PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

८० सिटे श्री एयरलाइन्सले गर्‍यो सुर्खेतमा उडान परीक्षण, क्याप्टेन थापाले भने : उडान अवतरणमा समस्या छैन



पी बी खड्का

८० सिटे श्री एयरलाइन्सले गर्‍यो सुर्खेतमा उडान परीक्षण, क्याप्टेन थापाले भने : उडान अवतरणमा समस्या छैन

सुर्खेत : निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ८० सिट क्षमताको जहाजको परीक्षण उडान गरेको छ। 

काठमाडौं सुर्खेत उडानको पूर्व तयारीका लागि श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर ८०० जहाजले सोमवार परीक्षण उडान गरेको हो।

एक हजार दुई ५५ मिटर धावनमार्ग रहेको सुर्खेत विमानस्थलमा पहिलो पटक श्रीएयरलाइन्सले ८० सिट क्षमताको जहाज परीक्षण उडान गरेसँगै सहजै उडान र अवतरण गर्न सकिने देखिएको छ। परीक्षण उडानपछि श्री एयरलाइन्सका बरिष्ठ क्याप्टेन भरतसिंह थापाले ८० सिट क्षमताको जहाजलाई धावनमार्ग पर्याप्त रहेको बताए। 

‘उडान र अवतरणमा रनवेकै कारण कुनै समस्या छैन,’ परीक्षणपछि उनले भने, ‘रनवेको लेन्थकै कारण जहाज नआउने भन्ने हुँदैन, त्यो अरुको लिगल आस्पेक्ट अरु हुनसक्छ, पाइलटको तर्फबाट केही समस्या छैन।’

तापक्रम अत्यधिक बढी भएको बेला पूरा भारी बोक्न नसकिने सम्भावना उनी देख्छन्। ‘तापक्रम बढी भएको समयमा यो रनवेको लेन्थमा फुल लोड लग्न नसकिएला,’ उनले भने।

जहाजले पूरा भारी बोक्न नसके पेनाल्टी बेहोर्नुपर्ने हुन्छ।

यसअघि धावनमार्ग सानो र साँघुरो भएको भन्दै ठूला जहाज उडान र अवतरण गर्न नसक्ने भन्दै सुर्खेतमा ४२ सिट क्षमताभन्दा साना जहाज मात्रै उडान र अवतरण हुँदै आएका छन्। 

यता, प्रदेश सरकार र संघीय सरकार समेत विमानस्थलको धावनमार्ग विस्तार गर्ने कसरतमा छन्। दुवै तहको सरकारको संयुक्त लगानीमा धावनमार्ग १५ सय मिटरसम्म पुर्‍याउने र ८० सिट क्षमताको जहाज उडान र अवतरण गराउने योजना सहित काम अघि बढाइएको थियो। तर, स्थानीयले आफ्नो उठिवास हुने भन्दै विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने अडानका कारण अघि बढ्न सकेको छैन। विमानस्थल विस्तारको कसरत हुँदै गर्दा श्री एयरलाइन्सले ८० सिट क्षमताको जहाज सफल परीक्षण उडान गरेको हो। 

श्री एयरलाइन्सले अवको १५/२० दिनपछि काठमाडौं सुर्खेत नियमित हवाई सेवा सुरु गर्ने जनाएको छ। श्री एयरलाइन्सको प्राविधिक सहितको टोलीले गरेको अध्ययन प्रतिवेदन पछिमात्रै उडानको सेड्युल र भाडादर सार्वजनिक गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell