काठमाडौं: दोस्रो वीर गणेशमान सिंह रोडरेस चैत ७ गते आयोजना हुने भएको छ। वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो।
शेर्पा मल दरबारमार्गबाट सुरु हुने रेस महेन्द्र सालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वाटर दक्षिण गेट, गैरी धारा, राजमार्ग उत्तरपुर्व मोड, नागपोखरी, जयनेपाल सिनेमा घरहुँदै पुन शेर्पामल दरबारमार्गमा पुगेर सम्पन्न हुनेछ।
प्रतियोगिताका महिला तथा पुरुषतर्फका विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौले ५ हजार नगद प्राप्त गर्नेछन्। त्यस्तै छैटौं देखि १० औं स्थानसम्म हातपार्ने खेलाडीहरुले ४ हजार रुपैयाँ बराबरको गिफ्टह्याम्पर प्राप्त गर्नेछन्। प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।
