PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्लोज क्याम्पका कान्छा खेलाडी : जसले पीएम कपमा देखाएका थिए ब्याटिङको जादु



समर्थ रञ्जित

क्लोज क्याम्पका कान्छा खेलाडी : जसले पीएम कपमा देखाएका थिए ब्याटिङको जादु

काठमाडौं: १५ वर्षीय अर्जुन कुमाल शनिवार काठमाडौं आए राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन्। नेपाल क्रिकेट संघ क्यानले माघ २२ गते आईसीसी सीडब्लुसी लिग २ अन्तर्गतको ओमन सिरिजका लागि ३२ खेलाडीको नाम सार्वजनिक गर्दा कुमाल पनि टिममा परेका थिए।

नेपाली क्रिकेट टोलीबाट उमेर समूहमा समेत प्रतिनिधित्व गरिसकेका कुमालले आजबाट राष्ट्रिय टिमको क्याम्पमा अभ्यास सुरु गरे।

अघिल्लो हप्ता सम्पन्न प्रधानमन्त्री कपमा उनले गण्डकी प्रदेश खेलेका थिए। प्रतियोगितामा गण्डकीको प्रदर्शन राम्रो हुन नसकेपनि व्यक्तिगत रुपमा कुमालले उत्कृष्ट प्रदर्शन गरेर सबैको ध्यान तान्न सके। पीएम कपमा गण्डकी प्रदेशका लागि सर्वाधिक रन बनाएका उनले ४ खेलमा ११७ रन बनाए। प्रतियोगितामा कर्णालीविरुद्ध ४६, प्रदेश १ विरुद्ध ३५ र त्रिभुवन आर्मी क्लबविरुद्ध ३६ रन जोडेका थिए उनले।

त्यसैले त उनी कलिलो उमेरमै राष्ट्रिय टोलीको क्याम्प सम्म बोलाइए।

कुमालको पैत्रिक घर गुल्मी भए पनि उनी भारतको नयाँदिल्लीमा बुवाआमासँगै बस्दै आएका छन्। उनी उतै क्रिकेट सिकेर नेपालमा प्रधानमन्त्री कप देखि उमेरसमूहमा राष्ट्रिय टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका छन्।

नेपाली भाषा बोल्न नजाने पनि उनी बुझ्न भने स्पष्टसँग बुझ्छन्। हिन्दी या त अंग्रेजीबाट जवाफ दिन्छन्।

'म हिजो काठमाडौं आएको। राम्रो लागिरहेको छ सिनियर खेलाडीहरुसँग अभ्यास गर्न पाउँदा,' टियू क्रिकेट मैदानमा अभ्यास गर्न पुगेका कुमालले भने, 'टिममा पर्ने भन्ने सोचेको थिइन। नाम आएपछी थाहा भयो।'

सिनियर खेलाडीहरु र उत्कृष्ट कोचसँग सिक्न पाउँदा ब्याटिङमा अझै सुधार गर्नेमा उनी आशावादी सुनिए। उनी भन्छन्: एकदमै उत्साहित छु।

उनले पहिलो दिनको अभ्यासको अनुभव सुनाउँदै 'केही तेज हुनका लागि' कोचले भनेको सुनाए।

उनीले अहिले राम्रो गर्न सके यू १९ बाट खेल तिखार्दै राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाउने सपना देखेका रहेछन्।

'यहाँ रन बनाएँ भने राष्ट्रिय टिममा पर्छु होला,' मुस्कुराउँदै कुमालले भने 'नेपाली टिमबाट खेल्ने मेरो लक्ष्य छ,' कुमालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell