PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सहकारीको डेढ करोड रकम गडबडी : हिनामिना गर्नेलाई सञ्चालक समितिकै संरक्षण



पूजा पन्थी

सहकारीको डेढ करोड रकम गडबडी : हिनामिना गर्नेलाई सञ्चालक समितिकै संरक्षण

बुटवल : रुरु क्षेत्र गाउँपालिका ५ रानीवासमा रहेको नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा डेढ करोडभन्दा धेरै रकम हिनामिना भएको छ। एक करोड ५६ लाख ७० हजार ३ सय १६ रुपैयाँ अनियमितता भएको सहकारीका शेयर सदस्य सूर्यप्रसाद ज्ञवालीले जानकारी दिए।

सहकारीमै कार्यरत व्यवस्थापक द्रोणाचार्य ज्ञवालीले सबै रकम सिस्टम अनुसार कम्प्यूटरमै राख्ने क्रममा अनियमितता गरेको खुलेको छ। 

सहकारीका अध्यक्ष तोयरानायण ज्ञवालीले नयाँ सिस्टम आएको र रकम नपुगेकाले व्यवस्थापक ज्ञवालीलाई बर्खास्त गरी छानबिनमा साथ दिने गरी राखिएको बताए। उनले ७ माघमा बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई पदमुक्त गरेको जानकारी दिए। 

उनले पहिलो पोस्टसँग भने, ‘हिनामिना दोणजीबाट भयो भन्ने थाहा पाएर कामबाट बर्खास्त गरेका छौँ। तर हिनामिना सबै उहाँले गर्नुभएको भन्ने यकिन छैन्। उहाँलाई हामीले छानबिन गर्नको लागि सँगै राखेका छौँ, अनियमितता भएको रकम जसरी पनि फिर्ता आउँछ।’

उनका अनुसार सहकारीले आर्थिक वर्ष ०७६/७७ बाट सम्पूर्ण कारोबार सफ्टवेयरबाट सुरु गरेको हो। 'अघिल्ला वर्षहरूका स्रेस्ताहरू पनि सफ्टवेयरमा राख्ने क्रममा रकम र स्रेस्ता नमिलेपछि छानविन सुरु भएको हो,’ उनले भने।

अनियमितताको शंका लागेपछि संस्थाका उपाध्यक्ष नारायण पौडेलको संयोजकत्वमा गठित छानविन समितिले आर्थिक वर्ष ०६३/६४ देखि ०७५/७६ सम्मका सबै स्रेस्ताहरूको पुनः रुजु गरेको थियो। जसमा व्यवस्थापकले १ करोड ५६ लाख ७० हजार ३ सय १६ रुपैयाँ हिनामिना गरेको पाइएको छ।

नक्कली कागजपत्र बनाएर ९ हजारदेखि ३४ लाखसम्म ऋण दिइएको फेला परेको हो। त्यस्तै, ऋणीहरूले बुझाउने किस्ता संस्थाको खातामा नराखी व्यक्तिगत खातामा जम्मा गर्ने र संस्थाको खाताबाट नघटाउने गरेको पाइएको सहकारीले जनाएको छ। यसरी प्रवाह भएको कर्जामध्ये २६ लाख व्यवस्थापकले फिर्ता गरेका छन्। 

पहिलोपोस्टसँग सहकारीका शेयर सदस्य ज्ञवालीले अनियमितिता भएको खबर आएसँगै पैसा डुब्ने डर बढेको बताए। 

‘अनियमितता गर्ने व्यक्तिलाई बाहिर नल्याउनको लागि ठूलै राजनीतिक दबाब परिरहेको छ,’ सहकारीका अर्का एक शेयर सदस्यले नाम नखुलाउने सर्तमा भने, ‘कुनै पनि घटनाको दोषीलाई जोगाउन राजनीतिक शक्ति लाग्नु हुँदैन्, जनताले दु:ख गरेर जम्मा गरेको पैसामा अरुले हालीमुहाली गर्न पाउँदैनन्।’

रुरु क्षेत्र गाउँपालिका–५ मा सञ्चालित सहकारीमा १८ सय ४६ सेयर सदस्य तथा ८ सयभन्दा बढी ऋणी छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell