
बुटवल : लुम्बिनी प्रदेश सरकारले यस पटक प्रदेशको तेस्रो स्थापना दिवस स्थायी राजधानी दाङ देउखुरीमा मनाउने भएको छ। प्रदेशका कुनै पनि संरचनाहरु नसरे पनि तेस्रो स्थापना दिवस भने देउखुरीमा मनाउन लागिएको हो।
तर, प्रदेशको नाम र राजधानी टुंगो लागेको दिन (असोज २०) प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधार तयार नहुँदासम्म बुटवलबाटै राजधानीका काम कारवाही संचालन हुने बताएका थिए।
सभामा त्यस्तो प्रतिवद्धता ब्यक्त गरे पनि राजधानीको टुङ्गो लागे लगत्तै प्रदेशका कतिपय कार्यक्रमहरु देउखुरी केन्द्रित गर्न थालेका थिए। आफ्नै प्रतिवद्धता विपरीत मुख्यमन्त्रीले प्रदेशको स्थाना दिवस पनि देउखुरीमै मनाउन लागेका हुन्।
प्रदेश पूर्वधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिसकिएको देउखुरीमा मुख्यमन्त्रीकै प्रस्तावमा फागुन २ देखि ४ गतेसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो।
प्रदेश सरकारले स्थापना दिवस मनाउनका लागि प्रदेश सरकारका आन्तारिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा स्थापना दिवस व्यवस्थापन समिति गठन गरिएको छ। मन्त्री केसीको अध्यक्षतामा बसेको बैठकले फागुन २, ३ र ४ गते देउखुरीमा कार्यक्रम गर्ने निर्णय गरेको हो।
बैठकले प्रदेशका १२ वटै जिल्लाहरुको सहभागिता हुने गरी स्थापना दिवसको तयारी गरिएको आन्तारिक मामिला तथा कानुनमन्त्री केसीले जानकारी दिए।
स्थापना दिवस देउखुरीमा गरिने भए पनि त्यसका सबै तयारी बुटवलबाटै गरिने भौतिक पूर्वधार विकासमन्त्री बैजनाथ चौधरीले बताए। प्रदेश प्रमुख धर्मनाथ यादव प्रमुख अतिथि रहने कार्यक्रममा प्रमुख अतिथि समेत कार्यक्रमकै दिन बुटवलबाट कार्यक्रमस्थल जाने तय भएको मन्त्री चौधरीले बताए।
स्थापना दिवसको अवसरमा फागुन २ गते स्थानीय तहमा सरसफाइसँग सम्बन्धित कार्यक्रम, ३ गते विशेष समारोहका साथै विभिन्न व्यक्तिलाई पदक प्रदान एवम् ४ गते प्रदेशका विभिन्न स्थानमा वातावरण संरक्षणमूलक कार्यक्रमको आयोजनासहित दीपावली गरिने कार्यक्रम तय गरिएको छ।