PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कांग्रेसलाई अदालतको फैसला मञ्जुर छ : विमलेन्द्र निधि



राधेश्याम पटेल

कांग्रेसलाई अदालतको फैसला मञ्जुर छ : विमलेन्द्र निधि

वीरगंज : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा अदालतको फैसलालाई आत्मसात गरेर जाने बताएका छन्। वीरगंज-२८ बगहीमा आयोजित पार्टीको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले अहिलेको संकटको अवस्थालाई निकास दिन सर्वोच्च अदालतको बाटो कुरेर पार्टीले आफ्नो आगामी रणनीति बनाउने काममा लागेको बताएका छन्।

‘जसरी पनि प्रतिनिधिसभा जिवित बनाउनु पर्छ, यदि सर्वोच्च अदालतले फैसला गरेर पुनर्स्थापना भयो भने त्यो पनि स्वीकार छ, यदि संसद पुनर्स्थापनाको पक्षमा फैसला नगरे आगामी चुनावमा जान पनि पार्टी तयार रहेको छ’, उनले नेता कार्यकर्ताहरुलाई निर्देशन दिँदै भने, ‘जनताको मतबाट प्रतिनिधिसभा निर्वाचित भएको थियो, लोकतन्त्रको लागि प्रतिनिधिसभा जसरी पनि मर्नु हुँदैन, बाचिरहनु पर्छ।’

नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवले केपी ओलीलाई ‘बाघको छाला ओढेको गधा’ भएको संज्ञा दिइन्। उनले आफ्नो बालहटको लागि देशलाई दुर्घटनामा पुर्‍याएको आरोप लगाइन्।

‘ओली जीले मैं ठीक हुँ बाँकी सबै बेठीक, जे पनि गरिदिन्छु, राष्ट्रपतिले लालमोहर लगाइदिनु हुन्छ भनेर असंवैधानिक कदम चाल्दै गएका छन्’, उनले भनिन्, ‘उनले जनताले दिएको दुई तिहाई बराबरको प्रतिनिधि सभालाई भंग गरेर अब जनताको मत किन चाहियो, राष्ट्रपतिले सबै कुरा दिइहाल्नु हुन्छ नी।’

कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले ओलीले देशलाई बर्बाद गरेको आरोप लगाए। उनले जनताले भारी बहुमतले जिताएको प्रधानमन्त्रीले संविधानमा नभएको धारा उल्लेख गरी गलत किसिमले संसद भंग गरेको बताएका छन्। उनले संविधानमा संसद भंग गर्ने अधिकार कहिँ कतै उल्लेख नभएकोले सर्वोच्चले पनि त्यही संविधान पल्टाएर सही फैसला दिनेमा आफू विश्वस्त रहेको बताए।

उनले मधेस नेपाली कांग्रेसको प्राण भएको र नेपाली कांग्रेसको पालामा मधेसका धेरै जनताले नागरिकता पाएको चर्चा गरे। उनले सात वटा प्रदेशमध्ये सबैभन्दा बढी भ्रष्ट सरकार प्रदेश २ कै सरकार भएकोले मधेसवादी दल जसपाबाट पनि जनताले सचेत हुनु पर्ने धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell