PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मैदानबाट क्रिकेट प्रशिक्षक व्हाटमोरको 'अब्जरबेसन्' : खेलाडीमा थप सिक्ने भोक छ, मेरो टाउकोमा सिकाउने जिम्मेवारी



मुकुन्द घिमिरे

मैदानबाट क्रिकेट प्रशिक्षक व्हाटमोरको 'अब्जरबेसन्' : खेलाडीमा थप सिक्ने भोक छ, मेरो टाउकोमा सिकाउने जिम्मेवारी

काठमाडौं: शनिवारबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भयो। यसपटकको बन्द प्रशिक्षणमा दुई कुरा विशेष गरी फरक थियो, पहिलो १० जना सिनियर खेलाडी बिनैको बन्द प्रशिक्षण अनि अर्को नवनियुक्त प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षण।

मैदानमा पुग्दा व्हाटमोर खटिएका थिए प्रशिक्षणमा। कतिबेला उनी नेटमा खेलाडीले गरेको ब्याटिङ लाई हेरिरहेका हुन्थे त कतिबेला बलरलाई टिप्स दिँदै हुन्थे। बाँकी समय राष्ट्रिय टोली सम्हालिसकेका जगत टमाटासँग छलफल गरिरहेका हुन्थे। त्यस्तै फिजियो विक्रम न्यौपानेसँग खेलाडीका बारेमा जानकारी लिइरहेका पनि हुन्थे। उनी त्यहाँ केही टिपोट पनि गराइरहेका थिए। अझ भनौ कुराकानीका लागि आधा घन्टाको समय निकाल्न पनि मुस्किल थियो उनलाई। नजर सबैतिर दौडाइरहेका थिए। प्रधानमन्त्री कपदेखि नै खेलाडीमा नजर राखेका व्हाटमोरलाई प्रत्येक खेलाडीको स्किल हेरेर फिडब्याक दिन हम्मेहम्मे परिरहेको थियो।

खेलाडीहरु पनि उनको फिडब्याक पर्खिएरै बसेका थिए। अभ्यासका क्रममा पृथु बास्कोटा र विवेक यादवसँग छोटो कुरा हुँदा उनीहरुले कोचसँग टेक्निकल कुराहरु सोध्नका लागि पर्खिरहेको बताए। हुन पनि ह्वाटमोर त्यहाँका खेलाडीहरुको स्किललाई नियाली रहेका थिए। साढे १२ मा अभ्यास स्थलमा पुग्दा प्रधानमन्त्री कपमा गण्डकी प्रदेशबाट खेलेका अर्जुन कुमाल नेटमा ब्याटिङ गरिरहेका थिए। व्हाटरमोरले बलर फेरिफेरि बलिङ गर्न लगाए। सँगसँगै उनीको सानो सानो कुरामा पनि व्हाटमोर फिडब्याक दिइरहेका थिए। अर्जुनको पालो पनि उनी बाहिर आए। उनलाई पनि प्रशिक्षकले फिडब्याक दिए। सिनियर खेलाडीलाई पछि बोलाउने निर्णय त्यहाँको दृश्य हेर्दा सार्थक देखिन्थ्यो। राष्ट्रिय टिममा पुनरागमन गर्न खोजिरहेका र पहिलो पटक राष्ट्रिय टिमको ढोक ढक्ढकाउन आइपुगेका सबै खेलाडीका लागि सिक्ने एउटा राम्रो अवसर थियो थियो भने प्रशिक्षकका लागि खेलाडी नजिकबाट पर्गेल्ने।

हुन त ह्वाटमोर नेपाल आएका प्रधानमन्त्री कपकै समयमा हो। नेपाल आएर क्वारेन्टिन पुरा गरेर माघ ९ गते मिडियासँग सार्वजनिक भएका थिए। सुरुमै उनले नेपाली टिमको प्रशिक्षण सम्हाल्नु एउटा चुनौती भएको भन्दै त्यसका लागि आफू तयार रहेको बताएका थिए।

‘नेपाली क्रिकेटलाई माथि लैजाने अपेक्षासहित म नेपाल आएको छु। म यहाँ खुशी छु। च्यालेन्ज उठाउन पाउँदा खुशी छु,’ उनले भनेका थिए, ‘म चुनौती लिएरै आएको हो। यहाँ प्रशिक्षकका रुपमा आउनु कम चुनौती होइन।’

उनी त्यसयता कहिले मुलपानी मैदानमा त कहिले टियू क्रिकेट मैदान परिसरमा प्रधानमन्त्री कपका खेलहरु नियालीरहेका देखिन्थे।

‘मैले प्रधानमन्त्री कप हेरेँ। तर त्यतिबेला भन्दा अहिले नेटमा बढी नजिकबाट उनीहरुलाई हेरिरहेको छु।’ शनिवारदेखि टीयू क्रिकेट मैदानमा खेलाडीहरुलाई प्रशिक्षण गराउन ब्यस्त व्हाटमोरले भने, ‘सिनियर खेलाडीहरु क्याम्पमा मिसिनुभन्दा अघि यी खेलाडीहरुलाई अझै केही दिन हेर्नेछु।’

क्यानले ३२ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि ‘लिस्टिङ’ गरे पनि प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका २१ जना खेलाडीलाई २४ गतेबाटै र बाँकी १० जनालाई केही समयपछिबाट प्रशिक्षणमा बोलाउने निर्णय गरेको थियो। यसको पछाडि प्रशिक्षक व्हाटमोरलाई नयाँ खेलाडीको स्किल बुझ्न समय मिलाएको रुपमा हेर्न सकिन्छ।

‘यो पहिलो स्क्वाड हो। यो सानो क्याम्पको आज दोस्रो दिन हो। हामी अहिले खेलाडीहरुलाई खेलाएर उनीहरुको स्कील हेरिरहेका छौं। यो मेरोलागि ठूलो अवसर हो, यी खेलाडीहरुलाई हेर्नु,’ व्हाटमोरले खेलाडीबारे टिप्पणी गर्दै भने, ‘केही ट्यालेन्ट पनि छन्। सबैभन्दा ठूलो कुरा सबैजना सिक्नका लागि उत्सुक छन्। सबै आफूलाई सुधार गराउन उत्सुक छन्। र उनीहरुलाई त्यो सिकाउने जिम्मा मेरो टाउकामा छ। मसँग भएको ज्ञान उनीहरुलाई दिनेछु।’

यद्यपि तत्कालाई अभ्यास म्याच गराउनेभन्दा पनि नेटमै खेलाडीहरुको स्किल हेर्ने र तिखार्ने मोडमा देखिए व्हाटमोर। उनले काठमाडौं महानगरपालिकाको प्रायोजनमा हुन गइरहेको मेयर कप अहिले अभ्यासमा रहेका खेलाडीहरुलाई ओमन सिरिजअघि आफ्नो स्किल प्रमाणित गर्ने मौकाको रुपमा प्रयोग गर्ने मौकाको रुपमा हेरेको देखियो।

त्यस्तै केही नयाँ खेलाडीहरुले पनि राष्ट्रिय टिममा स्थान बनाउने सम्भावना भए पनि त्यसबार केही कुरा भनिहाल्नु हतारो हुने उनले बताए।

‘सम्भावना छ केही युवा खेलाडी पनि मुख्य टिममा आउन सक्ने देखिन्छ। राष्ट्रिय टिमबाट नखेलेका पनि केही खेलाडीहरु छन्,’ उनी भन्छ्न, ‘तर यो निर्णय मेरोमात्र हुनेछैन। यसको पछाडि सेलेक्सन कमिटी पनि रहनेछ। त्यतिबेला सम्म आउन पनि सक्छन् तर अहिले नै यसो भन्नु केही हतार हुन सक्छ।’

त्यस्तै नेपाली क्रिकेटको सदबहार समस्या ब्याटिङलाई लिएर व्हाटमोरले नजिकबाट हेरेरका रहेछन्। यद्यपि उनले यो नेपाली टोलीको मात्र समस्या नभएको तर्क गरे।

‘ब्याटिङमा कन्सिस्टेन्सी नेपाली क्रिकेटमा सुधार गर्नुपर्ने क्षेत्र हो। तर मेरो अनुभवमा यो नेपालको मात्र नभएर धेरै टिमहरुले यही समस्या भोगिरहेका छन्,’ उनले भने, ‘हामी केही नयाँ प्रयास गर्नेछौं ब्याटिङमा सुधारका लागि।’

नेपालले आईसीसी सीडब्लुसी लिग २ अन्तर्गतको ओमन सिरिजका लागि अहिले तयारी गरिरहेको हो। यसअघि नेपालमै भएको त्रिकोणात्मक सिरिजमा नेपालले औसत प्रदर्शन गरेको थियो। त्यस्तै ओमनले उत्कृष्ट खेल पस्केको थियो।

‘ओमनले नेपाललाई दुबै खेलमा जित्यो होइन?,’ व्हाटमोरले प्रश्नसँगै आफ्नो योजनाबारे कुरा अघि बढाए, ‘ तर नेपालले पनि प्रतिस्पर्धात्मक खेल त देखाएकै थियो। हामी अब अगाडि हेरेर काम गर्नुपर्छ यसअघिका खेलबाट सिक्नु पर्छ र आफुलाई सुधार गरेर विपक्षीलाई दवाबमा लैजानु पर्छ।’

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी अभ्यासमा खेलाडीहरु पनि मख्ख देखिन्थे। राष्ट्रिय टोलीका क्याम्पमा धेरै समयपछि पुनरागमन गरेको पृथु बास्कोटा यसअघि व्हाटमोर नेपाल आउँदा खास गरी मनोवैज्ञानिक पक्षमा राम्रो प्रेरणा दिएको अनुभव सुनाउँछन्। उनी विश्वस्तरीय प्रशिक्षकसँग आफ्नो स्किललाई अझ तिखार्ने बताउँछन्।

‘केही तेज खेल्नु भन्नु भएको छ,’ पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा आइपुगेका अर्जुन कुमालले आफ्नो पहिलो दिनको अभ्यास सकिएपछि सुनाए।

सिनियर खेलाडीहरु र उत्कृष्ट कोचसँग सिक्न पाउँदा ब्याटिङमा अझै सुधार गर्नेमा उनी आशावादी सुनिए। उनी भन्छन्: एकदमै उत्साहित छु।

त्यस्तै मनोविज्ञान आफ्नो पनि रहेको सुनाए प्रदेश २ बाट राम्रो खेल प्रस्तुत गरेर पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा आईपुगेका विवेक यादवले पनि। उनले आफ्नो बेस्ट दिने र टेक्निकल कुराहरुमा अझै धेरै सुधार आवश्यक रहेकाले त्यसमा ध्यान दिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell