,' उनले भने। ओलीले राजनीतिलाई काठमाडौंको ढलभन्दा गन्हाउने बनाएको तामाङको तर्क थियो।
उनीहरुले विरोधपत्रलाई होडिङ बोर्ड आकारको बनाएर प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell