स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसमाथि जित निकालेको छ। बेनिटो भिल्लामारिन स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-२ गोल अन्तरले जित निकालेको हो।
खेलमा घरेलु टोलीका बोर्जा इग्लेसिआसले गोल गर्दै अग्रता बनाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको बार्सिलोनालाई लियोनल मेस्सीले बराबरीमा ल्याए। उनले खेलको ५९ औं मिनेटमा ओस्माने डेम्बेलेको पासमा गोल गर्दै खेल बराबरी ल्याए। त्यस्तै बेटिसका भिक्टर रुइजले ६८ औं मिनेटमा आत्मघाती गोल बार्सिलोनाले अग्रता बनायो। तर रुइजले नै ७५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। उता बार्सिलोनाका लागि ८७ औं मिनेटमा फ्रान्सिस्को ट्रिनकाओले गोल गरे जुन बार्सिलोनाको जितका लागि निर्णायक बन्यो।
जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। २१ खेलबाट समान ४३ अंक जोडेका बार्सिलोना र रियल मड्रिड अंकतालिकामा क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। शीर्षस्थानको एट्लेटिको मड्रिडले १९ खेलबाट ५० अंक जोडेको छ।
