वीरगंज : गत जनवरी २१ तारिखका दिन १२ वर्षीय बालिकाको सामूहिक बलात्कारपछि हत्या प्रकरणको मुद्दा दर्ता गर्न नमान्ने एकजना थानाध्यक्ष निलम्बनमा परेका छन्। नेपाल निवासी कुण्डवाचैनपुरमा चिया बेच्ने र रातिको समयमा सुरक्षागार्डको काम गर्दै आएका एकजना व्यक्तिका १२ वर्षीया छोरीको सामूहिक बलात्कारपछि हत्या भएको थियो। भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुर थानाका थानाध्यक्ष सञ्जीव कुमार रञ्जनले घटना लुकाउन खोजेको थिए। सोही आरोपमा उनलाई निलम्बन गरिएको भारतीय प्रहरीले जनाएको छ।
बर्दिया बारबर्दिया नगरपालिका वडा नं ३ खुरखुरे घर भई कुण्डवा चैनपुरमा ७ वर्षदेखि चिया बेच्दै आएका खड्ग बहादुरको १२ वर्षीया छोरी सुनिता कुमारीको बलात्कारपछि हत्याको अभियोगमा सिकरहनाका डिएसपी सिवेन्द्रकुमार अनुभवीले छानबिन थालेका थिए। छानबिनपछि थानाध्यक्ष रञ्जनलाई निलम्बन गरिएको मोतिहारी जिल्लाका एसपी नविन चन्द्रले जनाए।
घटनाबारे पूर्वी चम्पारणका एसपी झाले विज्ञप्ति जारी गरी बालिकाको बलात्कारपछि हत्या भएको सम्बन्धमा उनका पिताले दिएको निवेदन दर्ता गरिएको र थानाध्यक्षलाई निलम्बन गरिएको बताए।
चार जनाले सामूहिक बलात्कार गरी ती बालिकाको हत्या गरेका थिए। सुमित्रा एक्लै भएको मौका छोपी उक्त घटना भएको बुझिएको छ। त्यतिबेला खड्ग चिया बेच्न गएका थिए भने उनका भाइ घरमा थिएनन्। आमा नेपालस्थित घर आएकी थिइन्। उक्त घटनामा थानाध्यक्ष रञ्जनले बालिका चिसोले मरेको भनी मुद्दा दर्ता गर्न नमानेको र पीडितहरूलाई नेपाल फर्कन दबाव दिएको अनुसन्धानबाट खुलेको छ। आरोपितहरुले प्रहरीमा रिपोर्ट गरे पीडित परिवारलाई ज्यान मार्ने धम्कीसमेत दिएकाले प्रहरीमा उजुरी ढिलो पुगेको बताइएको छ।