PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओली पक्षका सांसदद्वारा प्रदेश १ संसद अवरुद्ध : अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न शेखरको दबाब, देउवाले बोलाए सांसदलाई काठमाडौं  



अनन्तराज न्यौपाने

ओली पक्षका सांसदद्वारा प्रदेश १ संसद अवरुद्ध : अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न शेखरको दबाब, देउवाले बोलाए सांसदलाई काठमाडौं  

विराटनगर: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदहरुले विरोध गर्दै प्रदेश नम्बर १ को संसद अवरुद्ध गरेका छन्। फागुन ९ गतेसम्मका लागि संसद बन्द गराउन सत्तारुढ दलका सांसदहरु नै अग्रसर भए।

'हाम्रो संसदीय दलको नेता शेरधन राई हो। उहाँले १६ जनालाई कारवाही गरेर निलम्बन गर्नुभएको छ। उहाँहरु संसदमा रहेसम्म संसद अवरुद्ध गर्छौं,' प्रदेश एकका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सचेतक बुद्धिकुमार राजभण्डारीले भने।

प्रदेशका मुख्यमन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका शेरधन राईविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका ४२ सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। तीमध्येका १६ जनालाई मुख्यमन्त्री राईले कारवाही गरेका थिए।

'उहाँ (१६ जना सांसद)लाई आउन दिनुहुन्न। उहाँहरुलाई ३ महिनालाई निलम्बन गरिएको छ,' राजभण्डारीले भने।

आज सत्तारुढ दलका ६ सांसदले प्रदेश संसदको बैठक अवरुद्ध गरेका थिए। 'हाम्रो पार्टी कानुनीरुपमा फुटेको छैन। उहाँहरु रहेसम्म बैठक हुन दिँदैनौं,' उनले भने।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै नेकपाको फुट सुरु भएको हो। त्यसको असर प्रदेशसभामा पनि देखिएको हो।

'भौतिक रुपमा हामी उहाँहरुलाई रोक्दैनौं। कानुनी रुपमा लड्छौं,' राजभण्डारीले भने।

उनका अनुसार राजनीतिक रुपमा दलको टुंगो नलागेसम्म संसदीय दलको बैठक पनि बोलाइने छैन।

काँग्रेसको लाइन !

सत्तारुढ दलबिच नै चर्को विवाद रहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा पनि दुई लाइन प्रस्ट देखिएको छ।

नेता शेखर कोइराला विराटनगरमा नै रहेर अविश्वासको प्रस्तावको पक्षमा मत हाल्नुपर्नेमा दवाव दिइरहेका छन्। त्यसैबिच पार्टी सभापति शेरबहादुर देउवाले भने प्रदेशका सांसदहरुलाई काठमाडौं डाकेका छन्।

देउवाले प्रदेशसभाका सांसदलाई काठमाडौं डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबिचको सम्बन्ध सधैं चर्चामा रहँदै आएको छ। देउवा ओलीको पुस ५ को कदमविरुद्ध उत्रिएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell